छुट्टाछुट्टै ठाउँमा बलात्कारको प्रयास गर्ने दुई पुरुषलाई प्रहरीले अदालतबाट म्याद थपेर कारबाही प्रक्रिया अघि बढाएको छ । बलात्कार प्रयास आरोपमा मङ्गलबार एकैदिन फरक ठाउँबाट पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान गर्न अदालतबाट म्याद लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मङ्गलबार जिल्लाको लिमचुङबुङ १ बाँसबोटेका ज्ञानबहादुर राईलाई पक्राउ गरेको थियो । एक स्थानीय महिलामाथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लिमचुङबुङले पक्राउ गरि ५८ वर्षीय राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको थियो ।
त्यसैगरि रौतामाई गाउँपालिका ३ लाफागाउँका ४० वर्षीय राजकुमार रायमाझीलाई बलात्कार उद्योग आरोपमै पक्रेको थियो । स्थानीय महिलामाथि बलात्कार प्रयास गरेकै आरोपमा उनलाई इप्रका रौतामाई भुट्टारले पक्राउ गरि बुधबार सदरमुकाम पठाएको थियो ।
दुवै अभियुक्तविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए । उनका अनुसार बलात्कार राईलाई ७ दिनको र रायमाझीलाई ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
दुवैलाई बलात्कार गर्ने प्रयास गरेको पीडितपक्षको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी भनाई छ । अपराध प्रमाणित भए जवरजस्ती करणी प्रयास ऐन् अनुसार उनीहरुमाथि जरिवाना वा कैद सजाय वा दुवै हुनसक्ने डिएसपी दोङले बताएका छन् ।
प्रकाशित: ४ मंसिर २०८२ २१:२९ बिहीबार





