अन्नपूर्ण आधार शिविरबाट सुरु भएको छैटौँ अन्नपूर्ण म्याराथन प्रतियोगितामा जुम्लाका धावक दलबहादुर कुँवर र धाविका मञ्जु रावत च्याम्पियन बनेका छन्।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्वकै पहिलो कीर्तिमान बनाएको ७६औँ वर्षगाँठको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले बुधबार प्रतियोगिता आयोजना गरेको हो।
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरीको पुरुषतर्फको प्रतिस्पर्धामा जुम्लाका दलबहादुर कुँवर पहिलो भए। उनले निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गर्दै उपाधिसहित नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए। उनले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। ४ घण्टा ४९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका सचिन गुरुङ तेस्रो हुँदै ७५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए।
यस्तै, सोमिन गुरुङ चौथो र रोजन सिपाली पाँचौँ स्थानमा रहे।
महिलातर्फ पनि जुम्लाकै धाविकाहरूको वर्चस्व कायम रह्यो। मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितिन्। उनले पनि नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
राज्यलक्ष्मी रावल दोस्रो तथा कल्पना बुढा तेस्रो भइन्। दोस्रो स्थान हासिल गरेकी रावलले नगद १ लाख रुपैयाँ प्राप्त गरिन् भने तेस्रो भएकी बुढाले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन्।
महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने तीनै जना धाविका जुम्लाकै रहेका छन्।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित आयोजित म्याराथन समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको थियो। प्रतियोगिताको मार्ग अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, सिनुवा, बम्बु, छुमरुङ, तौलु, घुर्जुङ, चुहिले, मेलाञ्चे, कोम्रोङडाँडा हुँदै घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर सम्पन्न भएको थियो।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्यसहित निरन्तर आयोजना गरिने बताए।
प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन हिमालयन एक्स्ट्रीमले गरेको थियो।
प्रकाशित: २० जेष्ठ २०८३ २०:५० बुधबार





