उदयपुरको बेलका नगरपालिका–४ गुरुङचौरीमा सर्वसाधारणको नागरिकता संकलन गरी दुरुपयोग गरेको आरोपमा २८ वर्षीय रितेश खत्री र उनका बुबा प्रकाश खत्री पक्राउ परेका छन्। प्रहरीले खत्री परिवारले ४ सय ५० भन्दा बढी सर्वसाधारणको नागरिकता लिएको र ती नागरिकताका आधारमा खोलिएका केही बैंक खातामा करोडौँ रुपैयाँको कारोबार भएको जनाएको छ।
सुरुमा ३ सय १६ जनाले नागरिकता दुरुपयोग भएको भन्दै दिएको उजुरीका आधारमा रितेशलाई साउन दोस्रो साता पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा नागरिकता संकलनमा परिवारका सदस्यसमेत संलग्न रहेको खुलेपछि उनका बुबा प्रकाशलाई भदौ १ गते पक्राउ गरिएको हो। दुवैलाई इलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा राखी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख इन्स्पेक्टर अश्वीन तोलाङ्गेका अनुसार पछिल्लो समय उजुरी दिने पीडितको संख्या साढे ४ सय पुगेको छ। बजारमा १ हजारदेखि १ हजार ५ सय जनासम्मको नागरिकता लिएको हल्ला भए पनि प्रहरीमा हालसम्म परेको उजुरीको संख्या साढे ४ सय रहेको उनले बताए।
प्रहरीका अनुसार खत्री परिवारले करिब दुई वर्षअघि नागरिकता संकलन गर्न थालेको देखिन्छ। साउनको पहिलो साता केही स्थानीयले आफ्नो नागरिकता लगेर फिर्ता नदिएको भन्दै वडा कार्यालयमा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो। त्यसपछि पीडितको संख्या बढ्दै गएपछि वडा कार्यालयले प्रहरीमा उजुरी गर्न सुझाएको थियो।
पीडितका अनुसार चीनमा ठूलो सडक परियोजनाको टेन्डर खुलेको भन्दै कामका लागि फाराम भर्न, कुखुरापालन तथा कृषि अनुदान दिलाउन, सडक निर्माण उपभोक्ता समितिमा बस्न, तरकारी खेती गर्न र राप्रपाको क्रियाशील सदस्यता फाराम भर्नेलगायतका बहाना बनाएर नागरिकता लिइएको थियो।
वडाध्यक्ष तीर्थ अधिकारीका अनुसार पहिलो चरणमा २ सय ९९ जनाको नागरिकता खत्री परिवारले लिएको खुलेको थियो। ती नागरिकताका आधारमा खोलिएका केही बैंक खातामा ठूलो रकमको कारोबार भएको पाइएको छ। बेलका–४ का माझी थरका एक युवाको नागरिकताका आधारमा गरिमा विकास बैंकको धरान शाखामा खोलिएको खातामा ७५ लाख रुपैयाँको कारोबार देखिएको तथा अन्य दुई–चार जनाको खातामा करोडभन्दा बढीको कारोबार भएको प्रहरीले जनाएको छ।
इन्स्पेक्टर तोलाङ्गेका अनुसार धेरै नागरिकता संकलन भएको पुष्टि भए पनि हालसम्म केही व्यक्तिको खातामा मात्रै ठूलो कारोबार देखिएको छ। ७५ लाखदेखि करोड रुपैयाँभन्दा बढीको कारोबार भेटिएको र अन्य कारोबारबारे अनुसन्धान भइरहेको उनले बताए। नागरिकता कुन प्रयोजनका लागि संकलन गरिएको हो भन्ने विषय भने खुलिनसकेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार रितेश र प्रकाशले सर्वसाधारणको नागरिकता लिएको स्वीकार गरेका छन्। तर, आफूहरू पनि अन्य व्यक्तिको योजनामा फसेको प्रारम्भिक बयान उनीहरूले दिएका छन्। अनुसन्धानका क्रममा बेलकाका स्थायी बासिन्दा भई अन्यत्र बस्दै आएका केही व्यक्ति पनि उनीहरूसँग जोडिएको खुलेको प्रहरीले जनाएको छ।
रितेशका बुबा प्रकाश राप्रपाको नगर समिति उपाध्यक्ष रहेको र केही पीडितले राप्रपाको क्रियाशील सदस्यता फाराम भर्न भन्दै नागरिकता लिएको उजुरी दिएका छन्। स्थानीयका अनुसार रितेशले आफैं नागरिकता माग्ने र नमानेमा बुबा प्रकाश तथा आमा प्रमिलामार्फत माग्ने गरेका थिए।
स्थानीय बालकृष्ण अधिकारीले पनि करिब दुई वर्षअघि चीनको ठूलो परियोजनामा काम लगाइदिने भन्दै रितेशले नागरिकता मागेको बताए। सुरुमा शंका लागेर नदिए पनि पछि प्रकाश र प्रमिला आएर मागेपछि दिएको उनको भनाइ छ। रितेशले त्यसपछि चीन जाने कुरा पूरा नगरेको तर उनको जीवनशैलीमा परिवर्तन देखिएको अधिकारीले बताए।
बेलका नगरप्रमुख अशोक कार्कीले घटनामा ठूलो ठगीधन्दा हुनसक्ने आशंका व्यक्त गरेका छन्। प्रहरीमा साढे ४ सयको उजुरी परे पनि आफूलाई १ हजारभन्दा बढी व्यक्तिले गुनासो गरेको उनले बताए। एक्लै नभई परिवारका सदस्यसमेत परिचालित भएको देखिएकाले यसको सञ्जाल अन्यत्रसम्म फैलिएको हुनसक्ने उनको अनुमान छ।
प्रहरीले सूचना प्रविधिको बढ्दो दुरुपयोगसँगै अनलाइन ठगीका घटना बढिरहेको भन्दै व्यक्तिगत कागजात तथा गोप्य कोड कसैलाई नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईँले पछिल्लो समय दैनिकजसो अनलाइन ठगीका उजुरी आउने गरेको भन्दै व्यक्तिगत विवरणको सुरक्षा गर्न सचेत गराएका छन्।
प्रकाशित: ७ भाद्र २०८३ १९:२२ आइतबार





