सिराहाको सलहेस युवा क्लबले चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक जितेको छ। भारी वर्षाका कारण हिलाम्मे बनेको मैदानमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० गोलले पराजित गर्दै सलहेसले उपाधि रक्षा गरेको हो।
सलहेसले यसअघि तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधिसमेत जितेको थियो। दोस्रो संस्करणदेखि प्रतियोगितामा सहभागी हुँदै आएको सलहेसले यसपटक लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हो। दोस्रो संस्करणमा भने सलहेस उपविजेतामा सीमित भएको थियो।
ताप्लेजुङ गोल्डकपमा पहिलोपटक फाइनल पुगेको फिदिम स्पोर्टिङ क्लबलाई सलहेसविरुद्ध ऐतिहासिक उपाधि जित्ने अवसर थियो। तर, निर्णायक खेलमा गोल गर्न नसक्दा फिदिमको उपाधि जित्ने सपना अधुरै रह्यो।
ताप्लेजुङ गोल्डकप सुरु हुनुअघि भने फिदिमले भानुजन माध्यमिक विद्यालयको मैदानमा आयोजित एक प्रतियोगिताको फाइनल जितेर उपाधि उचालिसकेको छ।
उपाधिसँगै सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता फिदिम स्पोर्टिङ क्लबले ३ लाख २ हजार ८३ रुपैयाँ पाएको छ।
यससँगै सलहेसले ताप्लेजुङ गोल्डकपमा आफ्नो दबदबा कायम राख्दै लगातार दुई संस्करणको उपाधि आफ्नो नाममा लेखाएको छ।
प्रकाशित: १९ भाद्र २०८३ १८:३७ शुक्रबार





