१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय महिला क्रिकेटमा स्वर्ण पदक हात पार्न सफल भएको छ।

पोखरा रंगशालामा मंगलबार पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो। समान्य लक्ष्यसहित जबाफी ब्याटिङ गरेको एपिएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन। राजमती ऐरीले अविजित १२ रनको पारी खेलेको खेलमा अन्य ब्याटरले भने राम्रो स्कोर छुन सकेनन्। अधिकांश राष्ट्रिय खेलाडीले भरिएको एपिएफका ज्योति पाण्डे र सीता रानामगरले समान ७ रन बनाउँदा इन्दु बर्माले मात्र २ रन जोडिन्। ममता चौधरी र सरिता मगरले समान ९ रन नै जोडेका थिए।

एपिएफको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी विष्टले सर्वाधिक २ विकेट निकाल्दा रुबिना क्षेत्री, संगीता राई र हिरण्मयी रोयले समान १ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस  जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन जोड्न सफल भयो। पुलिसका  लागि काजल श्रेष्ठले सर्वाधिक २७ रनको पारी खेल्दा अर्की ओपनर कविता कुँवरले ११ रनको व्यक्तिगत स्कोर गरिन्। सम्झना खड्काले २१ रन बटुल्दा कप्तान रुबिनाले ८, कविता जोशीले १३ र अप्सरी बेगमले २ रन जोडे। बलिङतर्फ नेरी थापा, इन्दु बर्मा र सीता राना मगरले समान १/१ विकेट लिए। यस  पराजयसँगै एपिएफले महिला क्रिकेट प्रतियोगितामा रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो।

यस्तै मंगलबार नै भएको अर्को खेलमा बाग्मतीले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्दै कांस्य पदक जितेको छ। लुम्बिनीले दिएको ८८ रनको लक्ष्य बाग्मतीले १६.१ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो।

प्रकाशित: २ कार्तिक २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App