रारा ताल वरिपरि आयोजित छैटौँ रारा ट्रेल रन प्रतियोगितामा जुम्लाका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै पुरुष र महिला दुवै विधाको उपाधि जितेका छन्। खेलकुद, पर्यटन प्रवर्द्धन र स्थानीय संस्कृतिको संगमका रूपमा स्थापित हुँदै गएको यस प्रतियोगिताले यस वर्ष पनि कर्णालीको खेल प्रतिभा उजागर गरेको छ।
१६ किलोमिटर दूरीको मुख्य ट्रेल रनमा पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर पहिलो भए। उनले निर्धारित दूरी १ घण्टा १५ मिनेटमा पूरा गर्दै उपाधि हात पारे। दोस्रो स्थान जुम्लाकै राज बुढाले हासिल गरे भने तेस्रो स्थान मुगुका अक्कल बढुवालले प्राप्त गरे। पुरुषतर्फको प्रतिस्पर्धामा जुम्लाका धावकहरूको निरन्तर अग्रता देखिएको थियो।
महिलातर्फ पनि जुम्लाकै धाविकाहरूको दबदबा कायम रह्यो। सुनमाया बुढाले १ घण्टा १३ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। दोस्रो स्थान जुम्लाकै राममाया बुढाले हात पारिन् भने त्रिभुवन आर्मी क्लब की सुन्सरी रोकाया तेस्रो भइन्। अन्य जिल्लाका खेलाडीहरूले कडा चुनौती दिए पनि शीर्ष स्थानमा भने जुम्लाकै कब्जा रह्यो।
यसैगरी, ५ किलोमिटर रन फर फन अन्तर्गत पुरुषतर्फ देबीराज रोकाया पहिलो र सुशील बिक दोस्रो भए। महिलातर्फ मनिषा रावल पहिलो तथा पुष्पा रोकाया दोस्रो स्थानमा रहिन्। छोटो दूरीको दौडमा पनि स्थानीय खेलाडीहरूको उल्लेखनीय प्रदर्शन देखिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्। यस वर्षको प्रतियोगितामा कुल ४ सय ७ जना धावक–धाविकाले सहभागिता जनाएका थिए। १६ किलोमिटर ट्रेल रनमा ३ सय १२ पुरुष र ४९ महिला सहभागी भए भने ५ किलोमिटर दौडमा ३१ पुरुष र १५ महिला सहभागी थिए।
कार्यक्रममा नेपाली सेना ले खुकुरी नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति दिएको थियो भने लोक तथा दोहोरी गीत प्रतिष्ठान, मुगु ले स्थानीय कला–संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेको थियो। यसले खेलकुदसँगै मुगुको सांस्कृतिक पहिचानलाई पनि एकै मञ्चमा उजागर गरेको देखियो।
प्रतियोगिताको उद्घाटन उत्तर–पश्चिम पृतनापति दीपकजंग शाह र प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले संयुक्त रूपमा गरेका थिए। नेपाली सेनाले विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको यो प्रतियोगिताले युवापुस्तामा खेलप्रतिको आकर्षण बढाउनुका साथै कर्णालीलाई खेल पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा चिनाउन योगदान पुर्याउँदै आएको छ।
१८ देखि ४५ वर्ष उमेर समूहका धावक–धाविकाका लागि मुख्य ट्रेल रन तथा १० देखि ६० वर्ष उमेर समूहका लागि ‘रन फर फन’ समावेश गरिएको प्रतियोगिताले नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउने अपेक्षा पनि गरिएको छ।
रारा क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्यसँग जोडिएको यो प्रतियोगिताले दुर्गम क्षेत्रमै खेल प्रतिभा उत्पादन, पर्यटन प्रवर्द्धन र राष्ट्रिय–अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ।
प्रकाशित: ३० वैशाख २०८३ १६:४१ बुधबार





