१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खराब प्रदर्शनले डराएकी छैन: मुगुरुजा

लयमा फर्कन संघर्षरत विश्व पूर्वनम्बर एक खेलाडी गार्बिन मुगुरुजाले पान प्यासिफिक ओपनको क्वार्टरफाइनलबाटै बहिर्गमनका बावजुद आफूमा कुनै भय नरहेको बताइन्।

रसियाकी लिउडमिला सामसोनोभासँग ६–४ र ६–२ ले स्तब्ध भएसँगै मुगुरुजा लगातार खराब लय सामना गर्न बाध्य भइन्। दुई ग्रान्ड स्लाम विजेता मुगुरुजा एकै प्रतियोगितामा दुईभन्दा बढी पटक जित निकाल्न असफल छिन् र यस महिना अप्रत्याशित रूपमा बाहिरिने शीर्ष १० खेलाडीको सूचीमा रहिन्। उनले पछिल्लो हारबाट आफूले रिकभर गरिसकेको प्रतिक्रिया दिएकी छन्।

अब आगामी खेलमा आफू केन्द्रित रहने मुगुरुजाले बताइन्। ‘यो खेलबाट म त्यति धेरै दुखी हुनुपर्छ भन्ने लाग्दैन। मैले राम्रो नै खेलेँ, तर मेरोभन्दा राम्रो खेल उनको रह्यो। उनको खेल निकै उत्कृष्ट थियो,’ मुगुरुजाले भनिन्, ‘यो नतिजाबारे मैले धेरै सोच्नु पर्दैन। मैले आफ्नो खेल जारी राख्नुपर्छ। यो निकै खराब हार पनि होइन र मैले राम्रो नै खेलें।’

उनी अहिले विश्वको १२औं वरीयतामा छिन्। मुगुरुजाले सन् २०१६ मा फ्रेन्च ओपन जितिन् र त्यसको अर्को वर्ष विम्बल्डनको सफलता पनि पाएकी थिइन्। त्यसपछि उनी विश्वको तेस्रो वरीयतामा पुगिन्। त्यसयता ६ प्रतियोगितामा भने उनी पहिलो राउन्डबाटै बाहिरिएकी छन्।यो वर्षको सुरुआत उनका लागि कठिन रहेको मुगुरुजाको भनाइ छ। यद्यपि, यो वर्षको प्रदर्शनप्रति नै आफू डराउनुपर्ने अवस्था नरहेको उनको विश्वास छ। ‘मेरो लागि सहज रह्यो भन्ने खोजेको चाहिँ होइन। तर, मेरा लागि त्यति खराब अनुभव नरहेको मात्र भन्न खोजेको हुँ,’ उनले भनिन्, ‘किनकि नतिजामा केही उतारचढाव रह्यो।’

पान प्यासिफिकबाट छिटै बहिर्गमन हुने ठूला स्टारमध्ये उनी एक हुन्। शीर्ष खेलाडी पाउला बाडोसा, युएस ओपन सेमिफाइनलिस्ट क्यारोलिन गार्सिया र विम्बल्डन च्याम्पियन इलिना रेबाकिनाले पनि छिट्टै बहिर्गमनको सामना गरे। घरेलु स्टार नाओमी ओसाकाले भने चोटका कारण दोस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन्। यता, मुगुरुजालाई स्तब्ध बनाएकी सामसोनोभाले चीनकी झाङ सुइसँग शनिबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन्। चीनकी भेट्रान झाङले क्रोएसियाकी पेत्रा मार्टिचलाई ७–५ र ६–२ ले हराएकी थिइन्।

‘आजको खेल मेरा लागि सहज भएन। पेत्राको खेल निकै उत्कृष्ट रह्यो,’ झाङले भनिन्, ‘उनीसँग हरेक सटको जबाफ थियो। मानसिक र प्राविधिक रूपमा उनी मेरा लागि चुनौतीपूर्ण रहिन्।’ विश्व नम्बर चार रसियाकी भेरोनिका कुदेरमेतोभले सेमिफाइनलमा स्थान बनाएकी छन्। उनले क्वार्टरफाइनलमा ब्राजिलकी बेट्रिज हाडाडलाई ६-७ (४-७), ७-६(८-६) र ६-१ ले हराइन्। उनले अब चीनकी झेङ किनवेन या अमेरिकाकी क्लेर लिउबीचको विजेतासँग खेल्नेछिन्।

प्रकाशित: ८ आश्विन २०७९ ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App