तिहार र छठ पर्वको अवसरमा जुम्लामा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।
‘खेलकुदमार्फत युवा एकता र सामाजिक समृद्धि’ भन्ने नाराका साथ चन्दननाथ नगरपालिका–३ मा सोमबारदेखि सुरु भएको प्रतियोगितामा ४४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले प्रतियोगिताको उद्घाटन गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवामा ऊर्जा भर्नुका साथै सामाजिक सद्भाव बलियो बनाउने उल्लेख गरे।
‘स्थानीय स्तरमा यस्ता प्रतियोगिताहरू नियमित हुन आवश्यक छ,’ उनले भने।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उप-विजेता टोलीले ५० हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ।
उद्घाटन खेलमा आयोजकको सहज जित
सोमबार भएका उद्घाटन खेलहरूमा आयोजक र गुठिचौरको टोली विजयी भएका छन्। पहिलो खेलमा आयोजक चन्दननाथ–३ ले ढाणथपला युवा क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्दननाथका अभिषेक बुढथापा ‘म्यान अफ द म्याच’ घोषित भए।
दोस्रो खेलमा गुठिचौर गाउँपालिकाको फोइकालिका एफसी युवा क्लबले सिद्धगुफा युवा क्लबमाथि ५–० को एकतर्फी जित निकाल्यो। उक्त खेलमा फोइकालिकाका धर्म परियार ‘म्यान अफ द म्याच’ चुनिए।
प्रतियोगिताका संयोजक राजबहादुर खत्रीले जुम्लामा फुटबलप्रति युवाको आकर्षण बढेकाले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यसैगरी, वडाध्यक्ष रतन खत्रीले प्रतियोगिता केवल प्रतिस्पर्धा नभई युवाहरूलाई आफ्नो खेल कौशल देखाउने अवसर भएको बताए।
गुठिचौरदेखि तातोपानी गाउँपालिकासम्मका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: ३ कार्तिक २०८२ २२:१० सोमबार





