५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

प्रथम ए.बि.सी एटए साईडको उपाधि फ्रिडम ढोलाहिटीलाई

उपाधिसहित फ्रिडम ढोलाहिटीका खेलाडीहरु। तस्बिर: उमेश पुन

प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको फ्रिडम ढोलाहिटीले जितेको छ। ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको शनिबार पोखराको अमरसिंह माविको खेलमैदानमा सम्पन्न फाइनलमा फ्रिडमले नाईटकिंग्स सानो गौचरनलाई २–० गोल अन्तरले पराजित गर्दै १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहितको उपाधि जितेको हो।  

अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल निकै प्रतिस्पर्धात्मक बन्ने अपेक्षा दर्शकले गरेका थिए। पहिलो हाफमै पाएको पेनाल्टीले फ्रिडमलाई अग्रताको लियो। ६ मिनेटमा सानो गौचरनका प्रदीप लामाले फ्रिडमका सरोज थापालाई लडाएपछि पेनाल्टीको अवसर पाएको थियो। कप्तान विजय गुरुङले गोल गर्दै अग्रता दिलाए।  

एक गोलले पछि परेको सानो गौचरनले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनबाट चुक्यो। खेलको २९ औं मिनेटमा तेजबहादुर गलामीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। उनको त्यो गोल नै प्रतियोगिताको अन्तिम गोल बन्न पुग्यो। उनलाई गोलको अवसर भने विजय गुरुङले मिलाइदिएका थिए।  

प्रतियोगितामा उपविजेता बनेको सानो गौचरनले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्यो। फाइनल खेलको म्यान अफ दि म्याचको पुरस्कार फ्रिडमका सरोज थापाले पाए। फ्रिडमका विजय गुरुङ सर्वोत्कृष्ठ खेलाडी घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। सर्वाधिक गोलकर्ताको पुरस्कार सानो गौचरनका राजन उप्रेतीले पाए। उत्कृष्ठ गोलकिपर फ्रिडमका मुकुन्द थापा मगर, उत्कृष्ठ डिफेण्डर फ्रिडमकै राजनलाल नेपाली, उत्कृष्ठ मिडफिल्डर फ्रिडमकै राजकुमार केसी र उत्कृष्ट प्रशिक्षक पनि फ्रिडमकै रविमान गुरुङ घोषित भए। उनीहरुले नगद जनही ५ हजार प्राप्त गरे।  

प्रतियोगितामा पूर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष खेम गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो। विजेता तथा उपविजेता खेलाडीहरुलाई कास्की जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष महेश गुरुङ, प्रतियोगिताका संयोजक एवं अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं १० का वडाध्यक्ष राजेश गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार सुनिल गुरुङ, पोखरा महानगरपालिका वडा नं १० का निवर्तमान वडाध्यक्ष राजकुमार गुरुङ लगायतले शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो।  

प्रकाशित: १९ कार्तिक २०७९ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App