७ वैशाख २०८१ शुक्रबार
खेल

क्लोपद्वारा आफ्नै टोलीको आलोचना

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।

घरेलु मैदान एन्फिल्डमा अन्तिम केही मिनेट सम्हालिन नसक्दा लिभरपुल लिड्स युनाइटेडसँग २-१ ले पराजित भएको थियो। लिड्सका क्रिसेन्सियो सभरभेलीले ८९औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो। लिभरपुलले सन् २०१७ अप्रिलपछि प्रिमियर लिगमा घरेलु मैदानमा व्यहोरेको यो पहिलो हार हो। जारी सिजन लिभरपुलको प्रिमियर लिगको १२ खेलमा यो दोस्रो हार हो। लिभरपुल पछिल्लो खेलमा नटिङ्घम फरेस्टसँग निराश भएको थियो।

लिरभपुल १२ खेलमा १६ अंकसहित नवौं स्थानमा छ, जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १३ अंक कम हो भने चौथो स्थानको न्युक्यासल युनाइटेडभन्दा ८ अंक कम हो। लिड्स भने १२ खेलमा १२ अंकसहित १५औंं स्थानमा छ। ‘हामीले अहिले जस्तै निरन्तर लय गुमाइरह्यौं  भने हाम्रो च्याम्पियन्स लिगको छनोट जोखिम पर्ने निश्चित छ,’ क्लोपले भने, ‘हामी छिटोभन्दा छिटो लयमा फर्कन आवश्यक छ। हामीले खराब प्रदर्शन गरेकै कारण हारेका हौं। हामी कुनै बहाना बनाएर पन्छन मिल्दैन। लगातारको खराब नतिजाले समर्थकलाई समेत निराश पारेको छ।’

यता बलियो टोली लिभरपुलमाथिको जितपछि लिड्सका प्रशिक्षक जेसी मार्सचको पद भने तत्कालका लागि जोगिएको छ। लगातारको जितविहीन यात्रासँगै उनी बर्खास्तगीको संघारमा पुगेका थिए। ‘क्लब समर्थकले मलाई बर्खास्त गर्न माग गरेका थिए तर क्लब व्यवस्थापनले मलाई विश्वास गर्‍यो। जसका कारण आज हामी लिभरपुलविरुद्ध सुखद नतिजा ल्याउन सफल भयौं,’ उनले भने, ‘टोली राम्रो भए पनि लय भेट्टाउन सकेको थिएन। आजको जितले टोलीको मनोबल बढाएको छ।’  

प्रकाशित: १४ कार्तिक २०७९ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App