४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

गुर्जेमा बडा दशैँ महाभिडन्त रेस्लिङ हुने

नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशैँ महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। शिवपुरी गाउँपालिकाको सह आयोजनामा असोज १५ गते नुवाकोटको गुर्जेस्थित कालिका माविमा रेस्लिङ प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन्।

झण्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा चर्चित ५ विधामा प्रतिस्पर्धा गराइने बताइएको छ। हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार रुपैयाँसहित बेल्ट प्राप्त गर्नेछन्।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने जनाइएको छ। प्रतियोगिता असोज १५ गते दिउँसो १ बजे सुरु हुने बताइएको छ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले रेस्लिङले पयर्टन प्रवर्द्धनमा सहयोग पुग्ने भएकाले पालिकाले सहयोग गरेको बताए। ‘यो खेलले यस क्षेत्रको मात्र नभइ देशकै पयर्टन व्यवसाय माथि उकास्ने विश्वास लिएका छौं, उनले भने,‘ यसले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनेछ।’

शिवपुरी गाउँपालिका वडा नं ६ ले पनि प्रतियोगितामा आर्थिक सहयोग गरेको छ। पत्रकार सम्मेलनमा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं ६ का अध्यक्ष विष्णु श्रेष्ठ, कालिका माविका प्रधानध्यापक कृष्णकुमार श्रेष्ठलगायतको उपस्थिति थियो।

प्रकाशित: ७ आश्विन २०७९ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App