लागूऔषध मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरेर छुटेका एक व्यक्ति फेरि ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले बाँकेका ५५ वर्षीय अरुणकुमार जयसवाललाई ५७८ ग्राम ५५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। उनीसँगै नेपालगन्ज–४ का ३० वर्षीय सुशील भण्डारी पनि पक्राउ परेका छन्।
ब्यूरोका अनुसार भारतको बहराइचबाट खैरो हेरोइन खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्रीवितरण गर्न ल्याउँदै गरेको सूचनाका आधारमा सोमबार नेपालगन्ज उपमहानगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले प्रारम्भिक कारबाहीका क्रममा उनीहरूको साथबाट १५३.९५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो।
त्यसपछि अनुसन्धानको सिलसिलामा अरुणकुमार जयसवालको घरमा खानतलासी गर्दा दराजमा लुकाएर राखिएको थप ४२५ ग्राम खैरो हेरोइन फेला परेको ब्यूरोले जनाएको छ। बरामद लागूऔषधसहित थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ।
पक्राउ परेका व्यक्तिहरूबाट डिजिटल तराजु एक थान, मोबाइल फोन दुई थान, नेपाली रुपैयाँ एक लाख ८० हजार र भारतीय रुपैयाँ दुई लाख १४ हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ। यी सामग्री लागूऔषध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा प्रहरीले आर्थिक कारोबारसमेत अनुसन्धान गरिरहेको छ।
ब्यूरोका अनुसार जयसवाल २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। उक्त मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरेर छुटेका जयसवाल पुनः लागूऔषध कारोबारमै संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रकाशित: १८ श्रावण २०८३ १४:५७ सोमबार





