१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई ट्वान्टी-२० विश्वकप उपाधि

पाकिस्तानविरुद्ध फाइनलमा जित हासिल गरेपछि आइसिसी ट्वान्टी-२० क्रिकेट विश्वकप ट्रफीका साथ इङ्ल्यान्डका खेलाडी। तस्बिर: एपी

बेन स्टोक्स र साम कुरानको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आइसिसी ट्वान्टी-२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।

इङ्ल्यान्डले सन् २०१९ मा घरेलु मैदानमा न्युजिल्यान्डलाई हराउँदै एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो। मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य इङ्ल्यान्डले १ ओभरमा बाँकी रहँदै मात्र ५ विकेटको क्षतिमा पूरा गरेको थियो।

मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य इङ्ल्यान्डले १ ओभरमा बाँकी रहँदै मात्र ५ विकेटको क्षतिमा पूरा गरेको थियो।

७ रन जोड्दा ओपनर एलेक्स हेल्सलाई गुमाएको इङ्ल्यान्डले ३२ रनमा फिल साल्टलाई गुमाएको थियो। थप १३ रन जोड्दा इङल्यान्डले कप्तान जस बट्लरलाई समेत गुमायो। ५.३ ओभरमा ४५-३ को स्थितिमा रहेको इङ्ल्यान्डको इनिङलाई स्टोक्सले सम्हालिएको ब्याटिङ गर्दै उकासेका थिए।

स्टोक्सले चौथो विकेटका लागि ह्यारी ब्रुकसँग ३९ रनको साझेदारी गरेका थिए। ब्रुकले २३ बलमा १ चौकाको मद्दतमा २० रन जोडे। पाँचौं विकेटका लागि स्टोक्सले मोइन अलीसँग ४८ रनको साझेदारी गर्दैै इङ्ल्यान्डको सहज जित पक्का गरेका थिए।

स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ५२ रन जोड्दा अलीले १२ बलमा ३ चौकाको मद्दतमा १९ रन जोडे। पाकिस्तानका हरिस रौफले २ तथा साडाब खान, मोहम्मद वासिम र साहिन शाह अफ्रिदीले समान १ विकेट लिए।

इङ्ल्यान्डले ट्वान्टी २० विश्वकप क्रिकेटको उपाधि जितेको यो दोस्रो पटक हो। सन् २०१० मा अस्ट्रेलियालाई हराउँदै ट्वान्टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको इङ्ल्यान्ड सन् २०१६ को फाइनलमा भने वेस्ट इन्डिजसँग निराश भएको थियो।

‘पाकिस्तानलाई एक सय ३० रनको आसपासमा रोक्नु नै हाम्रो जितको कारक थियो। साम कुरान र आदिल रासिदले उत्कृष्ट बलिङ गरे,’ स्टोक्सले भने, ‘लगातार दोस्रो पटक इङ्ल्यान्डको विश्वकप यात्राको मुख्य खेलाडी हुन पाउँदा निकै खुसी छु।’

यता पाकिस्तान भने सन् २००९ पछि पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो। सन् २००७ मा सम्पन्न पहिलो संस्करणको ट्वान्टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतसँग पराजित भएको पाकिस्तानले सन् २००९ मा भारतलाई नै हराउँदै ट्वान्टी-२०विश्वकप क्रिकेटको उपाधि जितेको थियो।

यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रनको योगफल खडा गरेको थियो।

पाकिस्तानका लागि सान मन्सुदले २८ बलमा २ चौका र १ छक्काको मद्दतमा ३८ रन जोडे भने कप्तान बाबर आजमले २८ बलमा २ चौकाको मद्दतमा ३२ रन जोडे। त्यस्तै साडाब खानले १४ बलमा २ चौकाको मद्दतमा १० रन जोडे। १६ ओभरको समाप्तिमा १२१-४ को स्थितिमा रहेको पाकिस्तानले अन्तिम २४ बलमा मात्र १६ रन जोडेको थियो भने ४ विकेट गुमाएको थियो।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी साम कुरानले ४ ओभरमा १२ रन खर्चदै ३ विकेट लिए। त्यस्तै रासिद र क्रिस जोर्डनले समान २ विकेट लिए। स्टोक्सले १ विकेट लिए।

प्रकाशित: २८ कार्तिक २०७९ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App