२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

एन्फा-राखेप द्वन्द्वको असर : अन्योलमा महिला साफ च्याम्पियनसिप

नेपाली राष्ट्रिय महिला फुटबल टोली आगामी महिनाबाट हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारीमा जुटेको छ।

भारतको गोवामा हुने उक्त च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत मंगलबार ३५ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ। साफले पनि ६ टोलीको सहभागिता रहने उक्त च्याम्पियनसिपको तालिका निकालिसकेको छ।

नेपाली महिला फुटबल टोलीको साफ च्याम्पियनसिपसँग निकै गहिरो नाता छ, तर यो गहिरो नाता रहेको टोली अहिले निकै संकटमा छ। सधैँ उपाधि जित्न मैदानभित्र लडिरहेको टोलीको यो पटकको लडाइँ मैदानबाहिरबाट नै सुरु भएको छ।

नेपालले साफ खेल्ने वा नखेल्ने वैशाख २१ पछि मात्र थाहा हुनेछ। यो अवस्थामा नेपाली टोली राजनीतिको चपेटामा फसेको छ। समूह ‘ए’ मा परेको नेपालले भुटान र श्रीलंकासँग समूह चरणका खेल खेल्ने तालिका छ। नेपालले पहिलो खेल भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

राजनीतिक चपेटामा फसेको महिला टोली

गत चैत ११ गते राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गर्‍यो। जसको प्रत्यक्ष र ठूलो असर नेपाली महिला राष्ट्रिय टोलीमाथि परेको छ।

साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्य सधैँ राखेको टोलीका लागि यसपटक उपाधि नजित्नु भन्दा पनि गहिरो चोट लागेको छ। तीन महिनाको निलम्बनका कारण यही महिनामा नेपाली टोलीले खेल्ने तय भएको फिफा सिरिजअन्तर्गतका खेल गुमायो। तर, त्यो सिरिज गुमाएको घाउ निको हुन नपाउँदै उनीहरूमाथि अर्को चुनौती थपिएको छ।

गत बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० र एसियाली फुटबल महासंघ ९एएफसी० ले एन्फाको आन्तरिक मामिलामा राखेपबाट अनुचित बाह्य हस्तक्षेप भएको निष्कर्ष निकालेका थिए।

जसमा फिफाले नेपाली मितिअनुसार वैशाख २१ सम्म आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ। तर, सोही पत्र लिएर एन्फाका पदाधिकारी राखेपमा पुगेका थिए।

दुई पक्षबीच त्यस दिन कुनै पनि निष्कर्ष निस्किएन। जसले गर्दा नेपालले साफ महिला च्याम्पियनसिप गुमाउने खतरा बढेको छ। राखेपले एन्फाको जारी निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधान संशोधन गर्न र जिल्ला फुटबल संघहरूलाई आफ्नो विधान र साधारणसभा संशोधन गर्न निर्देशन दिएको थियो।

त्यसपश्चात एन्फाले राखेपको आदेश नमानेको भन्दै तीन महिनाको निलम्बनमा एन्फा परेको हो। जसको असर नेपाली महिला फुटबलमा परेको छ। एन्फासँग यस विषयमा छलफल भइरहेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताए। 'हामी यस विषयमा एन्फासँग छलफलमै छौँ, यसको लागि हामीले छलफल गरिरहेका छौँ,' सदस्यसचिव मेहताले नागरिकन्युजसँग भने, 'यसका लागि हामीसँग केही समय बाँकी छ।'

यसका बाबजुद पनि नेपाली टोलीले सोमबारबाट सातदोबाटोस्थित एन्फाको मुख्यालयमा बन्द प्रशिक्षणको सुरुआत गरेको छ। तर, बन्द प्रशिक्षण र खेल तालिका सार्वजनिक भएता पनि नेपालले खेल्ने वा नखेल्ने भन्नेमा टोली अन्योलमा छ।

यी बाहेक पनि वैशाख २१ सम्म यी दुई पक्षबीच वार्ताको टुंगो नलागे फिफाले एन्फालाई निलम्बन गर्ने चेतावनी दिएको छ। 'हामीले फिफाबाट आएको पत्र गत बिहीबार राखेपलाई बुझाएपछि उहाँहरूसँग हामीले एक चरण छलफल गरेका छौँ,' एन्फाका महासचिव किरण राईले भने, 'हामी यस विषयमा उहाँहरूसँग अझै छलफल गर्नेछौँ।'

पछिल्लो समय नेपाली फुटबल जगतमा नेपाली राष्ट्रिय महिला टोलीले निकै आशलाग्दो प्रदर्शन गर्दै आइरहेका छन्। एएफसी एसियन कप छनोट होस् वा अन्य प्रतियोगिताहरू, उनीहरूले आफूलाई बलियो रूपमा खडा गरेका छन्।

तर, सधैँ साफ च्याम्पियनसिप जित्ने लक्ष्य बोकेर उपाधिको दाबेदारी दिँदै आइरहेको टोलीका लागि यो पटक साफको ढोका नै बन्द हुने स्थिति सिर्जना भएको छ। वैशाख २१ आउन निकै कम समय बाँकी छ, यस्तो अवस्थामा एउटा टुंगो लाग्नु जरुरी छ।

साफमा सधैँ अभागी बन्दै आइरहेको नेपाली टोली

नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा ६ पटक पुगेको छ। साफको उपाधिको बलियो दाबेदारी दिँदै आइरहेको नेपाल फाइनलमा त पुग्छ, तर सधैँ उपविजेता नै रहन्छ।

यसअघि २ वर्षअघि घरेलु मैदानमा भएको च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बङ्गलादेशसँग पराजित हुँदै स्तब्ध बनेको थियो। नेपालले सन् २०१० मा भारतसँग १-० ले पराजय भोगेर उपविजेता भएको थियो। त्यस्तै, सन् २०१२ मा भारतसँग ३-१ तथा २०१४ मा पुनः भारतसँगै ६-० ले पराजित हुँदै नेपाल दोस्रो भयो।

यता, सन् २०१९ मा फेरि भारतसँग ३-१ ले फाइनलमा हारेको नेपाल बङ्गलादेशसँग सन् २०२२ र २०२४ मा हार्दा साफमा उपविजेता बनेको थियो।

यो अवस्था हेर्दा साफमा नेपाली टोली निकै अभागी ठहर हुँदै आइरहेको छ। एक कदमले मात्र पछि परिरहने नेपाल सधैँ रित्तै फर्किन्छ। तर, यसपटक पनि नेपालको लक्ष्य उही नै हो - साफ च्याम्पियनसिप जित्ने।

तर, सधैँ रहेको त्यो इतिहास तोड्न नेपालले त्यो मौका पाउने वा नपाउने निश्चित छैन। यदि उनीहरू साफ खेल्न नपाएमा उनीहरूको साफ जित्ने लक्ष्य टुट्नेछ, र यदि साफ खेल्ने बाटो खुलेमा उनीहरूले पुनः आफूलाई उपाधिको हकदारका रूपमा खडा गर्नेछन्।

प्रकाशित: १४ वैशाख २०८३ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App