१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

पटाका निषेधित पोखरामा सरकारी आतसबाजी

नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा १३ लाखको पटाका पड्काइयो

पोखरा पटाका निषेधित क्षेत्र हो। जिल्ला प्रशासन कार्यालय कास्कीले २०७३ मा पोखरालाई पटाका निषेधित क्षेत्र घोषणा गरेको थियो।  

तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाका पालामा पोखरालाई पटाका निषेधित क्षेत्र घोषणा गरिएको थियो। त्यो घोषणापछि तिहार (शुभ दीपावली)मा पनि पोखरामा पटाका पड्काउन दिन छाडिएको छ।

उच्च अदालत पोखराले २०७५ मा पोखरामा पटाका पड्काउने कार्य नगर्नू–नगराउनू भनेर स्टे अर्डर समेत जारी गरेको थियो। नागरिक समाज पोखराले हालेको रिटमा उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको नाममा यस्तो आदेश जारी गरेको हो। तर, पोखरामा शुक्रबार साँझ राज्यकै संलग्नतामा धुमधामका साथ आतसबाजी गरिएको छ।

नवौं राष्ट्रिय खेलकुदको समुद्घाटनको अवसरमा पोखरा रंगशालामा करिब आधाघण्टा निरन्तर आतसबाजी गरिएको थियो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन र समापनको अवसरमा मात्र १३ लाख रुपैयाँ बराबरको पटाका पड्काइने आयोजक राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा स्टेज व्यवस्थापन उपसमिति संयोजक एकेन्द्र कुँवरले जानकारी दिए।

त्यसमध्ये शुक्रबार ६० प्रतिशत अर्थात् करिब ८ लाख बराबरको पटाका पड्काइएको छ। बाँकी ४० प्रतिशत अर्थात् ५ लाख बराबरको पटाका समापनको अवसरमा पड्काउने तयारी गरिएको छ।  

कुँवरले भने, ‘उद्घाटन भन्दा समापन भव्य हुनेछ। जसका लागि अस्ति खरिद गरेको पटाकाले पुग्दैन, हामी पटाका अझै थप्छौँ।,’ आतसबाजी गरिएको समयमा सो क्षेत्रमा ध्वनीसँगै धुँवा र बारुदका कारण प्रदूषण भएको थियो। 

नवौं राष्ट्रिय खेलकुदको अवसरमा पड्काइएको पटाकाको १३ लाख मध्ये ९ लाख ६० हजार राज्यले व्यहोर्नेछ भने बाँकी ३ लाख ४० हजार रुपैयाँ स्टेज व्यवस्थापन उप समिति संयोजक कुँवरले नै बेहोरेका छन्। ‘सरकारले पटाकाका लागि ९ लाख ६० हजार दिएको हो,’ मैले थप ३ लाख ४० थपेर ल्याएको हुँ,’ कुँवरले भने।

पटाका निषेधित क्षेत्रमा राज्यकै संलग्नतामा आतिसबाजी भएपछि आलोचना सुरु भएको छ। नागरिक समाज पोखराले सामाजिक सञ्जालमार्फत निषेधित क्षेत्रमा पटाका पड्काएकोमा विरोध जनाएको छ।

समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, ‘खेलाडीलाई खेलकुद सामग्री उपलब्ध गराउन नसक्ने आयोजकले आतसबाजीको आतंक मच्चाएर पोखराको बेइज्जत गरेका छन्।’

आतिसबाजी गरेर राज्यले कानूनको खिल्ली उडाएको उनको टिप्पणी छ। ‘फेवाताल फोहोर हुँदा सफा गर्न नआउने, खेलाडीलाई खेलकुद सामाग्री नदिने तर पटाका पड्काउन लाखौं खर्च गर्नू लज्जास्पद हो,’ उनले भने। पोखरालाई वातावरणमैत्री बनाएर पर्यटक आकर्षित गर्नुपर्नेमा उल्टै वातावरण प्रदूषण गरेर राज्यले उद्धण्ड मच्चाएको उनको टिप्पणी छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले माथिको आदेशमा पोखरामा आतिसबाजी भएको बताए। ‘अहिले मैले यत्ति भने यो जिल्लाको अनमुतिमा आतसबाजी गरिएको होइन। राखेपले सिधै गृहमन्त्रालयबाट अनुमति लिएको रहेछ। त्यही अनुसार हामीले कार्यान्वयन गरेको मात्र हौँ,’ उनले भने। राष्ट्रिय खेलकुद देशको गौरवको कार्यक्रम भएकाले मात्र पटाका पड्काउने अनुमति दिएको हुनसक्ने उनको भनाइ छ। यसबारे थप नबोल्ने उनले बताए।

राज्यकै संलग्नतामा पोखरामा आतसबाजी गरिएपछि रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखरालाई पोखरा सडक महोत्सवको अवसरमा आतसबाजी गर्न थप हौसला प्रदान गर्नेछ। पटाका निषेधित क्षेत्रमा रेवानले अंग्रेजी नयाँवर्षमा सुरु हुने राती (न्यू इयर इभ)मा वर्षेनी आतसबाजी गर्दै आएको छ।

प्रकाशित: २९ आश्विन २०७९ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App