coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

मित्र चिन्ने बेला

नयाँ कोरोना भाइरसबाट हुने निमोनियाको संक्रमण फैलिएयता चिनियाँ र विश्वभरका मानिसप्रति उच्च जिम्मेवारीबोधका कारण चीन सरकारले संक्रमण नियन्त्रणमा विस्तृत र मिहिन तरिकाले काम गरिरहेको छ। वसन्त पर्वको बिदा लम्ब्याउनु, कम्पनी खुल्ने समय पछि सार्नु, अन्तर्राष्ट्रिय भ्रमण दलको यात्रा स्थगन, यातायातनियन्त्रण र मानिसलाई घरबाहिर निस्कन तथा एक ठाउँमा भेला हुन नदिनु आदि यसैका सिलसिला हुन्।

चीन सरकारका यस्ता संक्रमण रोकथाम र नियन्त्रणमुखी कदमले क्रमशः परिणाम दिन थालेको छ। जनतालाई क्वारेन्टाइनमा राख्दा उपभोगमा नकारात्मक प्रभाव पार्ने हो कि भन्ने चिन्ता थियो। केही शक्तिले भने यो परिस्थितिले चीनको अर्थतन्त्रको सम्भावनालाई होच्याउने र सराप्ने मौकाका रूपमा लिएका छन्। निःसन्देह संक्रमण रोकथाम र नियन्त्रणमुखी निर्णयले चिनियाँ उद्योगमा गहिरो प्रभाव पार्ने कुरा सत्य हो। चीनको अर्थतन्त्रमा यसले केही अल्पकालीन नकारात्मक प्रभाव पनि पार्नेछ। क्षेत्रीय र संसारकै जनस्वास्थ्यका लागि चीनले गरेको यो ठूलो त्याग हो।

तर महामारी परास्त गर्नुजसरी चीनको उच्च प्राथमिकता हो, त्यसरी नै अर्थतन्त्रको विकास पनि उत्तिकै महत्वको विषय हो। संक्रमणलाई बलियोसँग रोकथाम र नियन्त्रण गर्नु अर्थतन्त्रको चुस्त विकासका लागि महत्वपूर्ण आधार हो। महामारीविरुद्धको लडाइँ जित्न चीनको बलियो आर्थिक आधार हो– पूर्वाधार। यतिबेला हुपेई प्रान्तबाहेक चीनका अन्य सबै प्रान्तमा उत्पादन पुनःथालनी गर्ने प्रक्रिया अघि बढिरहेको छ। चीनको राष्ट्रिय विकास र सुधार आयोगको तथ्यांकअनुसार देशभरका झन्डै ९४.६ प्रतिशत प्रमुख अन्न उत्पादन र उत्पादित अन्न उपभोग्य बनाउने कलकारखानाले आफ्नो काम पुनःथालनी गरिसकेका छन्।

कदाचित् चीनको अर्थतन्त्रमा गम्भीर क्षति पुग्यो भने त्यसको नकारात्मक प्रभाव अन्य देशमा पनि पर्नेछ।

महामारीको अस्थायी प्रभाव रोक्न चीनको केन्द्रीय सरकारले सम्बन्धित उद्योग–कलकारखानालाई टेवा पु-याउन विशेष वित्तीय र आर्थिक–नीति अवलम्बन गरेको छ। विशेषतः साना तथा मझौला उद्योग र निजी कम्पनीको हकमाचीन सरकारले यस्तो नीति लागू गरेको छ। चीनको जनता बैंकले प्रतिचक्रीय समायोजन(काउन्टर–साइक्लिक एडजस्टमेन्ट)लाई सघन बनाएको छ। खुला बजार प्रवाहमार्फत बैंकले १.७ट्रिलियन युआनको तरलता प्रत्यायोजन गरेको छ। बैंकले ३ सय बिलियन युआनबराबरको विशेष ऋण कोष स्थापना गरेको छ। त्यसबाट साना तथा मझौता उद्योग र निजी कम्पनीहरूलाई सस्तो ब्याज दरमा ऋण प्रवाह गर्न सक्ने बनाएको छ।

यसले ती उद्योग र कम्पनीहरूको वित्तीय लागत र आर्थिक बोझ कम गर्नेछ। अहिले निम्तिएको कठिनाइ पार गर्न साना तथा मझौला उद्योग एवं निजी कम्पनीलाई सहयोग गर्न कर र बहाल छुटको नीति चीनका धेरै स्थानीय सरकार र सम्बद्ध निकायले गरेका छन्। अल्पकालीन सुस्तता पछि धितो बजार सामान्य दिशामा फर्किसकेको छ। यसबाट महामारी नियन्त्रणमा चीन सरकारको क्षमता र चीनको भविष्यको आर्थिक वृद्धिमा लगानीकर्ताको आत्मविश्वास प्रदर्शन भएको छ।

चीनको अर्थतन्त्रसँग बलियो सहनशीलता र बृहत् क्षमता छ। त्यसको दीर्घकालीन र उच्च गुणस्तरीय वृद्धिको आधारलाई कुनै महामारीले कमजोर बनाउन सक्दैन। अहिले महामारीका कारण खुम्चिएको माग विलिन वा नष्ट नै हुने होइन, बरु केही समयका लागि ती माग रोकिएका मात्र हुन्। फर्केर हेर्दा सन् २००३ को दोस्रो त्रैमासिकको आर्थिक वृद्धिलाई सार्स संक्रमणले प्रभाव पारेको थियो। तर त्यो महामारी रोकिएपछि तेस्रो त्रैमासिकसम्ममै अर्थतन्त्रले पुरानै लय समातिसकेको थियो। त्यतिबेलाको वार्षिक आर्थिक विकास लक्ष्यमा सार्सको प्रभावले कुनै असर गरेन।

चिनियाँ अर्थतन्त्रको अहिलेको आधार सन् २००३ को तुलनामा अझ बलियो बनिसकेको छ। चीनको अहिलेको कूल गार्हस्थ्य उत्पादन १४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ। प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन(जिडिपी) १० हजार अमेरिकी डलरभन्दा बढी छ। चीनको अहिलेको जनसंख्या १ अर्ब ४० करोड छ। त्यसमध्ये ९० करोडभन्दा बढी मानिस काम गर्न सक्षम छन्। ४० करोडभन्दा बढी मानिस मध्यमआय भएका छन्। १७ करोडभन्दा बढी मानिस राम्रो पढाइलेखाइ भएका र दक्षछन्। चीन संसारको एउटै मात्र त्यस्तो देश हो जोसँग संयुक्त राष्ट्रसंघको औद्योगिक वर्गीकरण प्रणालीअन्तर्गतका सबै उद्योग छन्। यस्ता पक्षले चीनको आर्थिक वृद्धिलाई कुनै महामारीले पछार्न सक्दैन।

चीनका केही परम्परागत औद्योगिक क्षेत्रमा महामारीले केही अस्थायी प्रभाव पारे पनि यसले अनलाइन उद्योग, दूरशिक्षा, अनलाइन मनोरञ्जनजस्ता केही उदीयमान उद्योगको विकासलाई थप टेवा पु-याउने छ। यसले चीनको अर्थतन्त्रको उच्च गुणस्तरीय विकासमा नयाँ वृद्धिको क्षेत्र विस्तार गर्नेछ। महामारीपछि चाँडै चीनको अर्थतन्त्रले विकासको चुस्त मार्ग समात्ने र अझ क्षतिपूर्तिसहित अघि बढ्नेमा हामी पूर्णतः विश्वस्त छौं। विश्व आर्थिक वृद्धिको नेतृत्वदायी इन्जिन र विश्व अर्थतन्त्रकै महत्वपूर्ण हिस्सेदारका रूपमा चीनको भूमिकामा यो महामारीले कुनै भिन्नता ल्याउनेछैन।

आर्थिक भूमण्डलीकरणको युगमा सबै देशको भविष्य साझा छ। चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो र विश्वव्यापी औद्योगिक सञ्जालसँग यसको अटुट सम्बन्ध छ। कदाचित्चीनको अर्थतन्त्रमा गम्भीर क्षति पुग्यो भने त्यसको नकारात्मक प्रभाव अन्य देशमा पनि पर्नेछ। महामारीको राजनीतीकरण र चीनको अर्थतन्त्रलाई सराप्नाले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव मात्र फैलाउनेछ। यसले आफ्नै खुट्टामा बन्चरो हानिनेछ र अरूलाई पनि चोट पु-याउनेछ। चीन सरकारले महामारीविरुद्ध लड्न र अर्थतन्त्र प्रवर्द्धन गर्न चालेका कदम केवल आफ्नै स्वार्थपूर्तिका लागि नभई विश्वकै हितका लागि हो। यस्ता गतिविधिले एउटा प्रमुख देशका रूपमा चीनले आफ्नो जिम्मेवारी वहन गरेको, केही आत्मकेन्द्रित देशसँग गहिरो अन्तर राखेको प्रस्ट पारेका छन्।

चीनको यस्तो जिम्मेवारीबोधलाई अन्तर्राष्ट्रिय समुदायले पनि उच्च प्रशंसा गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जिर्योगेभले चीनको पछिल्लो आर्थिक, मौद्रिक र वित्तीय कदमप्रति समर्थन गर्दै चिनियाँ अर्थतन्त्रको दिगोपनाप्रति विश्वास व्यक्त गरेकी छन्। विश्व बैंकले चीनको पहलकदमीले संसारको अर्थतन्त्रमा आउन सक्ने खतरालाई प्रभावकारी रूपमा पन्छाउन सफल भएको बताएको छ। धेरै देशका अर्थशास्त्रीले चीनको अर्थतन्त्रले बलियो अन्तरनिहित वृद्धिदर कायम राख्नेमा विश्वास व्यक्त गरेका छन्। चीनको दीर्घकालीन र चुस्त वृद्धिको आधार गतिमा कुनै फरक आउनेछैन। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पनि चीनको अर्थतन्त्रप्रीत विश्वासव्यक्त गरेका छन्। एफटिएसई ग्लोबल इक्विटी इन्डेक्स सिरिजमा समयमै चिनियाँ ए–सेयर समावेश गर्नु र चीनको पुँजी बजारमा खरिद वृद्धि गर्नु यसका केही दृष्टान्त हुन्। 

आपतविपत् पर्दा साथ दिने नै वास्तवमा असल साथी हो। महामारी फैलिएयता नेपाल सरकार र सबै क्षेत्रका नेपाली मित्रले महामारीविरुद्धको लडाइँमा चीनको पहललाई सद्भावका पत्र पठाएर, अत्यावश्यक सामान सहयोग आदि गरेर समर्थन गरेका छन्। यस्ता सहयोगप्रति चीन कृतज्ञ छ। हिमालय पारिबाट आएको यो प्रेमले धेरै चिनियाँ जनताको मन छोएको छ। दुवै देशका सम्बन्धित निकायले आपसमा निकट संवाद र सहकार्य गरेका छन्। संक्रमण रोकथाम र नियन्त्रणका लागि साझा प्रयास बलियो बनाउने तथा दुई देशका नागरिकको स्वास्थ्य रक्षाका लागि व्यावहारिक काम भएका छन्। यसले चीन–नेपालबीच सहकार्यको रणनीतिक साझेदारीका बहुआयामप्रतिबिम्बित गरेको छ। दुई देशबीच विकास र समृद्धिका लागि दिगो सहकार्य र दुई देशका जनताबीचको हार्दिक मित्रता यसबाट झल्किएको छ।

महामारीविरुद्धको लडाइँले चीन र नेपालबीच मानिसको आवतजावतलाई निकै प्रभाव पा-यो। वसन्त पर्व मनाउन चीन गएका धेरै मानिसलाई समयमै नेपाल फर्किन गाह्रो भयो। त्यसले पनि दुई देशबीच सहकार्यका केही साझा परियोजनामा असर ग-यो। नेपाल भ्रमणमा आउने तयारीमा रहेका चिनियाँ पर्यटकको भ्रमण रद्द हुँदा नेपाल भ्रमण वर्ष २०२० मा लक्षित चिनियाँ पर्यटकको संख्या पु-याउन नेपाललाई थप कठिन हुन सक्छ। तर, यस्ता अस्थायी कदमले नेपाललाई नोबल कोरोना भाइरसको संक्रमणबाट जोगाउन सहयोग गर्नेछ। अनि नेपाल भ्रमणमा आउने अरू देशका पर्यटकका लागि नेपालमा सुरक्षित वातावरण पनि बनाउने छ। महामारीविरुद्धको लडाइँ जब सकारात्मक बिन्दुमा पुग्छ र अन्तिम विजय हासिल हुन्छ, तब यी सबै परियोजना र उत्पादनले पुनः गति लिनेछन्। र, नेपाल आउने पर्यटकको संख्या पनि क्रमशः बढ्नेमा हामी विश्वस्त छौं। महामारीका कारण चीन–नेपालबीच मित्रता र सहकार्यमा कुनै कमी  आउनेछैन। महामारीविरुद्ध दुई देशबीचको साझा लडाइँको अनुभवले हाम्रो मित्रतालाई अझ बलियो बनाउनेछ रसम्बन्धमा नयाँ ऊर्जा थप्नेछ।
(नेपालका लागि चिनियाँ राजदूत)
नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: ५ फाल्गुन २०७६ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App