१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

ग्रिजम्यानको एट्लेटिकोसँग स्थायी सम्झौता

एट्लेटिको मड्रिडसँग स्थायी सम्झौता गरेसँगै एन्टोनी ग्रिजम्यानले क्लबमै रहन आफूले हरसम्भव प्रयास गरेको प्रतिक्रिया दिएका छन्।

सन् २०२१-२२ सिजनमा ग्रिजम्यान बार्सिलोनाबाट एट्लेटिको गएका थिए। उनले एट्लेटिकोसँग सन् २०२६ सम्मका लागि सम्झौता गरेका हुन्। क्याम्प नोउ बसाइ सुखद नभएको भन्दै उनी पूर्वक्लब एट्लेटिको भित्रिएका थिए। उनी सन् २०१९ मा एक सय १६.५ मिलियन डलरमा एट्लेटिकोबाट बार्सिलोना गएका थिए।

‘म निकै खुसी छु, किनभने म एट्लेटिको फर्किएदेखि नै क्लबसँग स्थायी सम्झौता गर्न चाहन्थें,’ ग्रिजम्यानले भने, ‘एट्लेटिकोमै रहँदा निकै खुसी छु। मैले क्लबमै रहन हरसम्भव प्रयास गरेको थिएँ। क्लबमा लामो समयसम्म बस्न सक्ने सम्भावना बढेसँगै मैले क्लबसँग यसबारे कुरा गरेको थिएँ। क्लबले पनि म यहीं बसेको हेर्न चाहन्थ्यो। म यहाँ बस्न चाहन्थें र त्यो इच्छा पूरा भएको छ।’

एट्लेटिकोसँगको सम्झौता अनुसार उनले यसअघि बार्सिलोनामा पाउँदै आएको सेवासुविधामा कटौती  गरिएको छ।

‘यो क्लबसँग मेरो विशेष साइनो छ। त्यसैले मैले प्राप्त गर्दै आएको सेवासुविधाभन्दा पनि मैले क्लबसँग गरेको नयाँ सम्झौता नै मेरा लागि उपलब्धि हो। म मेरो टोलीका सहकर्मी, प्रशिक्षक, क्लब व्यवस्थापन र क्लब समर्थकप्रति विशेष आभारी छु,’ ग्रिजम्यमानले भने।

गत सिजन प्रशिक्षक डिएगो सिमोनीको रणनीतिका मुख्य पात्र रहेका ग्रिजम्यानले यस सिजनमा भने सोही अनुरूपको अवसर पाउन सकेका थिएनन्। एट्लेटिकोले यस सिजन खेलेको ११ खेलमध्ये ८ खेलमा ग्रिजम्यान ६० मिनेटपछि मात्र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। ३ खेलमा भने उनले पहिलो रोजाइमा अवसर पाएका थिए। यस सिजन लिगका ५० प्रतिशतभन्दा बढी खेलमा ४५ मिनेट बढी समय खेलाएमा बार्सिलोनालाई ४० मिलियन युरो तिर्दैै ग्रिजम्यानसँगको सम्झौता स्थायी गर्नुपर्ने भयले उनलाई सिमोनीले वैकल्पिक खेलाडीको रूपमा मात्र प्रयोग गरिरहेका थिए ।

कतार विश्वकप नजिकिएसँगै ग्रिजम्यानले निरन्तर खेल्न नपाउने हुन् कि भन्ने चिन्ता बढेको थियो। यसै साता मात्र बार्सिलोना र एट्लेटिको ग्रिजम्यानको नयाँ सम्झौताका लागि सहमत भएका थिए।

एट्लेटिकोले नयाँ सम्झौता रकमबारे भने केही बताएको छैन। उनले एट्लेटिकोबाट ३ सय ३ खेलमा १ सय ४४ गोल गरेका थिए।

दुई सिजन बार्सिलोनामा बिताएका ग्रिजम्यानले १ सय २ खेलमा ३५ गोल गरेका थिए।

सन् २०१८ मा एट्लेटिकोले युरोपा लिगको उपाधि जित्दा ग्रिजम्यान टोलीका प्रमुख खेलाडी थिए।  

प्रकाशित: २६ आश्विन २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App