वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन। तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । उनीहरूलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ।
गत वर्षको वर्षायामले धेरैलाई सतायो । तराईका झापा, मोरङ, सप्तरी, रौतहट, बर्दियालगायत जिल्लामा बाढीले धेरै मानिसको जीवनलाई भताभुंग पारिदियो । लाखौंको बस्ने बास बगाइदियो । बाँच्ने आश पनि बगाइदियो । फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिँचेको सप्तरीमा अन्तिम संस्कार गर्न जमिन पनि नभएर पानीमै कमल सदालाई बगाउनुपरेको तस्वीरले धेरैको आँखा रसायो । गत वर्षको मनसुनले विराटनगरको विमानस्थल र त्यहाँ अवतरण गरेको जहाज पनि डुबायो।
यो वर्ष पनि निरन्तर पानी परिरहेको छ । यो वर्षको पानीले पनि कति ठाउँका बासिन्दाको निद्रा हराम गरिदिएको छ । केही साताअघि भक्तपुरमा हनुमन्ते खोलाले जिल्लाका चार वटै नगरपालिकाका हजारौं घरहरू डुबायो । अझै पनि ठूलो पानी पर्दा भक्तपुरका बासिन्दाहरु पुनः डुवानमा पर्न सक्ने त्रासमा छन् । त्यस्तै मध्य काठमाडौंको अनामनगर तीनकुनेस्थित बाग्मती करिडोरमा पर्ने मिलनबस्ती पनि बुधबार बिहान डुबानमा प¥यो । स्थानीय बासिन्दाको गाईगोठदेखि घरभित्रसम्म पनि पानी पस्यो।
यी सबै खबरहरू बाहिर आइरहँदा बर्सेनी डुबानमा पर्ने नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर दुई सहरी गाउँका बासिन्दाहरुको कुरा भने खासै सुनिँदैन । यहाँका बासिन्दाहरू बर्खामासका रातहरू राम्रोसँग ननिदाई बित्छन् । पोहोर सालको साउन २९ गते गएको बाढीले उनीहरूको घर बगायो । घरसँगै वस्तुभाउ पनि बगायो । घरमा रहेका खाद्यान्न पनि केही बाँकी रहेनन्।
गत वर्ष निरन्तर पानी परेपछि मध्यविन्दु नगरपालिका वडा नं. २, सेहरीका बासिन्दाहरू चिन्तित थिए । सास रहुन्जेल आश रहन्छ भनेझैं उनीहरूलाई पानी केही कम होला भन्ने आश पनि थियो । २०७४ सालको साउन २९ गते बाढी ह्वात्तै बस्तीमा पस्यो । बाढी र आकाशबाट आएको पानीले गर्दा स्थानीय बासिन्दाहरू आत्तिए । उनीहरूसँग सुरक्षित स्थानमा जान डुंगा पनि थिएन।
‘भैंसालोटनको ब्यारेज पनि खोलिदिएनन् । हामी भागाभाग गर्न सकेनौं । टाँडीटोलतिर गयौं । हामीकहाँ त बाढी आइहाल्यो । घरमा भएका गाई गोरुहरूको दाम्लो फुकालेर हामी पारी गयौं,’ स्थानीय तेजबहादुर चौधरी सम्झन्छन् । उनले छोडेका वस्तुभाउमध्ये उनको एउटा गोरु पारी गयो, अर्को घुमेर उनी भएतिरै आयो । पारी गएको गोरु म-यो कि के ग-यो भन्ने उनलाई अहिलेसम्म थाहा छैन । उनको घरमा भएको पैतालिस मुरी धानसँगै मकै, तोरी, आलस, चामल खानेकुरा जति सबै बग्यो । उनको सँगै उनका छिमेकी कुम्भनारायणको घर पनि पुरै ध्वस्त भयो । तेजबहादुरको घर त पुरै ध्वस्त भयो । ‘अलि अलि भएको पनि केही बचेन,’ चौधरी विरक्तिँदै सुनाउँछन्।
तेजबहादुरको जस्तै अरु गाउँलेहरूको पनि बाढीले उठिबास भयो । बल्लतल्ल यसो उसो गरेर अस्थायी रूपमा टहरो बनाएर बसिरहेका गाउँलेहरूलाई अहिले पानी परेपछी निद्रै लाग्दैन । रातभर उठेर बस्छन् । भोलिपल्ट कति बढ्यो भनेर खोला हेर्न जान्छन्।
३३ वर्षीय होमकुमारी ठनेतको पीडा यस्तै छ।
गत वर्षको बाढीले उनका गाई, बाख्रा, कुखुरा, हाँस सबै बगाएर लग्यो । घर पनि बगाएर लग्यो । अन्नबाली सबै सखाप भयो । उनी अरुको घरमा गएर छानामाथि बसिन् । बाढी बन्द भएपछि बल्लतल्ल घर आउँदा खानेकुरा केही थिएन । सबै बाढीले बगाइसकेको थियो । बल्लतल्ल चोरमारामा रहेको माइतीमा फोन गरेपछि केही राहत पाइन् । ‘त्यो दिन सम्झिन चाहन्न । तर, बिर्सन पनि सक्दिनँ,’ ठनेत भन्छिन्।
बल्लतल्ल त्यो बाढीबाट जोगिएर केही तंग्रिन लागेको बेला फेरि अर्को वर्षायाम आइसकेको छ । अहिले पनि पोहोरजस्तै बाढीले उठिबास लगाउला की भन्ने उनको चिन्ता छ।
‘पानी परेपछि निद्रै लाग्दैन । उठेर बस्छौँ । भोलिपल्ट कति बढ्यो भनेर खोला हेर्न जान्छौँ,’ खेती किसानी गर्दै बसेकी ठनेत सुनाउँछिन्।
सुस्ता पूर्व सेहरीमा बस्ने सबैको घर एकैनासको छैन । कसैको भुइँ तल्ला मात्र छ । कसैको माथिल्लो तला पनि छ । कसैको घर होचो छ । सबैको घरमा अलिअलि भए पनि अन्न छ । वस्तुभाउ छन् । बाढी पस्यो भने सर्पको डर हुन्छ । यस्तै यस्तै डर र त्रासका बीचमा बसन्ती बिकका दिनहरू बितिरहेका छन्।
बिकका बुबाआमा ३७ वर्षअघि घुमारीघाट पहाडबाट सेहरीमा आए । उनी ३५ वर्षअघि सेहरीमै जन्मिन् । गत वर्षको बाढी सम्झिँदा अझै पनि उनलाई कहाली लागेर आउँछ । ‘हिजो भर्खर त्यसरी पानी आयो । पोहोरजस्तै बाढी आएर डुबाउँछ कि क्या हो भनेर उठेर बसेम् । पानी बिसाएपछि सुतेम् । बिहान उठेर नारायणी कत्रो भएछ भनेर हेर्न गएम् । बर्खा लागेपछि डर नै डर हुन्छ,’ उनले सुनाइन्।
बिकको गोठमा केही बाख्रा छन्, एउटा भैँसी छ र घरमा अलिअलि भए पनि अन्न छ । गाउँमा कसैको होचो घर छ र होचो घर भएका घरमा बस्नेको डर धेरै छ।
‘आँटी भएको घरमा त त्यति डर हुँदैन । पोहोर त अलि पर नडुबाएको ठाउँमा गएर बसेका थियौँ । बाख्रा–भैँसी पनि त्यहीँ लग्यौँ’, उनी सम्झिन्छन् । बस्तीमा बाढी पसेपछि सर्पको डर हुन्छ । पानी बढी भएपछि रातभर लामखुट्टे लाग्छ।
‘घरभित्र पानी सोहो-यो । दाउरा बगाएर लग्छ, घरमा ग्याँस छैन पकाउन । घरमा त आधी आधी पानी पस्छ । के गर्ने कसो गर्ने हुन्छ । हिउँदमा त राम्रो छ । बाली पनि राम्रो हुन्छ । बर्खामा त डर नै छ,’ बिक भन्छिन्।
पानी परेपछि बाख्रा हिँड्न पनि गाह्रो मानेको देख्दा उनको मन कटक्क भएको थियो।
बिकको अनुभवमा पोहोरको बाढीले निकै बिचल्ली भयो । बाढी दिउँसो नआएर राति आएको भए कति मान्छे मर्थे होला भनेर सम्झिँदा उनलाई दिक्क लाग्छ।
यी बस्तीमा बर्सेनी हुने बाढीको त्रास कुनै नौलो कुरा होइन, । यहाँका बासिन्दाहरूले पटक–पटक सरकारी अधिकारी र राजनीतिक दलका नेताहरूलाई गुहारेका छन् । तर, केही नतिजा निस्किएको छैन।
बिकलाई ठूला–ठूला मान्छेहरू आएर आफ्नो ठाउँ हेरिदिए र आफूहरूको पीडालाई बुझिदिए हुन्थ्यो जस्तो लाग्छ ।
‘तर के गर्नु ? भोट माग्ने बेला आउँछन् त्यसपछि फर्केर आउँदैनन् । जितेपछि आएका थिए । फूलमाला लिएर पनि बस्यौँ तर त्यसपछि कोही आएका छैनन्,’ उनी भन्छिन्।
तेजबहादुर चौधरी पनि सम्बन्धित निकायले सहयोग नगरेकोमा खिन्न छन् । वर्षेनी हुने यो समस्याका बारेमा उनीहरूले सरकारी अधिकारीलाई पनि भने । प्रमुख जिल्ला अधिकारी स्थलगत भ्रमणमा आउँदा पनि भने । तर, केही भएन। ‘यहाँ गाउँमै भएका ठुलाबडा नेताहरूले यहाँ केही गर्न दिएनन् कि के कसो गरे । मैले पढेको छैन, थाहा पनि छैन,’ उनी भन्छन् । त्यतिबेला उनीहरूलाई घर र घरमा भएका सामान बगेकोमा तनाव थियो । उनीहरूको खाना, खर्च सबै बग्यो । गोरू र गाईबस्तुहरू पनि मरे । त्यो तनावको अवस्थामा कसलाई के भन्ने भनेर पनि उनीहरू चुपचाप बसे। ‘कहाँ पहल गर्ने ? आजकल लेखापढी चाहिन्छ । हामीले नसकेर चुपचाप बस्यौ । केही राहत हुन्छ कि भनेर आश गरेर बस्यौं । अहिलेसम्म केही पाएका छैनौं,’ चौधरी भन्छन् । उनीहरूले केही राहत र समाधानको उपाय पाइन्छ की भनेर पनि खोजी गरे । तर, केही भएन।
मध्यविन्दु नगरपालिका वडा नं. २ का वडाध्यक्ष नारायण पौडेल यी बस्तीका समस्याबारे जानकार छन् । तर, समस्या समाधानका लागि आफूहरूसँग पर्याप्त बजेट नभएको बताउँछन् । प्रत्येक वर्ष बर्खा लागेपछि धेरै मानिसहरू त्रसित हुने गरेको उनलाई थाहा छ।
२०५७ सालमा धजाह बस्तीलाई बाढिले बगाएपछि ६ सयको हाराहारीमा मानिसहरू विस्थापित भएको मात्र होइन हजारौं विघा जमिन नारायणी नदीको बालुवामा परिणत भएको पनि उनलाई थाहा छ । विस्थापितलाई जंगलमा, दस धुर र पाँच धुरमा राखिने गरेको पनि उनी बताउँछन् । ‘जनताको तटबन्ध कार्यलयले वर्षेनी काम गरेको हुन्छ । तर, बजेट पर्याप्त मात्रामा छैन । समस्या वर्षेनी देखिएको छ,’ पौडेल समस्या सुनाउँछन्। भिडियो:शिक्षा रिसाल
प्रकाशित: २ भाद्र २०७५ ०४:१३ शनिबार