नेपालले ओमान र संयुक्त अरब इमिरेट्स युएईसँग भएको त्रिकोणात्मक सिरिजको चार खेलमध्ये तीनमा जित हासिल गरेको छ।
मङ्गलबार घरेलु मैदानमा भएको नेपाल-युएई-ओमानबीचको आईसीसी विश्वकप लिग-२ मा नेपालले ओमानलाई हराउँदै यो सिरिजको सुखद अन्त्य गरेको छ।
त्रिवि क्रिकेट मैदानमा यस सिरिज अन्तर्गतको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको नेपालले जारी लिग-२ को चक्रमा १८ अंक जोडेको छ।
नेपालले युएईलाई दुवै खेलमा पराजित गर्दा ओमानले नेपाललाई डिएलएस मेथडबाट पराजित गरेको थियो।
समग्रमा नेपालले यो सिरिजमा मिश्रित प्रदर्शन गरेको छ। ओमानसँगको खेल सकिँदा नेपालले लिग चक्रमा कुल २४ खेल खेलेको छ, जहाँ १४ खेलमा पराजित भोग्दा ८ खेलमा जित हासिल गर्दै तालिकाको सातौँ स्थानमा यथावत नै रहेको छ।
सुरुवाती खेलमा फितलो प्रदर्शन
नेपालले यस लिगको सिरिज अन्तर्गत गत वैशाख १२ गते युएईसँग पहिलो खेल खेल्यो। पहिलो दुई खेलमा नेपालले फितलो प्रदर्शन गरेको थियो। युएईसँगको पहिलो खेलमा ब्याटिङ कोल्यााप्स हुँदा नेपाल २०० रनमै समेटिएको थियो।
यद्दापि, नेपालले त्यस खेलमा युएईलाई पराजित गरेको थियो। शीर्ष क्रमका ब्याट्सम्यान मैदान छाडेका बेला खेलको ब्याटिङ लाइन नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले सम्हालेका थिए।
स्कोरबोर्डमा रन जोड्न संघर्ष गरिरहेको नेपालको लागि त्यस खेलमा बलिङले इज्जत ढाकेको थियो। खेलपछि पत्रकारहरूसँग कुरा गर्दै कप्तान रोहित पौडेलले ब्याटिङमा राम्रो प्रदर्शन नगरेको बताएका थिए।
दिपेन्द्रको संयमित ब्याटिङले त्यस खेलमा नेपालको ब्याटिङ सम्हालेको थियो। त्यसपछि ओमानसँग खेलेको खेलमा भने नेपालको बलिङ लाइन धरापमा पर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले नेपाल सामु ३०६ को बलियो लक्ष्य खडा गरेको थियो।
ब्याटिङमा सधैँ संघर्ष गरिरहने नेपालको लागि त्यस खेलमा ओमानका ब्याट्सम्यान नेपाली बलरमाथि हावी भए। ओमानले ८० रन बनाइसक्दा पनि नेपालले विकेट हात पार्न सकेको थिएन।
त्यसै खेलमा पुनः एकपटक नेपालको ब्याटिङ फेरि ध्वस्त भयो। त्यस खेलमा पनि दिपेन्द्र मात्र चल्न सके। वर्षा बाधक बनिरहेको खेल स्थगित हुनु अघि नेपालले ७ विकेट गुमाएर मात्र १५५ रन बनाएको थियो।
डिएलएस मेथडबाट ओभर घटाउँदा नेपालले ओमानबाट २५७ रनको लक्ष्य प्राप्त गरेको थियो। ब्याटिङ नचल्दा नेपालले ओमानसँग १०२ रनको फराकिलो हार व्यहोरेको थियो।
दुई सन्तोषजनक खेल
नेपाल–युएईबीचको खेललाई एसोसिएट राष्ट्रको ‘एल क्लासिको’ रुपमा हेरिएको छ। यी दुई टोलीबीच खेल सधैं रोमान्चक हुने गर्छ। यसै सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा युएईसँग भेट गरी ६ रनको साँघुरो जित हासिल गर्यो।
त्यस खेलमा भने नेपालले सन्तोषजनक खेल्यो। धरापमा परिरहने नेपालको ब्याटिङ लाइन सम्हालिएकाे थियो। नियमित ओपनर कुशल भुर्तेल र आशिफ शोख बाहिर रहदा अर्जुन कुमालले पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यू गरे, साथै विनोद भण्डारी टोलीमा पुनः फर्किए। त्यस पुनरागमन खेलमा विनोदले उत्कृष्ट अर्धशतक प्रहार गर्दै नेपालको ब्याटिङलाई आफनो काँधमा लिए।
साथै, दिपेन्द्रले शतक प्रहार गर्दै नेपालका लागि मेरुदण्डको भूमिका निर्वाह गरे। अन्य दुई खेल हेर्दा पनि त्यस खेलमा नेपालले ब्याटिङतर्फ सन्तोषजनक प्रदर्शन गर्यो। ७ विकेट गुमाएर नेपालले २८९ रन बनाएको थियो, बल्लिङतर्फ पनि नेपालले खेल आफनो पक्षमा पार्न सफल भयो।
अघिल्लो खेलमा फराकिलो हार व्यहोरेको नेपालले ओमानलाई ८१ रनले हरायाे। यो खेलमा नेपाली टोली सन्तुलित देखियो। अलआउट हुँदै २५६ रन बनाएको नेपालले मङ्गलबारको खेलमा ब्याटिङमा धुम मच्चायो। आशिफ शेख, अर्जुन कुमाल र आरिफ शेखले तारिफयोग्य प्रदर्शन गरे। आशिफ र अर्जुनले १२३ रनको पार्टनरशिप गरेर नेपालको ब्याटिङ लाइन सम्हाले।
सधैं सस्ताेमै समेटिने नेपाली ब्याट्सम्यान यस खेलमा क्रिजमा केही समय टिके। सातौँ नम्बरमा मैदान प्रवेश गरेका आरिफले उत्कृष्ट प्रदर्शन गरे। जितको अत्यावश्यक खेलमा ओमानको ब्याटिङ लाइन ध्वस्त पार्न नेपालका गुलशन झा अग्रसर रहे। ५ विकेट लिएर उनले ओमानलाई नियन्त्रणमा राखे।
यी चारै खेलमा नेपाली टोलीले मिश्रित प्रदर्शन गर्यो।
गुलशनको कमब्याक र अर्जुनले देखाएको आशा
पछिल्लो समय फ्लप हुँदै आएका नेपालका अलराउन्डर गुलशन झाले ओमानविरुद्ध उत्कृष्ट पुनरागमन गरे। ५ विकेट लिएर उनले आफूलाई फेरि अब्बल सावित गरे।
पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गर्न नसकेका उनी कुनै खेलमा पहिलो रोजाइमा परेका थिएनन्। तर, जित आवश्यक परेको खेलमा उनी नेपालको प्रमुख हतियार बने।
क्रिजमा टिक्न नसक्नु पछिल्लो समय उनको कमजोरी बनेको थियो। ५ विकेट लिएपछि पत्रकारहरूसँग उनले टोलीका लागि योगदान दिन पाउँदा खुसी लागेको बताए। 'म सधैं खुसी हुन्छु टोलीको लागि योगदान दिन पाउँदा। हाम्रो योजना यही थियो कि यो सिरिजमा सबै खेल जित्ने, तर एक खेलमा पराजित हुन पुग्यौँ।,' गुलशनले भने, 'टोलीलाई आवश्यक परेको बेला योगदान दिन पाउँदा गर्व महसुस हुन्छ।'
यी चारै खेलमा उनले युएईविरुद्ध भएको दोस्रो खेलमा ४३ रनको योगदान बाहेक ब्याटिङतर्फ स्मरणीय प्रदर्शन भने गरेका छैनन्।
नेपालका युवा ब्याट्सम्यान अर्जुन कुमालले नेपाली टोलीबाट आशा देखाएका छन्। ओमान र युएईसँगको दोस्रो खेलमा उनले तारिफयोग्य प्रदर्शन गरे। पहिलो डेब्यू खेलमा ११ रनमा आउट भए पनि दोस्रो खेलमा संयमित ब्याटिङ गर्दै ४८ रन बनाए।
पछिल्लो समय नेपाली क्रिकेटप्रेमीको ध्यान तान्न सफल भएका उनले नेपालको ओपनिङमा आशा देखाएका छन्। अर्जुनको बारेमा गुलशनले टोलीका अन्य खेलाडीहरूले उनलाई साथ र हौसला दिनुपर्ने बताए।
पछिल्लो समय अर्जुनले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। उनी हालै सम्पन्न प्रधानमन्त्री क्रिकेट कपका सबैभन्दा बढी रन बनाउने खेलाडी पनि हुन्।
प्रकाशित: २३ वैशाख २०८३ १२:५९ बुधबार




