चौथो ताप्लेजुङ गोल्डकपमा फाइनल पुगेका दुवै टिमले आ–आफ्नो जितको दाबी गरेका छन्। सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब शुक्रबार फुङलिङस्थित भानुजन माविको मैदानमा उपाधि भिडन्त गर्दै छन्।
फाइनल खेलको पूर्व सन्ध्यामा बिहीबार बिहान आयोजक लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत दुवै टोलीले आ–आफ्नो जितको दाबी गरेका हुन्। तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको उपाधि जितेको सलहेस युवा क्लवका प्रशिक्षक राजीव यादवले आफ्नो टिमले जित हासिल गर्ने दाबी गरे। ‘२–० वा २–१ को अवस्थामा हामी पाँचथरविरुद्ध जित निकाल्ने छौं,’ यादवले अनुमान लगाउँदै भने।
फिदिम स्पोर्टिङ क्लवका प्रशिक्षक उपेन्द्र श्रेष्ठले सहलेसविरुद्ध कम्तिमा १–० को नतिजासहित उपाधि आफूहरूको हातमा आउने दाबी गरे। सलहेस ताप्लेजुङ गोल्डकपको सहभागितादेखि लगातार फाइनलमा पुग्दै आएको टोली हो। तेस्रो संस्करणको उपाधि विजेता सलहेस दोस्रो संस्करणमा भने उपविजेता भएको थियो। यस पटक सलहेसले आफ्नो तेस्रो उपस्थितिमा तेस्रो नै फाइनल खेल खेल्दै छ।
फिदिम स्पोर्टिङ क्लब भने ताप्लेजुङ गोल्डकप सुरु भएयता पहिलो पटक फाइनलमा पुगेको हो। प्रशिक्षक श्रेष्ठले ताप्लेजुङ गोल्डकप सुरु हुनुभन्दा अघिका खेलहरूमा भने फिदिम थुप्रै पटक फाइनलमा पुगेको बताए। त्यतिबेला उनी खेलाडीको रूपमा मैदानमा थिए। सलहेस र फिदिम दुवै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव भएका खेलाडीहरूले भरिएको टिमलाई पाखा लगाउँदै फाइनल पुगेका हुन्।
क्वाटर्फाइनलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल पुगेको फिदिम स्पोर्टिङ क्लबले सेमिफाइनलमा झापा–११ लाई १–० ले हराएर फाइनल पुगेको हो। आयुष घलान, देवेन्द्र तामाङ, सुमित श्रेष्ठ, आरोन थापाजस्ता भरपर्दा खेलाडीले भरिएको झापा–११ लाई हराएको फिदिमले सलहेसलाई रोकेर यसपटक उपाधि उचाल्ने दाबी गरेको छ।
क्वाटर्फाइनलमा सातदोबाटो फुटबल क्लबलाई टाइब्रेकरमा हराएर सेमिफाइनल पुगेको सलहेस भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लबलाई २–० ले हराएर फाइनल पुगेको टोली हो। पाँचथर स्पोर्टिङ क्लबले आफ्ना सबै खेलाडी स्थानीय भएको बताएको छ। सहलेसमा दुई विदेशी खेलाडी रहेकोमा एक जना सामान्य घाइतेपछि फर्किएका छन्।
क्वाटर्फाइनल र सेमिफाइनलका दुवै खेलहरूमा उत्कृष्ट टिमविरुद्ध जित हात पारेको भन्दै फिदिमले खेलाडी अहिलेकै टिमलाई फाइनलमा उतार्ने बताएको छ। सलहेसले पनि क्वाटर र सेमिफाइनल खेलेकै टिमका सदस्यलाई फाइनल खेलमा कायम राख्ने दाबी गरेको छ। आयोजकले बिहीबार ताप्लेजुङ गोल्डकपमा फाइनल पुगेका फिदिम र सहलेसका प्रशिक्षक र कप्तानलाई संगै राखेर पत्रकार सम्मेलन आयोजना गरेको थियो। आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले दुई उत्कृष्ट टोली फाइनलमा पुगेकाले शुक्रबारको फाइनल खेल रोमाञ्चक र अतिप्रतिश्पर्धात्मक हुने दाबी गरेका छन्।
सलहेसका प्रशिक्षक यादवले आयोजकले गरेको व्यवस्थापन र सहयोगप्रति गोल्डकपमा सहभागी सबै टोलीले खुलेर प्रशंसा गर्ने प्रकृतिको रहेको भन्दै आयोजकको तारिफ समेत गरेका छन्। प्रतियोगिताका विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एक थान मोटरसाइकल पाउने छन् भने विधागततर्फ उत्कृष्ट हुनेलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए।
प्रकाशित: १८ भाद्र २०८३ ११:१८ बिहीबार

