पुरुष क्रिकेटले एकपछि अर्को अन्तर्राष्ट्रिय उचाइ चुमिरहँदा ओझेलमा परेको नेपाली महिला क्रिकेटले अन्ततः आफ्नो हिस्साको उडान भर्ने अवसर पाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेटको पूर्वाधार विकास, प्रशिक्षण र नियमित प्रतियोगिताका लागि भन्दै पहिलोपटक ५ लाख अमेरिकी डलर (करिब ७ करोड ४० लाख रुपैयाँ) को बजेट विनियोजन गरेको छ।
सोमबार सम्पन्न क्यानको केन्द्रीय कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त हुने अनुदान रकममध्येबाट महिला क्रिकेटका लागि उक्त बजेट सुनिश्चित गरेको हो।
यसअघि पुरुष र महिलातर्फ एउटै बजेट हुँदा महिलातर्फको लगानी नगण्य हुने गरेको गुनासोलाई चिर्दै क्यानले यसै वर्षदेखि लागू हुने गरी ऐतिहासिक निर्णय गरेको हो।
क्यानले यस बजेट केवल भत्ता र सुविधामा मात्र सीमित नराखी ग्रासरुट देखि नै खेलाडी उत्पादनमा खर्च गर्ने बताएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यस बजेटबाट देशभरिका उमेर समूहदेखि सिनियर टोलीसम्मका लागि विभिन्न प्रतियोगिताहरू आयोजना गरिनेछ।
यसबाहेक स्तरीय प्रशिक्षण, जिल्ला र प्रदेशस्तरमा महिला क्रिकेट संरचना निर्माण र आर्थिक सहयोगमा पनि यो रकम परिचालन हुनेछ।
‘हामीले महिला क्रिकेटलाई दीर्घकालीन रूपमा बलियो बनाउने उद्देश्यले अहिलेदेखि नै छुट्टै बजेटको व्यवस्था गरेका हौं,’ प्रवक्ता लामा भन्छन्, ‘अहिले पनि विभिन्न प्रतियोगिताहरू भइरहेका छन्। तर, यस बजेटमार्फत हामी गाउँ, जिल्ला र प्रदेशसम्म पुगेर फरक ढंगले लगानी गर्नेछौं। यसलाई हामी हरेक वर्ष निरन्तरता दिनेछौं।’
यसका साथै, खेलाडी कल्याणकारी कोष स्थापना र आवश्यक क्रिकेट सामग्री खरिदमा पनि यही बजेटमार्फत लगानी गरिने क्यानले जनाएको छ।
वि.सं. २०६० सालदेखि संस्थागत सुरुवात भएको नेपाली महिला क्रिकेटले सन् २००७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो। तर, झन्डै दुई दशकको यो यात्रा अत्यन्तै कष्टकर रह्यो।
पर्याप्त बजेटको अभाव, नियमित घरेलु प्रतियोगिताको कमी, स्तरीय खेल मैदान, इन्डोर सुविधा र फिटनेस सेन्टरजस्ता आधारभूत पूर्वाधारको कमीले महिला क्रिकेट सधैं पछाडि पर्दै आयो।
धेरै महिला खेलाडीहरू आफ्नो व्यक्तिगत संघर्ष र परिवारको सीमित समर्थनका भरमा मात्रै मैदानमा टिकिरहेका थिए।
तर, सीमित स्रोतसाधनका बाबजुद पनि नेपाली महिला टोलीले आशालाग्दा नतिजाहरू दिएको छ। सिनियर टोली विश्वकपको ग्लोबल छनोटसम्म पुग्न सफल भयो भने नेपाली यू-१९ महिला टोलीले सन् २०२३ मा पहिलोपटक विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल गर्यो।
केही महिनाअघि मात्रै राष्ट्रिय महिला टोलीले पहिलोपटक विदेशी प्रशिक्षकसमेत पाएको छ।
क्यानको यस कदमलाई लिएर पूर्वखेलाडीले उच्च प्रशंसा गरेका छन्। बजेट र एक्सपोजरको अभावमा धेरै प्रतिभाशाली खेलाडीहरू खेल जीवनबाटै पलायन हुनुपर्ने बाध्यता अब हट्ने उनीहरूको विश्वास छ।
राष्ट्रिय महिला टोलीकी पूर्वउपकप्तान ममता थापाले क्यानको यो निर्णय ढिलै भए पनि महिला क्रिकेटका लागि सञ्जीवनी बुटी साबित हुने बताइन्।
‘क्यानले अहिले गरेको यो निर्णय नेपाली महिला क्रिकेटका लागि धेरै पहिले नै आवश्यक थियो। तर, ढिलो भए पनि यो एकदमै महत्त्वपूर्ण कदम हो,’ थापाले भनिन्, ‘यस्तो निर्णयले अब महिला खेलाडीहरूलाई ढुक्क भएर क्रिकेट खेल्न र यसैमा आफ्नो करिअर बनाउन मद्दत पुग्नेछ। हामीले क्रिकेट खेल्दा यस्ता कुनै नीति वा निर्णय थिएनन्। यो निर्णय आउने नयाँ पुस्ताका लागि एकदमै राम्रो सुरुवात हो।’
क्यानले बजेट त छुट्याएको छ, तर त्यसको कार्यान्वयन र खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाउने विषय भने अझै चुनौतीपूर्ण छ। पछिल्लो समय महिला क्रिकेट केही चलायमान भएको र विभिन्न शृंखलाहरूमा सहभागिता जनाइरहेको भए पनि त्यो अझै पर्याप्त छैन।
महिला क्रिकेट खेलाडीलाई निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव दिलाउनु नै क्यानको मुख्य दायित्व हुनेछ। ‘हामीले कम्तीमा पनि वर्षभरि महिला क्रिकेटलाई निरन्तर चलायमान बनाउन यो सुरुवात गरेका हौं,’ प्रवक्ता लामाले भने।
प्रकाशित: २५ चैत्र २०८२ २२:०२ बुधबार




