सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
महानगरपालिका–१४ जतुवाका ३१ वर्षीय सुभासचन्द्र यादवलाई आइतबार (आज) बिहान हतियार र गाँजासहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले यादवको कोठाबाट हतियार र गाँजा फेला परेको हो।
जतुवास्थित मुन्ना सहनीको घरमा कोठा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली, घरेलु हतियार, मोबायल २ थान र १४० ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा बढ्दो अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता बढाएको छ।
प्रकाशित: २८ असार २०८३ ११:२१ आइतबार

