नवलपरासीको सुनवलमा आज बिहान एक व्यक्तिले कोदालोले हानेर आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन्। सुनवल नगरपालिका २ अवरैयामा २७ वर्षका हेमराज थारुले बुबा ५० वर्षका जयराम थारु र छिमेकी ७० वर्षका नाथु धरिकारको हत्या गरेका हुन्।
हेमराजले आज बिहान साढे १० बजेतिरको समयमा कोदालोले हानेर बुबा र छिमेकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए। हेमराजले बुबा जयरामलाई घरको कोठाभित्रै कोदालो प्रहार गरेर हत्या गरेको र छिमेकी नाथुलाई घर अगाडिको बाटोमै हत्या गरेको प्रहरी नायब उपरीक्षक पन्तले बताए।
हेमराजले बुबा जयरामलाई घाँटीमा कोदालोले हानेपछि उनको घटना स्थलमै मृत्यु भएको थियो।
छोराले बुबालाई हानेपछि जयरामकी श्रीमतीले हारगुहार गरेकी थिइन्। छिमेकी चिच्याएको सुनेपछि नजिकै रहेका नाथु धरिकार के भयो भन्दै जयरामको घरतिर जाँदै गर्दा हेमराजले उनलाई घर अगाडि बाटोमै कोदालो प्रहार गरेका थिए। टाउको र घाँटीमा कोदालोले प्रहार गर्दा उनको पनि घटनास्थलमै मृत्यु भएको डिएसपी पन्तले नागरिकलाई बताए।
पन्तका अनुसार हेमराजले यसअघि लागूऔषध सेवन गर्ने गरेको र केही महिना उनलाई सुधार गृहमा पनि राखिएको थियो। हेमराज मणिग्रामस्थित सुधार गृहमा बसेर केही समय अगाडि मात्रै निस्किएको प्ररम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पन्तले बताए। हत्याबारे थप अनुसन्धान अगाडि बढाइएको उनले बताए।
प्रकाशित: २३ जेष्ठ २०८२ १३:५३ शुक्रबार





