४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

गण्डकी र आर्मीलाई ह्यान्डबलमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। पुरुष ह्यान्डबलमा गण्डकीले आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको हो। पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार गण्डकीले फाइनलमा आर्मीलाई ४३–३६ स्कोरले हराएको हो। एपिएफले लुम्बिनी प्रदेशलाई ३५–१३ स्कोरले हराउँदै कांस्य पदक जित्यो। विभागीय डर्बीमा त्रिभुवन आर्मीले महिला ह्यान्डबलको उपाधि जित्यो। बहुउद्देश्यीय कभर्ड हलमै भएको फाइनलमा आर्मीले एपिएफलाई १७–१६ स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा एपिएफ सम्हालिन नसक्दाको फाइदा आर्मीले उठायो। खेल सकिन दुई मिनेट बाँकी छँदा १५–१६ को स्थितिमा पछि परेको आर्मीले दुई मिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गर्‍यो। पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा पुग्दा निकै रोचक प्रतिस्पर्धा भएको थियो।

एक गोलले पछि रहँदै आएको एपिएफले १६–१४ को स्थितिमा अग्रतासमेत लिएको थियो। तर, अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा एपिएफ १७–१६ ले स्तब्ध हुँदा रजत पदकमा खुम्चिन पुग्यो। महिलातर्फ तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कांस्य पदक जित्यो।

गल्फमा बाग्मतीलाई तीन स्वर्ण

यसैबीच गल्फको व्यक्तिगत विधातर्फ आर्मीका सुवास तामाङले स्वर्ण जितेका छन्। पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्समा सम्पन्न प्रतिस्पर्धामा सुवासले सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश–१ का युवराज भुजेलले कांस्य पदक जिते। पहिलो दिन एक अन्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १ सय ३७ स्कोरसहित स्वर्ण पदकमा आफ्नो नाम लेखाए। सद्भावले अघिल्लो दिन एक ओभर ७० को स्कोरमा टुग्याएका थिए। दोस्रो दिन सुधार्दै एक अन्डर ६८ खेलेपछि उनी समग्रमा १ सय ३८ स्कोरमा रहँदै रजतमा खुम्चिए।

युवराज भुजेलले भने कांस्य पदकमा चित्त बुझाए। टिम इभेन्टको प्रतिस्पर्धामा बाग्मतीले स्वर्ण जित्दा प्रदेश–१ ले रजत र आर्मीले कांस्य पदक जित्यो। महिलातर्फ बाग्मतीकी कश्मिरा शाहले स्वर्ण, बाग्मतीकै तारा कार्कीले रजत र प्रदेश-१ की सुष्मा सिग्देलले कांस्य जिते। महिला टिम इभेन्टमा बाग्मतीले स्वर्ण जित्दा प्रदेश-१ ले रजत र गण्डकीले कांस्य पदक जितेका छन्। व्यक्तिगत विजेताले नगद २५ हजार रूपैयाँ प्राप्त गरे। टिम इभेन्टमा विजेता खेलाडीले जनही १५ हजार रूपैयाँ प्राप्त गरे।

बुद्धिचालमा रूपेश, सुजना र आशिषको अग्रता

नवौ राष्ट्रिय खेलकुदअन्र्तगत गोरखामा सुरु भएको बुद्धिचाल खुला तथा महिलातर्फ दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ। खुल्ला क्लासिकल इभेन्टतर्फको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रूपेश जैसवालको अग्रता कायमै रहेको छ। उनले क्लासिकल इभेन्टको तेस्रो चरण सकिँदासम्म तीन अंक जोड्न सफल भएका हुन्।

बाग्मती प्रदेशका आशिष फुँयालले पनि तीन अंक जोड्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए। नेपाल पुलिसका क्षितिज भण्डारीले पनि तेस्रो चरणसम्म आइपुग्दा तीन अंक जोडे। त्रिभुवन आर्मी क्लबका सजिन महर्जनले २.५ अंक बटुले। महिला क्लासिकलको तेस्रो चरण सम्पन्न हँुदा आर्मीकी सुजना लोहनी, प्रदेश-१ की खुस्बु थापाले अग्रता लिएका छन्।

लोहनी, थापा र गण्डकी पूजा भण्डारीले समान तीन अंक जोडेका छन्। प्रदेश-१ की कृतिसारा अधिकारीले २.५ अंक बटुलिन्।

डाउनहिलमा आर्मीलाई दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला साइक्लिङ डाउनहिलमा नेपाल आर्मीकी निष्मा श्रेष्ठले दुई मिनेट २३.५८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितिन्। पोखराको रानीबनमा आयोजित साइक्लिङको डाउनहिलमा आर्मीकै उषा खनाल दोस्रो भइन्। उनले दुई मिनेट ३७.४५ सेकेन्डमा दूरी पूरा गर्दै रजत प्राप्त गरिन्।

गण्डकी प्रदेशकी जमुना थापाले दुई मिनेट ४०.०९ सेकेन्डका साथ कांस्य पदक जितिन्। पुरुष डाउनहिलमा आर्मीका राजेश मगरले एक मिनेट ४९.१० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमती प्रदेशका निरभ श्रेष्ठले एक मिनेट ५२.१० सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्दा एपिएपका प्रतीक थापा मगरले एक मिनेट ५५.६९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला फुटबल एपिएफको १६ गोल

सावित्रा भण्डारीको ह्याट्रिकसहित पाँच गोल र सरु लिम्बुको ह्याट्रिक मद्दतमा एपिएफले महिला फुटबलमा कर्णाली प्रदेशमाथि १६-० को गोलवर्षा गर्‍यो। एपिएफका रविना गोले र गीता रानाले २/२ गोल गर्दा अनिता बस्नेत, प्रीति राई, सविता राना र मनमाया लिम्बुले समान एक गोल गरे। स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश-१ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ ले पराजित गरेको छ। प्रदेश–१ का लागि अन्जना थुलुङ राई र अनिता गुरुङले समान एक गोल गर्दा गण्डकीकी शान्ति नेपालीले सान्त्वना गोल फर्काइन्।

फुटबलमा गण्डकीको जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ। पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश–१ लाई २–० गोलले हराउँदै गण्डकीले विजयी सुरुआत गरेको हो। समूह ‘ए’ तर्फको खेलमा गण्डकीका तर्फबाट कमल थापा र जया गुरुङले गोल गरे। 

प्रकाशित: ३० आश्विन २०७९ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App