२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

ह्यान्डबलको पुरुषमा गण्डकी र आर्मी भिड्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ। चन्द्र थापाले सर्वाधिक १८ गोल प्रेरणामा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो।

गण्डकीले स्वर्ण पदक भिडन्तका लागि शनिबार विभागीय टोली आर्मीको चुनौती सामना गर्नेछ। शुक्रबारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। शनिबार नै एपिएफ र लुम्बिनीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

महिला ह्यान्डबलमा दुई विभागीय टोली आर्मी र एपिएफ फाइनल पुगेका छन्। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले प्रदेश–१ लाई २९–६ ले हराउँदै फाइनल पुगेको हो। एपिएफकी उमा राईले सर्वाधिक सात गोल गरिन्। महिलातर्फको दोस्रो खेलमा विभागीय आर्मीले घरेलु गण्डकीलाई २४-९ ले हराउँदै फाइनलमा स्थान बनाएको छ। आर्मीकी कल्पना ओलीले सर्वाधिक सात गोल गरिन्। आर्मी र एपिएफबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ। त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि बिहान १० बजे खेल हुनेछ।

फुटबलमा आर्मीको सहज जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। शुक्रबार लामाचौरस्थित लामाचौर खेलमैदान गोस्तेघाटमा भएको खेलमा आर्मीले ४–१ गोलअन्तरले जित निकालेको हो।

आर्मीका लागि दिनेश हेम्जनले पहिलो गोल गरे। उनले खेलको १५औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए। दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्‍यो। दिपसन ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो। जर्जप्रिन्स कार्कीले आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाब बनाए। उनले ४७औं मिनेटमा गोल गरेका थिए। लुम्बिनीले ५०औं मिनेटमा चेतन थारुको गोलबाट खेलमा फर्किने प्रयास गर्‍यो। तर, थपिएको दुई मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए।

सावित्राको दोहोरो ह्याट्रिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार महिला फुटबलका तीन खेल सम्पन्न भएका छन्। स्याङ्जाको वालिङस्थित मालेबगर फुटबल मैदानमा भएको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिको मद्दतमा एपिएफ फुटवल क्लबले प्रदेश–१ लाई ७–१ गोलअन्तरले पराजित गर्‍यो। एपिएफका तर्फबाट अनिता केसीले अर्काे गोल गरेकी थिइन्।

शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० ले पराजित गर्दा मधेश प्रदेश र सुदूरपश्चिमबीचको खेल बराबरीमा टुंगिएको छ।

प्रकाशित: २९ आश्विन २०७९ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App