२० श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

‘ग्याङ’ बनाएर शान्ति भंग गरेको आरोपमा २१ थान मोटरसाइकलसहित २५ जना पक्राउ

सिराहा प्रहरीले समाजमा अशान्ति र आतंक फैलाएको आरोपमा २५ जनालाई नियन्त्रणमा लिएको छ।

टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा 'किङ अफ बलान', 'किङ अफ भगवानपुर', 'किङ अफ लहान', र 'किलर्स ब्रदर' जस्ता विभिन्न ग्याङहरूको नाममा ग्रुप बनाई समाजमा त्रास फैलाउने २५ जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू पोस्ट गरेर सार्वजनिक शान्ति भंग गरेको भन्दै पक्राउ गरिएको हो। 

जानकारी अनुसार ती युवाहरू सामाजिक सञ्जालमा मात्र सीमित नभई वास्तविक सडकमा पनि सर्वसाधारणका लागि टाउको दुखाइको विषय बनेका थिए। उनीहरूले ट्राफिक नियमको पूर्ण रूपमा उल्लंघन गर्दै बिना हेल्मेट, आवश्यक कागजपत्र विना र बिना नम्बर प्लेटका मोटरसाइकलहरूमा तीनदेखि चार जनासम्म सवार भएर राजमार्गमा हुलदंगा मच्चाउने गरेका थिए। 

सिरहा-चोहर्वा सडक खण्डमा प्रहरीले गरेको नियमित सवारी चेकिङका क्रममा समाजमा आतंक सिर्जना गर्दै हिँडेको अवस्थामा उनीहरूलाई फेला पारिएको हो।

प्रहरीले कारबाहीका क्रममा उक्त समूहका २५ जना युवाहरूका साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाका १२ जना रहेका छन् भने सिराहा जिल्लाका विभिन्न स्थानीय तहका १३ जना रहेका छन्। 

सिराहातर्फ लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना युवाहरू रहेका छन्। नियन्त्रणमा लिइएका सबै युवाहरूमाथि प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App