२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

देश खेल्दा गुम्ने अवसर

राजनीतिक कारणले क्वार्टरफाइनलका आठमध्ये दुईवटा राष्ट्र फाइनल पुगेमा इङ्लिस रेफ्री माइकल ओलिभर विश्वकप उपाधि भिडन्तमा रेफ्री बन्नबाट वञ्चित हुन सक्छन् ।

ओलिभर उत्तरी अमेरिकामा भएको विश्वकपका लागि फिफाले छनोट गरेका ५२ रेफ्रीमध्ये एक हुन्। विश्वकपमा इङ्ल्यान्डका अर्का हुन्, रेफ्री एन्थोनी टेलर। टेलरले पनि अहिले भएकामध्ये दुईवटा राष्ट्र फाइनल पुगेमा रेफ्री गर्न पाउने छैनन्। ओलिभरले बेल्जियमविरुद्ध स्पेनको क्वार्टरफाइनल खेल सञ्चालन गर्नेछन्। यो खेल उनको यस विश्वकपको अन्तिम जिम्मेवारी पनि बन्न सक्छ।

विश्वकपमा आफ्नै देशको खेल सञ्चालन गर्न रेफ्रीलाई अनुमति नहुने भएकाले उनी इङ्ल्यान्डको कुनै पनि खेलमा रेफ्री बन्न सक्दैनन्। इङ्ल्यान्ड विश्वकपको अर्को ब्राकेटमा रहेको छ। ओलिभरले दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाको खेल पनि सञ्चालन गर्न पाउने छैनन्। यसको कारण बेलायत र अर्जेन्टिनाबीच फकल्यान्ड टापुसम्बन्धी लामो समयदेखि रहेको राजनीतिक तथा भूराजनीतिक विवाद हो।

सन् १९८२ मा अर्जेन्टिनी सेनाले फकल्यान्ड टापुमा आक्रमण गरी नियन्त्रणमा लिएपछि बेलायत र अर्जेन्टिनाबिच १० सातासम्म फकल्यान्ड युद्ध चलेको थियो। ७४ दिनसम्म चलेको युद्ध १९८२ को जुन १४ मा अर्जेन्टिनाले आत्मसमर्पण गरेपछि समाप्त भएको इतिहास छ। त्यसपछि फकल्याण्ड टापु पुनः बेलायती नियन्त्रणमा फर्किएको थियो।

 यस युद्धमा अर्जेन्टिनाका ६४९ सैनिक मारिएका थिए। बेलायतका २५५ सैनिकको ज्यान गएको थियो। साथै सात सय ७७ बेलायती सैनिक घाइते भएका थिए। तीन बेलायती सर्वसाधारणको पनि मृत्यु भएको फकल्यान्ड युद्ध हो। अहिलेसम्म पनि अर्जेन्टिनाले फकल्यान्ड टापुमाथिको बेलायती सार्वभौमिकतालाई स्वीकार गरेको छैन।

त्यसमाथि अर्जेन्टिनाको दाबी कायम राखेको छ। सन् २०१३ मा भएको जनमतसंग्रहमा फकल्यान्डका बासिन्दाले ९९.८ प्रतिशत मतका साथ बेलायती विदेशी भूभागकै रूपमा रहन समर्थन गरेका थिए। कुल एक हजार ५१३ जनाले समर्थनमा मतदान गरेका थिए। तीन जनाले विरोध जनाए। कुल एक हजार ६५० दर्ता मतदातामध्ये ९२ प्रतिशतले मतदान गरेका थिए।

इङ्ल्यान्ड र अर्जेन्टिनाबिच फुटबल अझै पनि निकै संवेदनशील मानिन्छ। यसको उदाहरण मंगलबार विश्वकपको अन्तिम १६ मा इजिप्टलाई ३–२ ले पराजित गरेपछि केही अर्जेन्टिनी खेलाडीले फकल्यान्डसँग सम्बन्धित गीत गाएको घटनालाई लिइएको छ ।

फाइनलमा कुन–कुन रेफ्रीको अवसर गुम्न सक्छ?

इङ्ल्यान्ड र साबिक विजेता अर्जेन्टिना दुवै सेमिफाइनलमा पुगे भने उनीहरू एकअर्कासँग भिड्नेछन्। त्यस्तो अवस्थामा माइकल ओलिभर र एन्थोनी टेलर दुवै स्वतः न्यु जर्सीमा हुने विश्वकप फाइनल खेल सञ्चालन गर्न अयोग्य हुने प्रावधान छ।

यही नियम अर्जेन्टिनाका रेफ्री याएल फाल्कोन पेरेज, डारियो हेरेरा र फाकुन्डो टेल्लोमा पनि लागू हुनेछ। टेलरले यस विश्वकपमा हालसम्म तीन खेल सञ्चालन गरिसकेका छन्। त्यसमा सोमबार भएको अन्तिम १६ अन्तर्गत स्पेनले पोर्चुगललाई १–० ले हराएको खेल पनि समावेश छ।

द टाइम्सले २०२२ मा प्रकाशित गरेको रिपोर्टअनुसार अर्जेन्टिना फाइनलमा पुगेको अवस्थामा फिफालाई टेलरको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने चिन्ता थियो। त्यस बेला अर्जेन्टिनी खेलाडीले फाइनलअघि फकल्यान्डसम्बन्धी विवादास्पद नारा पनि गाएका थिए। फ्रान्स र मोरक्कोबिचको क्वार्टरफाइनल खेल फाकुन्डो टेल्लोले सञ्चालन गरे।

विश्वकप इतिहासमै पहिलोपटक एउटै देशका सम्पूर्ण अफिसियलले खेल सञ्चालन गरेका हुन्। टेल्लोसँगै सहायक रेफ्रीका रूपमा जुआन पाब्लो बेलाट्टी र गाब्रिएल चाडे, चौथो अफिसियलका रूपमा डारियो हेरेरा तथा रिजर्भ अफिसियलका रूपमा क्रिस्टियन नाभारो थिए। याएल फाल्कोन पेरेजले यसअघि समूह चरणका दुई खेल र अन्तिम ३२ अन्तर्गत स्विट्जरल्यान्ड तथा अल्जेरियाबिचको खेल सञ्चालन गरिसकेका छन्। हेरेराले हालसम्म बेल्जियम र इरानबिचको समूहचरणको एक खेल खेलाएका थिए। आफ्नो देश अझै विश्वकपमा रहेकाले फाइनल गुम्न सक्ने अन्य रेफ्रीमा नर्वेका एस्पेन एस्कास, स्पेनका अलेजान्द्रो हेर्नान्डेज, मोरक्कोका जलाल जायद, फ्रान्सका फ्रान्स्वा लेटेक्सिए र क्लेमेन्ट टुर्पिन र स्विट्जरल्यान्डका सान्द्रो साएरर छन्।

प्रकाशित: २६ असार २०८३ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App