१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्रीद्वारा ट्रफी सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रमबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरेका हुन्। सो अवसरमा देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकार सदैव सहयोग गर्न तयार रहने आशा व्यक्त गरे।

उक्त ट्रफी पाँच केजी चाँदीको छ। सो ट्रफीमा मेन ट्रफी भन्ने शब्द दुई तोला सुनले कुँदिएको र स्वर्ण शब्दसहित काठको बेसमा बनाइएको छ। त्यस ट्रफीको मूल्य १० लाख रूपैयाँ बराबर छ। राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपटक च्याम्पियन टोलीलाई यस किसिमको ट्रफी प्रदान गर्न लागिएको हो।

उक्त ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटिका महासचिव एवम् नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र शिल्पकार श्याम तुलाधर हुन्। ट्रफी निर्माण गर्न पाँच जना कारिगरले दिनको १८ घण्टाका दरले २५ दिनको समय व्यतीत गरेको राखेपले जनाएको छ। ट्रफी पूर्ण कलशको स्वरूपमा छ, जुन नेपाली संस्कृतिअनुरूप कुनै पनि शुभकार्य, मंगलकार्य र विजयोत्सवका समय कलश पूजाका रूपमा राखिने गरिन्छ।

ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइँदै छ। ओलम्पियन तेक्वान्दो खेलाडी दीपक विष्टको संयोजकत्वमा रहेको कार्यदलले ट्रफी टुर गराउनेछ। उक्त कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्वकप्तान पारस खड्का, अल्ट्रा धावक मीरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरूणा शाही छन्।

सातै प्रदेशमा मुख्यमन्त्रीको उपस्थितिमा र तीन विभागीय टिमको प्रमुखको उपस्थितिमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम छ। राखेप सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच ट्रफी टुर कार्यदललाई बिदाइ गरे।

कार्यदलले ट्रफीलाई असोज १ गते धनगढी रंगशाला, असोज २ गते लुम्बिनी, असोज ३ गते बाग्मती प्रदेशमा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय, असोज ७ गते नेपाली सेनाको भद्रकाली, असोज ८ गते १ प्रदेश–१ को विराटनगर रंगशालामा, असोज ९ गते नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, असोज ११ गते मधेस प्रदेशको जानकी मन्दिरमा सार्वजनिक गर्ने कार्यक्रम छ। काठमाडांैको ऐतिहासिक तथा पुरातात्त्विक स्थानको भ्रमणपश्चात् ट्रफी असोज २३ गते गण्डकीको पोखरा पु¥याउने राखेपको योजना छ। 

प्रकाशित: १ आश्विन २०७९ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App