१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भेट्रान चेसमा बद्रीलाल च्याम्पियन

 नेपाल पूर्वच्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौं राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन्।  

पाँचौं चरणसम्म एकल अग्रता लिएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैटौं चरणमा हराउन सफल बद्रीलालले सातौं चरणका खेलमा जनार्दन श्रेष्ठसँग बराबरीको नतिजा आत्मसात गरे। तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले ५० वर्षमाथि उमेरसमूहमा पहिलो उपाधि जितेका हुन्। समग्रमा ५.५ अंक जोडेका बद्रीलाल बुकोल्स टाइ ब्रेकरका आधारमा च्याम्पियन भए। त्यससँगै उनले ५० हजार रुपैयाँ नगद प्राप्त गरे।  

नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा समान ५.५ अंक बनाएका फिडे मास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहे। राष्ट्रिय पूर्वच्याम्पियन विलमलालले छैटौं चरणमा रूपन्देहीका विजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई हराउँदै ३० हजार नगद हात पारे। अर्का राष्ट्रिय च्याम्पियन पुण्यमानले छैटौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए। तेस्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे।

स्पोर्ट्स एन्ड इभेन्ट्स नेपालको व्यवस्थापनमा पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनसिपमा  सोमबारका दुवै खेल गुमाएपछि नेपाल पूर्वच्याम्पियन नवीन तण्डुकार चौथो स्थानमा खुम्भिएका हुन् । उनले १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाँचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भए । त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैटौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल रहे । काठमाडौंका क्यान्डिडेट मास्टर भगवतीप्रसाद शर्मा, काठमाडांैकै पुराना खेलाडी सीताराम अग्रवाल तथा बाँकेका तीर्थबहादुर विक क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गर्न सफल भए।  

कुल ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, समृद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, समृद्धि फाइनान्सका सिइओ टीकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेललगायतले ट्रफी र मेडल वितरण गरे।

प्रकाशित: २१ कार्तिक २०७९ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App