पर्सा प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
सुर्खेतको गुर्वाकोट नगरपालिका–२ घर भएका २२ वर्षीय बेगम वि.क.लाई वीरगञ्जबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वि.क.लाई वीरगञ्ज महानगरपालिका–४ स्थित विर्ता चोक सडकखण्डबाट बिहान ८ बजे पक्राउ गरेको हो।
उनी जेन-जी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला परेका वि.कलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
अदालतले उनलाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
पक्राउ परेका वि.क.लाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै बाल सुधार गृह वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
‘विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो,’ प्रवक्ता कार्कीले भने।
प्रकाशित: २१ वैशाख २०८३ १७:०५ सोमबार





