२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ट्वान्टी-२० विश्वकप क्रिकेट २०२२: भारतको लज्जास्पद हार

भारतलाई पराजित गरेपछि इङ्ल्यान्डका ओपनरद्वय जस बट्लर (बायाँ) र एलेक्स हेल्स। तस्बिर: एपी

ओपनर एलेक्स हेल्स र जस बट्लरको अर्धशतक प्रेरित इङल्यान्डले बिहीबार भारतमाथि १० विकेटको रबाफिलो जितसहित आइसिसी ट्वान्टी-२० क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

एडिलेड ओभलमा भारतले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य इङल्यान्डले ४ ओभरअगावै बिनाविकेट क्षतिमा भेट्टाउँदै पाकिस्तानसँग आइतबार हुने फाइनल भेट पक्का गरेको थियो। पाकिस्तानले बुधबार न्युजिल्यान्डलाई ७ विकेटले निराश पार्दै १३ वर्षपछि ट्वान्टी २० विश्वकपको फाइनलमा स्थान बनाएको थियो।

गत संस्करणमा इङ्ल्यान्ड सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएको थियो। यता पाकिस्तान भने अस्ट्रेलियासँग सेमिफाइनलमा निराश भएको थियो। अस्ट्रेलियाले गत संस्करणमा न्युजिल्यान्डलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो।

इङ्ल्यान्ड सन् २०१६ पछि पहिलो पटक ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो। सन् २०१६ मा भारतमा सम्पन्न ट्वान्टी-२० विश्वकपमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई नतिजा सुम्पिएको थियो। इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई पराजित गर्दै ट्वान्टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो। सन् २००७ को पहिलो संस्करणको विजेता भारत पछिल्लोपटक सन् २०१४ मा फाइनल प्रवेश गरे पनि श्रीलंकासँग पराजित भएको थियो।

इङ्ल्यान्डका लागि हेल्स र बट्लरले पहिलो विकेटका लागि अविजित १ सय ७० रनको साझेदारी गरे। ट्वान्टी-२० क्रिकेटमा पहिलो विकेटका लागि भएको यो अहिलेसम्मकै सर्वाधिक रनको साझेदारी हो। गत संस्करणमा भारतमाथि १० विकेटको जित निकाल्ने क्रममा पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले अविजित १ सय ५२ रनको साझेदारी गरेका थिए। हेल्सले ४७ बलमा ४ चौका र ७ छक्काको मद्दतमा अविजित ८६ रन जोड्दा कप्तान बट्लरले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

सुपर १२ मा आयरल्यान्डसँग स्तब्ध भएसँगै इङ्ल्यान्डको चर्को आलोचना भएको थियो। बट्लर टोली एक हारले निराश नहुँदा फाइनलसम्मको यात्रा तय गर्न सफल भएको बताउँछन्। ‘हामीले सुपर १२ मा आयरल्यान्डलाई नतिजा सुम्पियौ, तर टोली एक हारबाट निराश भएन,’ बट्लरले भने, ‘स्वाभाविक लय कायम राख्दा आज फाइनलको टिकट काट्न सफल भयौं। टोलीको मिहिनेत नै हाम्रो फाइनल यात्राको सूत्र हो। आज भारतविरुद्ध हामीले बलिङ, फिल्डिङ र ब्याटिङ गरी तीनै पक्षमा अब्बल प्रदर्शन गर्‍यौं।’

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रनको योगफल खडा गरेको थियो। भारतका लागि हार्दिक पाण्ड्याले ६३ र विराट कोहलीले ५० रनको योगदान गरे। नौ रन जोड्दा ओपनर केएल राहुललाई गुमाएको भारतको इनिङ दोस्रो विकेटका लागि कप्तान रोहित शर्मा र कोहलीले ४७ रनको साझेदारीका साथ उकास्ने प्रयास गरेका थिए। ५६ रन जोड्दा २७ रन जोडेका शर्मालाई गुमाएको भारतले ७५ रनमा आक्रामक ब्याटर सूर्यकुमार यादवलाई पनि गुमायो। चौथो विकेटका लागि कोहली र पाण्ड्याले ६१ रनको साझेदारी गर्दै भारतलाई बलियो योगफलतर्फ डोर्‍याएका थिए।

पाण्ड्याले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दा कोहलीले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे। इङ्ल्यान्डका क्रिस जोर्डनले ३ तथा क्रिस ओक्स र आदिल रासिदले समान १ विकेट लिए।

प्रकाशित: २५ कार्तिक २०७९ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App