लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ परेका छन्। प्रहरीले २४ घण्टामा विभिन्न स्थानबाट ५ किलोभन्दा बढी चरेस, खैरो हेरोइन, गाँजा, १४ हजार थान प्रतिबन्धित औषधिसहित सवारी साधन बरामद गरेको हो।
सबैभन्दा ठूलो परिमाणमा बझाङको बित्थडचिर गाउँपालिका-८ बागथला बजारबाट ५ किलो १ सय ९५ ग्राम चरेससहित एक जना समातिएका छन्। चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ४२११ नम्बरको बस जाँच गर्दा सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय कटक जप्रेल पक्राउ परेका हुन्।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-१३ बाट ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदेश नम्बर १-०२-००५ ह ६४८० नम्बरको सिटी सफारी जाँच गर्दा ६ हजार ९ सय ८० ट्याब्लेट ट्रामाडोल र ७ हजार ट्याब्लेट स्पास्पेन फेला परेको थियो। प्रहरीले सफारीमा सवार हरिनगरा गाउँपालिका-७ का १८ वर्षीय किशोरसहित दुई जना र कारोबारमा संलग्न अर्का १८ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ।
सुनसरीतर्फ नै इनरूवा नगरपालिका-४ बसचोकबाट ३ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगरसहित बराहक्षेत्र नगरपालिका-७ बस्ने २७ वर्षीय कुशल घिमिरे सहित ३ जना पक्राउ परेका छन्।
यता, बराहक्षेत्र नगरपालिका-५ राँगाचोकबाट १ सय १० मिलिग्राम ब्राउनसुगर र २३ हजार १ सय ८५ रूपैयाँसहित ४० वर्षीय राम कुमार चौधरी समातिएका छन्।
सिराहाको गोलबजार नगरपालिका-४ निपनिया चोकबाट ५३ ग्राम ३० मिलिग्राम खैरो हेरोइन र १ थान डिजिटल तराजुसहित दुई युवक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो बर्दिबास र स्थानीय प्रहरी टोलीले म.प्र.०१-००६ प ५१३९ नम्बरको मोटरसाइकलमा सवार सुखीपुर नगरपालिका बस्ने ३१ वर्षीय अजय कुमार यादव र २५ वर्षीय अरबिन्द कुमार यादवलाई पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट १ ग्राम ७ सय ६० मिलिग्राम खैरो हेरोइनसहित गोरखा भिमसेनथापा गाउँपालिका-५ घर भई पेप्सिकोला बस्ने २८ वर्षीय श्रीकृष्ण बरामसहित ४ जना पक्राउ परेका छन्।
उनीहरूको साथबाट बा.२ ज ३०३३ र बागमती प्रदेश १-००२ ज ६७५२ नम्बरका दुई ट्याक्सी तथा बा.७५ प ८४६४ नम्बरको स्कुटर बरामद भएको छ।
यसैगरी, कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगरबाट ९ ग्राम २ सय ४० मिलिग्राम ब्राउनसुगर र १ थान डिजिटल तराजुसहित २३ वर्षीया अस्मिता बोहोरालाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट ४ ग्राम ८ सय १६ मिलिग्राम ब्राउनसुगरसहित २० वर्षीय आवेश रानासहित २ जना समातिएका छन्।
धनगढी-१२ कम्पनीटोलबाट पनि ४ सय ६४ मिलिग्राम ब्राउनसुगरसहित २३ वर्षीय दिपक कुंजडा र २५ वर्षीय राम कुमार कुंजडा पक्राउ परेका छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका-६ बसपार्कबाट २ सय ८८ ट्याब्लेट स्पास्मो र ३ सय ट्याब्लेट नाइट्राजेपामसहित त्रियुगा नगरपालिका-१० बोक्सेका २६ वर्षीय मनोज मग्रांती पक्राउ परेका छन्।
झापाको बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्कस्थित डेराबाट ३ ग्राम १ मिलिग्राम ब्राउनसुगरसहित ताप्लेजुङ फुङलिङ नगरपालिका-३ का २५ वर्षीय बविस भण्डारी समातिएका छन्।
यता, धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया मुस्लिम टोलका ३२ वर्षीय अब्दुल रहमानको घरबाट ३ सय ६० ग्राम गाँजा बरामद गरी उनलाई नियन्त्रणमा लिइएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ बाट ३ सय २० मिलिग्राम खैरो हेरोइन र ना.२१ प १७५१ नम्बरको मोटरसाइकलसहित थानाभर्याङका २४ वर्षीय सुमन खत्री पक्राउ परेका छन्।
पक्राउ परेका सबै अभियुक्तहरूमाथि सम्बन्धित इलाका तथा जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ १४:५८ सोमबार





