२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अपराध

१० जिल्लाबाट ११० जुवाडे पक्राउ, साढे १३ लाख बरामद

तिहारको मौका पारेर देशका विभिन्न १० जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११० जनालाई पक्राउ गरेको छ।

१५ फरक-फरक स्थानबाट उनीहरूको साथबाट कुल १३ लाख ४९ हजार ९४१ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले जनाएको छ।

उपत्यकाअन्तर्गत भक्तपुरका दुई स्थानबाट २४ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका-७ बागेश्वरी पकरीटोलबाट ३३ वर्षीय दिपेश लामिछानेसहित १५ जनालाई ९७ हजार रूपैयाँ र ४ बुक ताससहित जिल्ला प्रहरी परिसर भक्तपुरले मंगलबार बिहान पक्राउ गर्‍यो।

यस्तै मध्यपुर थिमि-३ एसएस चोक नजिकबाट २६ वर्षीय सुजन तामाङसहित ९ जना ९९ हजार १५० रूपैयाँसहित प्रहरी वृत्त ठिमीबाट पक्राउ परे।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६ टनागाउँबाट ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई ५६ हजार ५४० रूपैयाँ र ६ बुक ताससहित प्रहरी प्रभाग बुढानिलकण्ठले नियन्त्रणमा लियो।

झापाका दुई स्थानबाट २२ जना पक्राउ परेका छन्। कमल गाउँपालिका-५ टुक्रेस्थित ४५ वर्षीया गिता भट्टराईको घरबाट गितासहित १२ जना १ लाख १८ हजार २०० रूपैयाँ र ५ बुक ताससहित तथा दमक-१० बाट ५४ वर्षीय काजिम थापासहित १० जना ८९ हजार ७१० रूपैयाँ र १५ थान कौडासहित इलाका प्रहरी कार्यालय दमकको टोलीबाट पक्राउ परे।

चितवनका तीन स्थानबाट १५ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका-७ स्थित ३८ वर्षीय डिलाराम चालिसेको घरबाट डिलारामसहित ७ जनालाई ३ लाख ३७ हजार ४८० रूपैयाँ र १ बुक ताससहित जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गर्‍यो।

यस्तै, रत्ननगर-१६ हात्तीगाडेबाट ३४ वर्षीय माधव थापा मगरसहित ६ जना ५२ हजार ६१५ रूपैयाँ र १६ थान कौडासहित तथा भरतपुर-१२ सहयोगी टोलबाट ३६ वर्षीय गोविन्द मगरसहित २ जना ३६ हजार ११० रूपैयाँ र १६ थान कौडासहित समातिए।

सर्लाहीको लालबन्दी-४ हरिभवन टोलस्थित ४० वर्षीय भुवन कुमार श्रेष्ठको घरबाट भुवनसहित ९ जनालाई ६२ हजार रूपैयाँ, ६ बुक तास र १६ थान कौडासहित इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गर्‍यो। बरहथवा-९ मुर्तियाबाट लालकृष्ण गुरुङसहित २ जना ३६ हजार ५५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ परे।

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२ शिव चोकबाट ५२ वर्षीय संजय पंजियारसहित ५ जनालाई ६७ हजार ५०० रूपैयाँ र १ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको भीमदत्त-१८ पुष्पलाल चोकस्थित ५३ वर्षीय रबिन्द्र केसीको घरबाट रबिन्द्रसहित ६ जना १ लाख ४७ हजार २५६ रूपैयाँ र ३ थान कौडासहित पक्राउ परे।

कास्कीको पोखरा-१८ अधेरीकुनास्थित ४८ वर्षीय केशर रानाको कोठाबाट केशरहित ६ जना ६३ हजार ५२५ रूपैयाँ र ४ बुक ताससहित नियन्त्रणमा परे।

यसैगरी, धनकुटाको पाख्रीबास-९ स्थित ५५ वर्षीय बिष्णु घिसिङको घरबाट बिष्णुसहित ७ जना १ लाख ७ हजार ३१५ रूपैयाँ र ३० थान कौडासहित तथा कपिलवस्तुको वाणगंगा-७ चौरीगाउँस्थित ४१ वर्षीय बिष्णु थारूको घरबाट बिष्णुसहित ४ जना ७८ हजार ४८५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ परेका छन्। पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App