८ वैशाख २०८१ शनिबार
खेल

सेमिफाइनल समीकरण थप रोचक

वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकामाथि ३३ रनको फराकिलो जित निकाल्दै पाकिस्तानले ग्रुप ‘टु’ को शीर्ष दुई टोलीका रूपमा सेमिफाइनल सम्भावना जीवितै राखेको हो।

सादवको उत्कृष्ट ब्याटिङ प्रेरणामा पाकिस्तानले एक सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफी लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिका ९ ओभरमा ६९/४ को अवस्थामा रहँदा वर्षाले खेल रोकियो। त्यसकारण डर्क वर्थ लुइस नियम (डिएल) का आधारमा दक्षिण अफ्रिकाले १४ ओभरमा एक सय ४२ रनको नयाँ लक्ष्य पायो। जसअनुसार एक खेलअगावै सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिकाले बाँकी पाँच ओभरमा ७३ रन जोड्नुपर्थ्यो। खराब मौसमका बाबजुद पाकिस्तानले राम्रो बलिङ गर्‍यो र दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा ९ विकेटको गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो।

दशौं ओभरमा बलिङ गर्न आएका सादव १४ रन खर्चिंदै महँगा साबित भए। त्यसपछि आएका साहिन साह अफ्रिदीलाई पनि तेस्रो र चौथो बलमा हेनरिच क्लासेनले लगातार चौका प्रहार गर्दै दबाब बनाउने प्रयास गरे। तर, साहिनले पाँचौं बलमा हेनरिकलाई १५ रनमा आउट गर्दै पाकिस्तानलाई खेलमा फर्काए। त्यसपछि क्रमशः १२औं र १३औं ओभरमा बलिङ गर्न आएका मोहम्मद वसिम र नसिम साहले कसिलो बलिङ गर्दै १/१ विकेट पनि लिए। यससँगै पाकिस्तानले एक ओभर बाँकी छँदा नै जित सुनिश्चित गर्‍यो।

अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई ४१ रन आवश्यक थियो, जुन असम्भव नै थियो। यो जितपछि पाकिस्तानको सेमिफाइनल सम्भावना जीवन्त रह्यो। त्यसका लागि अन्तिम खेलमा बंगलादेशलाई हराउँदा भारत र दक्षिण अफ्रिकाको खेलको नतिजामा पनि भर पर्नुपर्नेछ। यो समूहमा समान एक खेल बाँकी छँदा भारत ६ अंक, दक्षिण अफ्रिका ५ अंक र पाकिस्तान ४ अंकसहित शीर्ष तीनमा छन्।

अन्तिम खेलमा हारले यी तीनै टोलीको सेमिफाइनलको यात्रामा धक्का पुग्छ। यद्यपि, पाकिस्तान र दक्षिण अफ्रिकामध्ये एकको हार हुँदा भारत पराजित भए पनि सेमिफाइनलमा पुग्नेछ। त्यसअघि इफ्तिखर अहमद र सादव खानको ८२ रनको साझेदारीमा पाकिस्तानले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। पाकिस्तान ४३/४ को नाजुक अवस्थामा हुँदा ब्याटिङ गर्न आएका इफ्तिखरले ३५ बलमा ५१ रन जोडे। सादवले पनि २२ बलमा ५२ रनको आक्रामक इनिङ खेले।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलरले शीर्ष क्रमका ब्याटरलाई सस्तै आउट गरेपछि पाकिस्तानले छिट्टै विश्वकप यात्रा टुङ्गाउने सम्भावना देखिएको थियो। तर, इफ्तिखरले मोहम्मद नवाजसँग ५२ रन र सादवसँग पनि राम्रो साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासे। बलिङतर्फ भने पाकिस्तानले उत्कृष्ट सुरुआत गर्‍यो। 

प्रकाशित: १८ कार्तिक २०७९ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App