काठमाडौं, पर्सा, सुनसरी, बाँके, कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ठुलो परिमाणको अवैध तथा नियन्त्रित लागूऔषधसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार र आइतबार चलाइएको विशेष कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीबाट १ हजार ३१० ट्याब्लेट ट्रामाडोल र ४२ हजार ५९८ रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय गणेश श्रेष्ठ र नुवाकोट घर भई दक्षिणढोका बस्ने २१ वर्षीय अनिस केसी छन्। प्रहरी प्रभाग थलीले बा.प्र.०२-०३१ प ३७२२ नम्बरको स्कुटर जाँच गर्दा शनिबार बेलुकी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यस्तै, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १४ ग्राम २८० मिलिग्राम खैरो हेरोइनसहित धादिङ नीलकण्ठ नगरपालिका-१४ का २९ वर्षीय जोनाम लामा पक्राउ परेका छन्। काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१-०२-००२ ख १२८२ नम्बरको बस जाँच गर्दा लागूऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाको टोलीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो।
पर्साको वीरगन्ज महानगरपालिका-१६ बाट ४२ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ म्याग्दे गाउँपालिकाका २४ वर्षीय अमित दर्जी र २९ वर्षीय दीपक परियार छन्। लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्ज र प्रहरी चौकी इनरुवाको संयुक्त टोलीले शनिबार उनीहरूलाई समातेको हो।
सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट ९ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा इटहरीका ३५ वर्षीय रविन चौधरी, रामधुनीका ३० वर्षीय टार्जन चौधरी र इनरुवाका १९ वर्षीय ‘लम्बु’ भनिने साहदिन हुसेन छन्।
त्यसैगरी, सुनसरीकै बराहक्षेत्र नगरपालिका-११ बुधबारे चोकबाट ३०० ट्याब्लेट ट्रामाडोलसहित स्थानीय २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार दिउँसो पक्राउ गरेको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० गणेशमान चोकबाट ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोहलपुर-११ का २१ वर्षीय पवन गन्धर्वसहित तीन जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरूलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।
कैलालीको टीकापुर नगरपालिका-१ राजिपुरबाट ३ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय प्रकाश चौधरी पक्राउ परेका छन्। यस्तै, लम्कीचुहा नगरपालिका-४ बाट १ ग्राम ४९० मिलिग्राम खैरो हेरोइनसहित २० वर्षीय पूर्णबहादुर चन्द र २४ वर्षीय शंकर देउवा शनिबार राति पक्राउ परेका हुन्।
धनगढी उपमहानगरपालिकाका तीन फरक स्थानबाट चार जना पक्राउ परेका छन्। शिवपुरीधामबाट १७७ मिलिग्राम ब्राउनसुगर र से.५ प ४३१३ नम्बरको मोटरसाइकलसहित ३२ वर्षीय टनक अवस्थी र ३४ वर्षीय राजु विष्ट पक्राउ परे।
यस्तै, राजपुरबाट ११७ मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय आशिष भट्ट तथा कैलालीगाउँबाट १ ग्राम ८२२ मिलिग्राम ब्राउनसुगरसहित ३८ वर्षीय आकाश राना पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट १ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २६ वर्षीय रामकृष्ण बराल शनिबार बेलुकी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।
प्रकाशित: ८ कार्तिक २०८३ १७:४५ आइतबार





