१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानको लगातार दोस्रो जित

कप्तान बाबर आजमको अविजित ७९ रनको सहयोगमा शनिबार पाकिस्तानले न्युजिल्यान्डविरुद्ध ६ विकेटको जित निकालेको छ।

बंगलादेश, पाकिस्तान र न्युजिल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो। बाबर आजमले सादाव खानसँग ६१ रनको साझेदारी गर्दा ५३ बलमा ७९ रनको अविजित पारी खेल्दै पाकिस्तानलाई जित दिलाएका हुन्।

शृंखलाको पहिलो खेलमा बंगलादेशमाथि २१ रनको जित निकाल्दै सुखद सुरुआत गरेको पाकिस्तानलाई न्युजिल्यान्डले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १ सय ४८ रनको लक्ष्य दिएको थियो। जबाफी ब्याटिङ गरेको पाकिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो। ३६ रन जोड्ने क्रममा पहिलो विकेट गुमाएको पाकिस्तानले ३७ रन जोड्दा दोस्रो विकेट गुमाउन पुगेको थियो। पाकिस्तानका मोहम्मद रिजवान ४ रन जोड्ने क्रममा टिम साउथीको बलमा एलबिडब्लुको धरापमा परेका थिए।

शान महसुद शून्यमा पवेलियन फर्किएको खेलमा सादाव खान र बाबर आजमले इनिङ सम्हालेका थिए। सो क्रममा सादावले ३४ रन जोड्दा मोहम्मद नवाजले १६ रनको पारी खेले। ५३ बलको सामना गरेका बाबरले ११ चौकाको सहयोगमा ७९ रन बनाएका थिए। पाकिस्तानको ४ विकेट लिने क्रममा बलिङतर्फ न्युजिल्यान्डका बलिर टिकनरले सर्वाधिक २ विकेट निकाल्दा टिम साउथी र ट्रेन्ट बोल्डको नाममा एकएक विकेट रह्यो। अविजित पारी खेल्दै पाकिस्तानको पक्षमा नतिजा दिलाएका बाबरले सादावको सहयोगमा इनिङ सम्हाल्न सहज भएको र सुखद नतिजा मिलेको प्रतिक्रिया दिए।

‘साझेदारी गर्दै अगाडि बढ्ने निर्णय हामीले ब्याटिङको क्रममा लियौं। सोही रणनीतिअनुसार सादावले पनि साथ दिए। मौकालाई सदुपयोग गर्ने रणनीतिका साथ ब्याटिङ गर्दा लक्ष्य पूरा भयो,’ बाबरले भने, ‘विकेटको पतनसँगै अन्तिमसम्म पारी सम्हाल्ने जिम्मेवारी मैले लिएँ। विश्वकपअघिको यस खेलले हाम्रो कमीकमजोरी सच्याउने मौका मिलेको छ। विश्वकपमा एसिया कपको भन्दा राम्रो प्रदर्शन हुने अपेक्षा मैले राखेको छु।’

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले सुरुआत राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान भने चल्न सकेनन्। १६ रन जोड्ने क्रममा फिन अलिनलाई गुमाएको न्युजिल्यान्डले ७७ रन जोड्ने क्रममा डेभोन कन्वेलाई गुमाउन पुगेको थियो। फिन अलिनले व्यक्तिगत १३ रन जोड्दा डेभोन कन्वेले ३६ रनको पारी खेलेका थिए। केन विलियम्सनले ३१ रनको व्यक्तिगत स्कोर बनाउँदा मार्क चापम्यानले ३२ रन जोडेका थिए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन्।

न्युजिल्यान्डको ८ विकेट निकाल्ने क्रममा हरिस राउफले सर्वाधिक ३ विकेट निकाल्दा मोेहम्मद वासिम र मोहम्मद नवाले समान २ विकेट लिए। यसअघिको पहिलो खेलमा पाकिस्तानले बंगलादेशमाथि २१ रनको जित निकालेको थियो। शृंखलाअन्तर्गत आइतबार न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुनेछ। दुबै टोली सुखद नतिजाका लागि खेल्नेछन्। शृंखलालाई अस्ट्रेलियामा आयोजना हुन लागेको ट्वान्टी–२० विश्वकपअघिको अभ्यास खेलका रूपमा हेरिएको छ। ट्वान्टी–२० विश्वकप अक्टोबर १६ देखि आयोजना हुँदै छ।

प्रकाशित: २३ आश्विन २०७९ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App