सामान्य विवादमा चक्कु प्रहार हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ।
पोखरा–५ प्रस्याङस्थित एक रेष्टुरेण्टमा सँगै बसेर रक्सी पिउने क्रममा विवाद हुँदा भएको चक्कु प्रहारबाट स्थानीय ४५ वर्षीय अनिल पराजुलीको मृत्यु भएको हो। पराजुलीलाई चक्कु प्रहार गर्ने स्थानीय २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।
पराजुली र तिमिल्सिना शुक्रबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए। मदिरा सेवन गर्ने क्रममा उनीहरूबीच सामान्य विवाद भएको थियो। पहिलो भेटमा पनि सामान्य विवाद भएका उनीहरूबीच शुक्रबार भएको दोस्रो भेटमा पनि विवाद उत्पन्न भएपछि पराजुलीले तिमिल्सिनालाई थप्पड हानेका थिए। गालीगलौज गर्दै थप्पड हानेपछि तिमिल्सिना रिसले चुर हुँदै रेष्टुरण्टबाट बाहिरिन खोजेका थिए। त्यस क्रममा पराजुलीले माफी पनि मागेका थिए।
तर रिसले आगो भएका उनले कसैले भनेको सुनेनन्। रेष्टुरेण्टबाट बाहिरिने क्रममा चक्कु लिएर निस्किएका तिमिल्सिनाले करीब ५० मिटरको दूरीमा ढुकेर पराजुलीमाथि पछाडीबाट चक्कु प्रहार गरेको कास्की प्रहरीले जनाएको छ। पराजुलीको घाँटी मुनि छातीमा प्रहार गर्दा मुटु र फोक्सोमा गम्भीर चोट लागेको थियो।
विहान ३ः०५ बजे अचेत अवस्थामा फेला परेका उनलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले विहान ३ः४० बजे मृत घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
पराजुलीलाई चक्कु प्रहार गरेपछि आत्तिएका तिमिल्सिना भने इनड्राइभमार्फत सवारी साधन बोलाएर लेकसाईडको एक होटलमा गई लुकेर बसेका थिए। तर प्रहरीले आफन्तको प्रयोग गरेर उनलाई पक्राउ गरेको बताइएको छ। हत्यामा संलग्न तिमिल्सिनालाई पक्राउ गर्नुका साथै चक्कुसमेत बरामद गरिएको डिएसपी बस्नेतले बताए।
'सामान्य विवादमा चक्कु प्रहार भएको देखिन्छ,' उनले भने, ‘उनीहरूबीच त्यति धेरै हेलमेल पनि देखिँदैन, विवाद पनि सामान्य मात्र देखिन्छ। अनि चक्कु प्रहार पनि एक पटक मात्रै भएको छ।’
'एकै पटकमा ज्यान नै जाने सम्भावना त कम हुने गर्छ,' डिएसपी बस्नेतले अगाडि भने, ‘तर शुक्रबारको घटनामा भने त्यही एक प्रहारले ज्यान गएको देखिन्छ।’
पराजुली र तिमिल्सिना दुवै जग्गा कारोबारीमा संलग्न थिए। सराङकोट स्थायी घर भएका तिमिल्सिना पछिल्लो समय प्रस्याङमा घर बनाएर बस्दै आएका थिए।
हत्या आरोपी तिमिल्सिनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।
प्रकाशित: ८ कार्तिक २०८२ १३:०४ शनिबार





