२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अपराध

विमानस्थलबाट एक महिनामा एक करोड २५ लाख १८६ बराबरको सुन बरामद, ४५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ।

विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन १ देखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट रु एक करोड २५ लाख १८६ बराबरको सुन बरामद भएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ। यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीको भनाइ छ।

बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। घटनामा संलग्न देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८३ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App