१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

किन फरक तरिकाले मनाउने यो दसैं?

हाम्रा ठूला चाडपर्व नजिकिँदै छन्। ठूला चाडपर्वलाई अवश्य पनि भव्यरुपमा मनाइन्छ। चाडपर्वसँग प्रत्यक्ष रुपमा बजार जोडिन्छ। चाडपर्वले बजारलाई सामान्य अवस्था भन्दा बढी चलायमान बनाउँछ।

बजारसँग व्यापारी र चाडपर्वसँग उपभोक्ता जोडिन्छन्। चाडपर्वमा सामान्य अवस्थामा भन्दा बढी किनमेल हुन्छ। सामान्य जीवन व्यवहार चलाइरहेका आम नेपालीले चाडपर्वमा मात्रै भए पनि मिठो मसिनो र राम्रो लुगा लगाउने मानसिकता र परम्परा रहि आएको छ। यहि मानसिकता र परम्पराको गलत फाइदा उठाउने गरेको आरोप लाग्दै आएको छ नेपालको बजार र व्यापारीलाई। 

धरातलमा मात्रै हेर्ने हो भनेपनि उपभोक्ता दुई तरिकारले ठगिने गरेका छन्। उपभोग्य वस्तुमा मिसावट र अनावश्यक मूल्यवृद्धि। नेपाली बजारमा उभोक्ताले पैसा तिर्दा पनि गुणस्तरीय सामान नपाइरहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता ज्योति बानियाँकाे भनाइ छ। 'उपभाेक्ताले जति खर्च गरे पनि उनीहरूले गुणस्तरीय सामान पाएका छैनन्,' उनले भने।

हरेका वर्ष चाडपर्वको मुखमा उपभोक्त अचाक्ली महंगीको शिकार बन्नुपरेको छ। यो तथ्यमा सरकार पनि अनविज्ञ छैन। महंगीमा आमनागरिकलाई सहुलियत प्रदान गर्न सरकारले देशभर हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा देशैभर वजार सञ्चालन गर्दै आएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानमा गरि यो वर्ष ७५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएका छन्। सुपथ मूल्य पसलमा चिनी, नुन लगायतका खाद्य वस्तुमा छुट दिइएको छ। कर्पोरेसन, व्यापार कम्पनी र दुग्ध विकास संस्थाले नुन, चिनी, घीउ, पनिर, चामल लगायतका खाद्य वस्तुमा छुट दिएका छन्।

'चाडवर्वमा अति आवश्यक उपभाेग्य वस्तुकाे किनमेल गराैँ, यहीं माैकाकाे फाइदा उठाउँदै व्यापारीहरूले उपभाेक्तासँग मूल्यभन्दा बढी असुल्ने गर्छन्।'

खाद्य तथा व्यापार कम्पनीले चामल, दालमा प्रतिकिलो पाँच रुपैयाँ, खाने तेलमा लिटरमा ब्राण्ड दुग्ध विकास संस्थानले घीउ र पनिरमा छुट दिएको छ। संस्थानले केन्द्रीय कार्यालय लैनचौर, न्युरोड, खुमलटारबाट छुट दिएको छ। एक लिटर घीउमा ५० रुपैयाँ, पनिर २०० ग्राममा पाँच रुपैयाँ, आधा केजीमा १० रुपैयाँ र एक किलोमा २० रुपैयाँ छुट दिएको संस्थानले जनाएको छ।

सरकारले सीमित स्थानमा सीमित उपभोग्यवस्तुसहित सञ्चालनमा ल्याएका ति पसलबाट आम सर्वसाधारण आवश्यक मात्रामा लाभ भने लिन सकेका छैनन्। हरेक वर्ष चाडपर्वकै मुखमा उपभोक्ताहरु अचाक्ली महंगीको शिकार बन्नु परेको छ। के कारणले उपभोक्ताहरु महंगीको मारमा पर्छन् त भनेर नागरिककाे प्रश्नमा अधिवक्ता बानियाँ भन्छन्, 'चाडवर्वमा अति आवश्यक उपभाेग्य वस्तुकाे किनमेल गराैँ, यहीं माैकाकाे फाइदा उठाउँदै व्यापारीहरूले उपभाेक्तासँग मूल्यभन्दा बढी असुल्ने गर्छन्।'

सहुलियत पसलका लागि सरकारले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार व्यापार कम्पनीलाई एक करोड ७५ लाख र कर्पोरेसनलाई एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलहरुका कारण बजारमा मूल्य वृद्धि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।

हिन्दु धर्ममा चाँडपर्वको सुरुवात जनैपूर्णीमादेखि हुन्छ। दशै, तिहार र छडसम्म नै विषेशरुपमा भव्य तरिकाले चाडपर्व मनाइने गरिन्छ। यही बीचमा बजार अत्याधिक चलायमान हुन्छ। यही समयमा उपभोक्ता अत्यधिक लुटिने गरेकाे पनि बानियाँले बताए।

छुटिएका पारिवारिक सदस्य र आफन्तलाई जोड्ने पर्वको रुपमा चिनिन्छ दसैं। आवश्यकता र बाध्यताले महिनौ र वर्षौदेखि टाढा रहेका आफन्तलाई एकतृत गराउँदछ दशैले। दसैं हाम्रो परम्परा, संस्कृति मात्रै होइन आफन्त र परिवारलाई भावनात्मक र भौतिकरुपमा जोड्ने उत्सव पनि हो। यो पर्व हामीले यसरी नै वर्षौदेखि मनाउँदै आएका पनि थियौ। तर गत वर्ष फरक तरिकाले मनाउनु पर्‍यो। कारण सर्ववितितै छ।

कोभिड १९ का कारण हामीले गत वर्ष विगतका वर्षभन्दा फरक तरिकाले पर्व मनाउनु पर्‍यो। भौतिक रुपमा उपस्थित भई माया, खुसी र आशीर्वाद साट्ने पर्वलाई कोभिड १९ संक्रमणको फैलावट रोक्न त्यसो गर्नु परेको हो। अहिले कोभिडको संक्रमण दरमा कमि आएको देखिन्छ तर पूर्णरुपमा नियन्त्रणमा भने आएको छैन।

'अन्य समयभन्दा चाडपर्वकाे बेला भिडभाड हुने हुँदा आफैं सचेत हुनुपर्छ', उनले भने, 'खाेप लगाएर ढुक्क हुनु भन्दा पनि आफूले गर्दा आफ्ना अग्रजहरूमा काेभिड सर्न नदिने तर्फ लाग्नु पर्छ।'

पछिल्लो समय कोरोना संक्रमणको जोखिम कायमका बीच दसैं मनाउन गाउँ जाने क्रम लगातार बढ्दो छ। गाउँमा आमाबुवा पनि छोराछोरीको पर्खाइमा छन्। सहरमै पनि छिन्नभिन्न परिवार एक ठाउँ हुन दसैं कुरिरहेका हुन्छन्। हामीले दशैलाई कुरिरहे जस्तै कोरोनाले हामीलाई कुरिरहेको छ।  

जनस्वास्थ्यविद्का अनुसार वृद्धवृद्धामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको छ। शहरको तुलनामा गाउँघरमा कोरोना भाइरसविरुद्धको खोप लगाउने जनसंख्या पनि कम छ। दसैंको टिका लगाउन जाँदा खोप लगाएकाहरु नै सचेत हुन सल्लाह दिन्छन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन।

विगतको तुलनामा कोभिड संक्रमणको दरमा कमि आएको स्वास्थ्य मन्त्रालयको तथ्याङकले देखाउँछ। नियन्त्रणका लागि सरकारले वितरण गरिरहेको कोभिडविरुद्धको खोप सबै नेपालीले पाइनसकेको अवस्थामा जोखिम कायम रहेको छ। यस्तो अवस्थामा कोभिडको नियन्त्रणका लागि सरकारसँगै आमनारिकको पनि महत्वपूर्ण भूमिका रहने पुनको भनाइ छ। 'अन्य समयभन्दा चाडपर्वकाे बेला भिडभाड हुने हुँदा आफैं सचेत हुनुपर्छ', उनले भने, 'खाेप लगाएर ढुक्क हुनु भन्दा पनि आफूले गर्दा आफ्ना अग्रजहरूमा काेभिड सर्न नदिने तर्फ लाग्नु पर्छ।'

हाल कोभिड १९ का कारण औसतमा दैनिक १० भन्दा जनाले ज्यान गुमाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाउँछ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यस्तै, हालसम्म नेपालमा झण्डै ८ लाख मानिसहरु कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन्।

हाम्रा चाडपर्व प्रत्यक वर्ष आउँछन्। समय र परिस्थिती अनुसार हामीले चाडपर्व मनाउनु पर्दछ। महंगीको समयमा आफ्नो आर्थिक अवस्था हेर्ने र सँगै स्वस्थ्यमा समेत ध्यान दिन आवश्यक छ। होइन भने हाम्रो पुरानो उखान ‘आयो दसैं ढोल बजाइ गयो दसैं ऋण बोकाई’ भन्ने दिन नआउदा भन्न सकिँदैन। सबैमा विजया दशमीको शुभकामना।

प्रकाशित: २२ आश्विन २०७८ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App