प्रहरीले हरेक दिनजसो लागूऔषध प्रयोग, बेचविखन र कारोबारको आरोपमा युवाहरुलाई पक्राउ गर्ने क्रम जारी छ । उदयपुर, सुनसरी, मोरङ र झापाबाट ७ जनालाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । एक जानलाई पक्राउ गर्न प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
सुनसरीको धरान उपमहानगरपालिका २० बाट प्रहरीले हवाई फायर गर्दै गाँजासहित धनकुटा साँगुरीगढी नगरपालिका ९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्रेको छ । विहीबार विहान १ः०० वजेको समयमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाको संयुक्त टोलीले उनलाई पक्रेको हो । राईलाई पक्राउ गर्न ३ राउण्ड हवाई फायरसमेत गर्नु परेको प्रहरीले जनाएको छ । प्रहरीले घट्नास्थलबाट ९ वटा भारीमा तयार २ सय २५ किलो गाँजा फेला पारेको छ । सो घट्नामा संलग्न अन्य व्यक्तिहरु प्नि हुनसक्ने भन्दै खोजतलास र थप अनुसन्धान सुरु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीम दाहालले बताएका छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाका ६ का २ युवालाई इलाका प्रहरी कार्यालय बेल्टारले नियनत्रणमा लिएको छ । इप्रकाको गस्ती टोलीले चौदण्डीगढी ६ बेलटारका १९ वर्षीय सन्जिब राई र १८ वर्षीय अनिल राईलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ट्रामाडोल ८९ क्याप्सुल र स्पास्पेन ८९ ट्याब्लेट बरामद भएको प्रहरी भनाई छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबारै झापा र मोरङबाट थप ४ युवा र सुनसरीबाट एक अवधैशेलाई लागूऔषधसहित पक्राउ परेका छन् । इप्रका मधुमल्लाको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका ७ का २४ वर्षीय राजन राईलाई पक्रेको छ । घरैबाट पक्राउ राईको साथबाट प्रतिबन्धित ट्रामाडोल २ सय क्याप्सुल तथा स्पासरेष्ट १ सय ६० ट्याब्लेट बरामद भएको छ ।
उता मोरङकै इप्रका पथरीको टोलीले पथरीशनिश्चरे नगरपालिका १ का २० वर्षीय आकाश कँडेललाई पनि ट्रमाडोल र स्पासपेन गरी १ सय ४० चक्कीसहित पक्राउ गरेको छ ।
त्यसैगरी इप्रका दमकको टोलीले दमक नगरपालिका ६ बाट झापाकै कमल गाउँपालिका ६ मा बस्दै आएका २६ वर्षीय रामकुमार महतो र दमक १ का १९ वर्षीय बिधान तामाङलाई पक्रेको छ । प्र १–०१–००२ ह ६६०५ नम्बरको सिटी सफारी चालक महतो सुनसरी हरिनगराका स्थायी बासिन्दा हुन् । महतो र सिटीमा सवार तामाङको साथबाट ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ७० चक्की बरामद भएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रकाशित: २२ फाल्गुन २०८१ १९:१४ बिहीबार