घरेलु मैदानमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पुनः संयुक्त राज्य अमेरिका र स्कटल्यान्डसँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ।
मंगलबारबाट सुरु हुने उक्त सिरिजमा नेपालले पहिलो खेल स्कटल्यान्डसँग खेल्नेछ। गएको हप्तामात्रै नेपालले आफ्नै मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानसँग सिरिज खेलेको थियो।
चार खेल खेलेको नेपाली टोलीले तीन खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको थियो। यूएईलाई दुई पटक पराजित गरेको नेपाल ओमानसँग एक खेलमा पराजित हुँदा अर्को खेलमा विजयी भएको थियो।
यससँगै नेपालले १८ अंक बटुलेको छ। हाल आठ राष्ट्र सहभागी रहेको लिग–२ मा नेपाल सातौँ स्थानमा रहेको छ। नेपाललाई अबका खेलमा पराजय भोग्ने छुट छैन।
चुनौतीपूर्ण खेल खेल्दै नेपाल
नेपालले खेल्न लागेको अमेरिका र स्कटल्यान्ड दुवै टोली लिग तालिकाको शीर्ष स्थानमा छन्। अमेरिका शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड दोस्रो स्थानमा छ। यसकारण नेपालका लागि आगामी खेलहरू निकै चुनौतीपूर्ण हुनेछन्।
संघर्षपूर्ण खेल खेल्दै जित निकालिरहेको नेपालको लागि अमेरिका र स्कटल्यान्डविरुद्धको सिरिज ठूलो परीक्षा हुनेछ। नेपालले जुनसुकै अवस्थामा पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछ।
हालै सम्पन्न सिरिजमा नेपालले राम्रो प्रदर्शन गरे पनि अधिकांश खेल संघर्षपूर्ण बनेका थिए। चुनौतीपूर्ण प्रतिस्पर्धाबीच नेपाली टोलीको लक्ष्य चारै खेल जित्ने रहेको छ।
नेपाली टोलीका अलराउन्डर गुलशन झाले नेपालले अमेरिका र स्कटल्यान्डविरुद्ध चारै खेल जित्ने लक्ष्य राखेको बताए ।
'हामीले अघिल्लो सिरिजमा पनि चारै खेल जित्ने लक्ष्य लिएका थियौँ। तर, नतिजा पूर्ण रूपमा हाम्रो पक्षमा आएन। फेरि आफ्नै घरेलु मैदानमा खेल हुँदैछ। हाम्रो लक्ष्य सबै खेल जित्नु हो। यदि सबै जित्न नसके पनि कम्तीमा तीन खेल जित्ने लक्ष्य छ,' गुलशनले भने।
नेपाल र अमेरिकाले हालसम्म समान २४-२४ खेल खेलेका छन्। अमेरिकाले १८ खेलमा जित हासिल गर्दा ६ खेलमा हार बेहोरेको छ। ३६ अंकसहित अमेरिका तालिकाको शीर्ष स्थानमा रहेको छ।
नेपालका लागि अमेरिकाविरुद्धको खेल थप चुनौतीपूर्ण बन्न सक्छ। उच्च आत्मविश्वासमा रहेको अमेरिका नेपाललाई उसकै घरेलु मैदानमा हराउने योजनामा हुनेछ।
यता, स्कटल्यान्डले हालसम्म २८ खेल खेलेको छ। १४ खेलमा जित र ८ खेलमा हार बेहोरेको स्कटल्यान्ड ३४ अंकसहित दोस्रो स्थानमा छ। अमेरिका र स्कटल्यान्डबीच अंक दूरी धेरै छैन। यस्तो अवस्थामा त्रिवि मैदानमा स्कटल्यान्डविरुद्धको खेल नेपालका लागि सहज हुने छैन।
जितको लय कायम राख्न चुनौती
लिग–२ मा नेपालको अवस्था अझै नाजुक छ। शीर्ष चारमा पुग्ने सम्भावना बाँकी रहे पनि त्यसका लागि नेपालले अधिकांश खेल जित्नैपर्ने दबाब छ।
हालै सम्पन्न सिरिजमा नेपालको प्रदर्शन मिश्रित रहे पनि समग्रमा टोलीले सकारात्मक प्रदर्शन गरेको थियो। त्यस सिरिजमा नेपालले बलियो खेल प्रस्तुत गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।
त्यो सिरिजमा पनि नेपालको अवस्था अहिलेको जस्तै थियो। सातौँ स्थानमा रहेको नेपालले अबका सबै खेल शीर्ष चारमा पुग्ने लक्ष्यसहित खेल्नेछ।
नेपाललाई पछिल्लो सिरिजमा जस्तै यस पटक पनि जितको लय कायम राख्नु चुनौतीपूर्ण हुनेछ। लगातार दुई खेलमा ब्याटिङमा असफल रहेको नेपालले पछिल्ला दुई खेलमा भने ब्याटिङमा केही सुधार गरेको थियो।
त्यो सिरिजमा नेपालको ब्याटिङ लाइन सम्हाल्ने जिम्मेवारी उपकप्तान दीपेन्द्र सिंह ऐरीले निर्वाह गरेका थिए। आगामी सिरिजमा पनि नेपालको अर्को चुनौती संयमित ब्याटिङ हुनेछ।
नेपालका ओपनर आशिफ शेखले अबका सबै खेल नेपालको लागि महत्वपूर्ण रहेको बताएका छन्।
'अब आउने हरेक खेल हाम्रो लागि निकै महत्वपूर्ण छ। हामीले धेरै टाढाको सोच बनाएका छैनौँ। पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने र त्यसपछि अन्य खेलमा पनि निरन्तर राम्रो खेल्ने लक्ष्य छ,' आशिफले भने।
नेपालले खेल्न लागेको यो सिरिज जारी लिग–२ अन्तर्गत नेपालको सातौँ सिरिज हुनेछ। यो सिरिजले नेपालको शीर्ष चारमा पुग्ने यात्रा सहज वा कठिन बनाउनेछ।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, इशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।
प्रकाशित: २८ वैशाख २०८३ १७:०२ सोमबार





