१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

एन्फामा लागेको ताल्चा खुल्यो, के होला नेपाली फुटबलको भविष्य ?

'फुटबल खेलाडीको मर्म बुझन नसक्ने संघ बन्द हुनुपर्छ,' यो भनाइ  हो, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाको।

आइतबार दिउँसो फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा तीनबुँदे मागसहित तालाबन्दी गरेको थियो। अध्यक्ष लामासहित तालाबन्दीको क्रममा नेपालका पूर्वराष्ट्रिय खेलाडी विराज महर्जन लगायतहरुको उपस्थिति थियो।  

पटक पटक आफ्नो मागलाई वेवास्ता गरेपछि उनीहरुले माग पूरा नहुन्जेलसम्म एन्फामा तालाबन्दी गरिरहने बताएका थिए। तर, मंगलबार दिउँसो एन्फा र नेपाल फुटबल खेलाडी संघको सम्झौतापछि खेलाडी संघले एन्फाको ढोकामा लगाएको ताला खोलेको छ। 

'समयमा फुटबल नै गर्न सक्दैन, खेलाडीहरुको मर्म नै बुझदैन भने त्यो संघ बन्द हुनुपर्छ',अध्यक्ष लामाले तालाबन्दीको क्रममा भनेका थिए, 'अहिले हामीले ३्४ वटा कुराहरुको माग गरेका छौँ, त्यो पूरा हुनुपर्छ भन्ने हाम्रो माग हो।'

आरोप र प्रत्यारोपको खेल  

आइतबार दिउँसो तालाबन्दी र एन्फाको मुख्यालयमा केहीबेरको प्रदर्शनी पश्चात नेपाल फुटबल खेलाडी संघले एन्फामा तालाबन्दी गरेर त्यहाँबाट फर्किएको थियो। यस प्रकारको विरोध र प्रदर्शन एन्फाको लागि नयाँ कुरा थिएन।  

यसअघि पनि सोही संघले एन्फाविरुद्ध सडकमा प्रदर्शन गरेको थियो। गत कार्तिक २० गते संघले एन्फाविरुद्ध सडकमा प्रदर्शन गर्ने  क्रममा उनीहरुले आ-आफनो मेडल झुन्डाएका थिए। त्यसविरोधको कारण थियो एन्फाले 'ए' डिभिजन लिग यस वर्ष गराउन असम्भव रहेको जनाएको थियो।  

तर, एन्फाले त्यसको साटो हाल जारी रहेको राष्ट्रिय लिग गर्ने निणर्यमा पुगेपछि त्यस बेला स्थिती साम्मे बनेको थियो।  

तर, आइतबार पुनः एकपटक त्यही कुरा दोहोरियो। यसपटक खेलाडी र खेलाडी संघ आक्रमक भएर उत्रिए। उनीहरुले सिधै एन्फामा नै तालाबन्दि गरे। 'हामीले उहाँहरुलाई बारम्बार यही कुराहरुको माग गरिरहेका हुन्छौ तर उहाँहरुले हामीलाई सधैं झुकाउने काम मात्र गरिरहनु भयो, उहाँहरुको वेवास्तापछि हामी यस निर्णयमा उत्रिएका हौ', फुटबल खेलाडी संघका अध्यक्ष लामाले भने।  

उनीहरुले विरोध गरेको सोही दिनैमै नेपाल फुटबल प्रशिक्षक संघले प्रेस विज्ञप्ती जारी गरेर त्यस विरोधमा आएका केही अराजक व्यक्तिले प्रशिक्षक संघलाई अमर्यादित शब्द प्रयोग गरेको भन्दै भत्र्सना गरेको थियो। 

फुटबल प्रशिक्षक संघका अध्यक्ष राजेन्द्र तामाङले फुटबल खेलाडी संघको आवाज एन्फा नेतृत्वसम्म पुर्याउन सकरात्मक रहेको बताएका छन्। 

यता, तालाबन्दी भएको दुई दिनपछि मात्र एन्फाले यस विषयमा प्रेस विज्ञप्ती जारी गरेको थियो। जहाँ एन्फाले सार्वजनिक बिदाको दिन एन्फालाई कुनै जानकारी नगराई अप्रत्याशित रुपमा तालाबन्दी गरेकोमा ध्यानाकर्षण रहेको बताएको थियो।

यस्तै, विज्ञप्तीमा एन्फाले तालाबन्दी खोल्न समेत खेलाडी संघलाई आग्रह गरेको थियो। सहीद स्मारक ए डिभिजन लिग तोकिएकै समयमा हुने तालिका रहेको तर खेलाडी संघले तालाबन्दी गरेपश्चात सबै दैनिक प्रशासनिक गतिविधिहरु अवरुद्ध भएकोले समयै हुन असम्भव देखिएको जनाएको छ। 

यस हिसाबमा सबै कुरा हेर्दा यतिबेला नेपाली फुटबलमा एकले अर्कालाई आरोप र प्रत्यारोप लगाइरहेका छन्। मगंलबार दिउँसो एन्फा र खेलाडी संघले गरेको पत्रकार सम्मेलनमा नेपाल फुटबल खेलाडी संघका अध्यक्ष लामाले एन्फासँग बसेको छैटौँ बैठकसम्म पनि कुनै निष्कर्ष ननिस्केपछि तालाबन्दी गर्ने बाध्य रहेको बताए।  

कस्तो होला नेपाली फुटबलको भविष्य ? 

नेपाली फुटबल जगतको वर्तमान अवस्था हेर्ने हो भने कहालीलाग्दो छ। प्रतियोगिता नहुने र एन्फाभित्रको किचलोले नेपाली फुटबल जगत अहिले ध्वस्त भएको छ। आइतबार स्वंयम पूर्व तथा हालका खेलाडीहरु एन्फाको मुख्यालयमा तालाबन्दी गर्न बाध्य भए। 

त्यो तालाबन्दीको भित्रि रहस्य थियो, खेलाडीको भविष्य र घरेलु प्रतियोगिताको अभाव। मगंलबार आयोजित पत्रकार सम्मेलनमा फुटबल खेलाडी संघका अध्यक्ष लामाले भने, 'उहाँहरुले आफुले बोलेको कुरा पुरा गर्न नसकेपछि हामी तालाबन्दी गर्न बाध्य भएका हौँ।'

एन्फाको लागि यो नयाँ कुरा होइन, अहिले एन्फा केही न केही कुरामा हरेक पटक विवादमा तानिरहेको हुन्छ। यस्तो अवस्थामा अहिले एउटै प्रश्न छ नेपाली फुटबल जगतको भविष्य कस्तो हुन्छ रु किनभन्दा यस प्रकारको स्थिती एकपटक मात्र नभई बारम्बार आइरहने कुरा हो।

नेपालकै फुटबल जगतमा मेरुदण्ड रहेको सहिद स्मार ए डिभिजन लिग दुई पक्ष बसेर आगामी चैत्र ३० गतदेखि आयोजना गर्न निर्णय भएको छ। तर, निकै हतारमा लिएको यो निर्णयले नेपाली खेलाडीको भविष्यमा कस्तो छाप छाड्छ भने कुरा गम्भीर रुपमा खडा भइरहेको छ।

राजधानीमा अहिले ए डिभिजन लिगको सटामा राष्ट्रिय लिग आयोजना भइरहेको छ, जहाँ ए डिभिजन लिग खेल्ने कतिपय खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन्। हतारमा गरेको यो निणर्यले उनीहरुको भविष्यमा फुटबलमै केन्दित होला कि नहोला।' हामी बैठक बसेर चैत्र ३० गतेदेखि ए डिभिजन लिग गर्न निर्णयमा पुगेका छौँ,' एन्फाका प्रवक्ता सुरेश शाहले भने 'हामीले 'बी' र 'सी' डिभिजन लिग पनि २०८३ को मसिंरभित्र सक्ने निर्णयमा पुगेका छौँ।' 

नेपालमा घरेलु प्रतियोगिताहरु समयमा नहुँदा नेपाली फुटबल अहिले रितिएको छ, जसको प्रत्यक्ष असर राष्ट्रिय टोली निर्माणमा देखिएको छ। आफ्नो करिअर फुटबलमै बिताउने लक्ष्य लिएका अधिकांश खेलाडीहरु अहिले विदेश पलायन भएका छन्। निकै विवाद पश्चात यी दुई टोलीले एउटा निर्णय गरेका छन् तर, यो निर्णय मात्र पर्याप्त हुने छैन् नेपाली फुटबललाई जोगाउन। 

प्रतियोगितामा मात्र नभई खेलाडीहरुको सेवा सुविधा तथा तलब र पुरस्कार नपाउनु अर्का दुखद कारण हो, खेलाडीहरु विदेश पलायन हुन। एन्फाले खेलाडीको पुरस्कारहरु पहिलो किस्तामा चैत्रभित्र दिने निर्णय गरेको छ। अहिलेको अवस्थामा नेपाली फुटबल अघि बढ्नको साटो झन पछि धकालिदौ गइरहेको छ। 

एकपछि अर्को विवाद, बढ्दो खेलाडीको विदेश पलायन, घरेलु प्रतियोगिता न्यून पुरस्कार र तलब नेपाली फुटबल भासिदैजानुको प्रमुख कारण नै यही हुन्।

'हाम्रो मुख्य कुरा नै प्रतियोगिाहरु भइरहनु  पर्छ भन्ने हो, त्यही कुरालाई लिएर हामीले अहिले यति प्रेसर लिए काम गरिरहेका छौँ, अहिले हामी धेरै कुराहरु समेट्न खोजीरहेका छौ', खेलाडी संघका अध्यक्ष लामाले बताए।

प्रकाशित: २६ फाल्गुन २०८२ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App