३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

फाइनलअघिको फाइनल फ्रान्स र स्पेनबिचको खेल

विश्व फुटबलका दुई उत्कृष्ट टोलीबिचको बहुप्रतीक्षित भिडन्त मंगलबार हुँदा स्पेनले विश्वकप सेमिफाइनलमा सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको फ्रान्सको चुनौती सामना गर्नेछ।

युरोपियन च्याम्पियन स्पेनले प्रशिक्षक डिडिएर डेसच्याम्पको प्रशिक्षणमा रहेको फ्रान्सको आक्रमण निष्प्रभावी बनाउने लक्ष्यसहित अमेरिकाको टेक्सासस्थित अर्लिङ्टनमा मंगलबार राति प्रतिस्पर्धा गर्दै छ। धेरैको नजरमा यो खेल ‘फाइनलअघि फाइनल’ सरह हुनेछ, किनभने विश्वकपमा बाँकी रहेका दुई सर्वाधिक बलिया टोली यिनै हुन्। विश्वकपको अन्तिम चारमा सहज रूपमा पुगेको टोली हो, फ्रान्स। कप्तान किलियन एमबाप्पेको नेतृत्वमा फ्रान्सको आक्रमणपंक्ति यस विश्वकपमा निकै प्रभावशाली देखिन्छ। ६ खेलबाट एमबाप्पेले आठ गोल गरिसकेका छन्। उनको साथमा बायर्न म्युनिखका माइकल ओलिसे, बालोन डिओर विजेता उस्मान डेम्बेले र पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राड्ली बार्कोला र डेजिरे डुएजस्ता स्टार खेलाडी छन्।

यसले फ्रान्सलाई सबैभन्दा उत्कृष्ट आक्रमण टोलीमध्ये एक बनाएको छ। स्पेनले भने आफ्नो परम्परागत बल नियन्त्रणमा आधारित, संयमित र निरन्तर दबाब सिर्जना गर्ने शैलीमार्फत सेमिफाइनलसम्मको यात्रा तय गरेको छ। प्रशिक्षक लुइस दे ला फुएन्तेको प्रशिक्षणमा स्पेनले सामूहिक प्रदर्शनलाई नै आफ्नो ठूलो शक्ति बनाएको छ। फ्रान्सले व्यक्तिगत प्रतिभाको भरमा खेल जित्दै आएको देखिए पनि स्पेनले सामूहिक तालमेललाई प्राथमिकता दिएको छ। रोड्री, पेड्री र फाबियन रुइजको उत्कृष्ट पासले स्पेनको मिडफिल्डलाई मजबुत बनाएको छ। किशोर विङ्गर लामिन यामालले अग्रपंक्तिमा निरन्तर खतरा सिर्जना गर्दै आएका छन्। यी दुई टोलीबिचको भिडन्त शैलीको दृष्टिले पनि रोचक हुनेछ।

स्पेनले लामो समय बल आफ्नो नियन्त्रणमा राख्दै एमबाप्पे र उनका सहकर्मीहरूसम्म बल पुग्ने मार्ग अवरुद्ध गर्ने प्रयास गर्नेछ। साथै फ्रान्सको रक्षापंक्तिमाथि पनि दबाब सिर्जना गर्ने योजना बनाएको छ। यद्यपि त्यसलाई व्यवहारमा उतार्न सहज हुने छैन। स्पेनको उत्साहजनक पक्ष पछिल्लो समय फ्रान्सविरुद्धको राम्रो प्रदर्शन हो। गत वर्ष युइएफए नेसन्स लिगमा स्पेनले फ्रान्सलाई ५–४ ले हराएको थियो। त्यसअघि सन् २०२४ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई २–१ ले हराउँदै उपाधितर्फ यात्रा तय गरेको इतिहास छ। यामाल मंगलबार १९ वर्ष पूरा हुन्छन्। भोलिपल्ट मैदान उत्रिने यामालले स्पेनलाई फ्रान्ससँग डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

‘दुवै टोली विश्वकै उत्कृष्टमध्येका हुन्। के हुन्छ त्यो खेलमै थाहा हुनेछ। तर हामीलाई कुनै डर छैन,‘ बेल्जियमलाई क्वार्टरफाइनलमा २–१ ले हराएपछि यामालले भने, ‘दुवैमा सम्भावना छन्। या त उनीहरू लगातार तेस्रो विश्वकप फाइनलमा पुग्नेछन्, या हामीले लगातार तेस्रो पटक हराउनेछौं। जे भए पनि हामी डराएका छैनौं।’ स्पेनका प्रशिक्षक दे ला फुएन्तेले पनि आफ्ना युवा खेलाडीको आत्मविश्वास दोहोर्याए। ‘फ्रान्स उत्कृष्ट लयमा छ। हाम्रो खेल्ने शैली पनि फरक छ,’ उनले भने, ‘प्रतिद्वन्द्वीप्रति पूर्ण सम्मान व्यक्त गर्छौं। तर कुनै पनि टोलीलाई हराउन सक्षम छौं भन्ने विश्वास राख्छौं।’ अप्टा सुपरकम्प्युटरको पछिल्लो प्रक्षेपणले फ्रान्स ३४.६ प्रतिशतसहित विश्वकप जित्ने सबैभन्दा बलियो दाबेदार बनेको छ। जसमा स्पेनको सम्भावना ३.८ प्रतिशत देखाएको छ।

‘हामीले फ्रान्सको क्षमता राम्ररी बुझ्छौं। तर सेमिफाइनलमा फ्रान्सलाई दुई पटक हराउने एकमात्र टोली पनि हामी नै हौं,’ स्पेनका प्रशिक्षकले भने। फ्रान्स भने आफ्नो स्टार खेलाडीले भरिएको आक्रमण पंक्तिबाट स्पेनको मजबुत रक्षालाई चुनौती दिने अपेक्षामा छ। स्पेनले बेल्जियमविरुद्ध क्वार्टरफाइनलमै विश्वकपमा पहिलो गोल बेहोरेको हो। जसले उसको रक्षापंक्ति मजबुत देखाउँछ। डिडिएर डेसच्याम्पका लागि यो विश्वकपको महत्व पनि छ। विश्वकप समाप्तिपछि उनले फ्रान्सको मुख्य प्रशिक्षक पद छाड्ने घोषणा गरिसकेका छन्। त्यसैले टोली तीन विश्वकपभित्र दोस्रो उपाधि जित्ने लक्ष्यसहित अघि बढिरहेको छ। लगातार तेस्रोपल्ट विश्वकपको सेमिफाइनलमा पुगेपछि फ्रान्स यो उपलब्धि हासिल गर्ने तेस्रो राष्ट्र बनेको छ।

यसअघि जर्मनीले सन् १९८२–१९९० र २००२–२०१४ तथा ब्राजिलले १९९४, १९९८ र २००२ मा लगातार तीन विश्वकपको अन्तिम चारमा स्थान बनाएका थिए। डेसच्याम्प फ्रान्सलाई आधुनिक फुटबलको शक्तिशाली टोली बनाएको श्रेय आफूलाई मात्र दिन चाहँदैनन्। ‘सायद उत्कृष्ट खेलाडीहरू हुनु नै मुख्य कारण हो। तर म पनि आफ्नो काम नराम्रो गरिरहेको छैन होला,’ उनले मुस्कुराउँदै भने। उनको सम्मान र आत्मीयता फ्रान्सेली खेलाडीहरूमा पनि स्पष्ट देखिन्छ। स्विडेनविरुद्ध गोल गरेपछि एमबाप्पे सीधै साइडलाइनतर्फ दौडिँदै प्रशिक्षकलाई अँगाल्न पुगेका थिए। आफ्नी आमाको निधनपछि डेसच्याम्प अन्त्येष्टिमा सहभागी भएर टोलीमा फर्किएका थिए।

‘हाम्रो टोलीको संस्कार नै प्रशिक्षकसँग सधैं एकजुट भएर उभिनु हो। परिस्थितिले जस्तोसुकै मोड लिओस्, हामी सबै प्रशिक्षकको साथमा छौं,’ एमबाप्पेले त्यसबारे भने।

फ्रान्स र स्पेनबिच विश्वकपमा यो दोस्रो भेट मात्र हुनेछ। यसअघि यी दुई टोली सन् २००६ को विश्वकपको अन्तिम १६ मा आमनेसामने भएका थिए। त्यस खेलमा सुरुआती अग्रता गुमाए पनि फ्रान्सले अन्तिम १० मिनेटमा दुई गोल गर्दै ३–१ को सानदार पुनरागमन जित निकालेको थियो। यद्यपि पछिल्ला १० प्रतिस्पर्धात्मक भेटमा स्पेनको प्रदर्शन फ्रान्सविरुद्ध निकै प्रभावशाली छ। स्पेनले तीमध्ये सात खेल जितेको, एक खेल बराबरी खेलेको र दुई खेलमा मात्र पराजय बेहोरेको छ। यसपल्ट उत्तरी अमेरिकी राष्ट्र अमेरिकामा फ्रान्स त्यो इतिहास बदल्ने लक्ष्यमा हुनेछ।

प्रकाशित: ३० असार २०८३ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App