२९ असार २०८२ आइतबार
image/svg+xml
अपराध

रंगेलीमा लागुऔषध कारोबारी पक्राउ गर्न हवाई फायर, ठूलो परिमाणमा ब्राउन सुगर बरामद

मोरङको रंगेलीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।  

आइतबार दिउँसो रंगेली नगरपालिका–८ बाट लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई गरेको प्रहरीले जनाएको छ । गोली चलाएर ठुलो परिणामा लागूऔषध ब्राउन सुगरका साथ १ भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।  

उनले रंगेली– ८ स्थित डिल्लीराम श्रेष्ठको घरबाट लागुऔषध कारोबारी १ जना भारतीय महिला र २ जना स्थानीय पुरुष भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको बताइन् ।  

श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्ने सोही वडाका ५४ वर्षीय कृत्यानन्द ठाकुर र ३० वर्षीय सुशील बुढाथोकी तथा भारत अररिया जिल्लाको कुर्शाकट्टा घर भएकी ५० वर्षीया हसिना भन्ने बिजली खातुन पक्राउ परेका छन् । ठाकुरले श्रेष्ठको घरमा कोठामा भाडामा लिएर बस्ने गरेको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘ठाकुरले भाडामा लिएको कोठाबाट ३ जनाका साथै ४ सय २५ ग्राम ब्राउन सुगर बरामद भएको थियो । यो ब्राउन सुगर मोरङमा पहिलो पटक यति ठूलो परिमाणमा बरामद भएको हो । उनीहरुको साथबाट नगद १ लाख २१ हजार र ४ वटा आइफोन भेटिएको भएको छ ।’

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय लागुऔषध अनुसन्धान ब्युरो काठमाडौं, लागुऔषध अनुसन्धान ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले लागुऔषधसहित कारोबार पक्राउ गरको प्रहरीले जनाएको छ ।  

पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको र अनुसन्धानपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ । 

प्रकाशित: २२ असार २०८२ २०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App