९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

रोनाल्डोले गरे सिजनको पहिलो गोल

क्रिस्टियानो रोनाल्डोले सिजनको पहिलो गोल गरेको दिन म्यानचेस्टर युनाइटेडले मल्दोभाको क्लब सेरिफ टिरासपोललाई हराएको छ।

पछिल्ला सात खेलमा गोलविहीन खराब लयलाई बिर्साउँदै रोनोल्डोले सिजनको पहिलो गोल गरे र युनाइटेडले मल्दोभियन च्याम्पियन सेरिफमाथि सहज जित निकाल्यो। यो युनाइटेडका लागि अवे जित पनि हो। पोर्चुगिच स्टार रोनाल्डोले सिजनको पहिलो गोल गर्न पेनाल्टीको सहारा लिनुपर्‍यो। पहिलो हाफमा पेनाल्टी गोल गर्दै ३७ वर्षे रोनाल्डोले क्लब करियरमा ६९९औं गोल पूरा गरे। यद्यपि, रोनाल्डोले गोल गर्दा सामान्य तवरमा उत्सव मनाए। रोनाल्डोका लागि पछिल्लो समय ओल्ड ट्राफोर्डमा असहज रूपमा बितिरहेको थियो। तथापि, यो गोलले उनलाई केही राहत मिल्नेछ।

उनको क्लब युनाइटेड च्याम्पियन्स लिगमा पनि छैन। त्यसैले उनका लागि युरोपा लिगमा गोल गर्नु महत्त्वपूर्ण साबित बन्नेछ। जाडोन सान्चोले छिट्टै पहिलो गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। उनी पछिल्ला समय इङ्ल्यान्डको राष्ट्रिय टोलीबाहिर छन्। यता, रोनाल्डोले प्रिसिजनमा युनाइटेडका प्रतिस्पर्धा गुमाएका थिए, जसका कारण पारिवारिक बताइएको थियो। युनाइटेडका प्रशिक्षक टेन हागले रोनाल्डोले आफ्नो फिटनेसमा अझै मिहिनेत गर्नुपर्ने उल्लेख गर्दै उनको योगदानप्रति प्रशंसा पनि गरे।

‘उनले यो मिहिनेत प्रिसिजनमा नै गरून् भन्ने थियो। तर, उनी त्यहाँ थिएनन्। त्यसैले रोनाल्डोले आफ्नो फिटनेस बढाउन निकै मिहिनेत गर्नुपर्छ र त्यसपछि मात्र उनले अझै धेरै गोल गर्न सक्छन्,’ प्रशिक्षक हागले भने, ‘हामी सबैले देखिसकेका छौं। उनी लय समात्दै छन्। जब उनी फिट रहन्छ, तब मात्र गोल गर्न सक्छन्। उनी पनि यसप्रति प्रतिबद्ध छन्।’ प्रशिक्षक हागले रोनाल्डो कयौं पटक यो गोल नजिक रहे पनि अवसर गुमाएको उल्लेख गरे। ‘हामी उनका लागि खुसी छौं। उनी धेरै पटक यो गोलनजिक थिए। उनलाई यस गोललाई उत्प्रेरणा पनि दिनेछ,’ हागको विश्वास छ।

समूह ‘ई’ को युनाइटेडले पहिलो खेलमा रियाल सोसिडाडसँग १–० ले पराजय बेहोरेको थियो। यस पटक भने युनाइटेडले मल्दोभाको सहर चिसिनाउमा कुनै गल्ती गरे र सेरिफलाई हरायो। सेरिफ त्यो टोली हो, जसले गत वर्ष च्याम्पियन्स लिगमा रियाल मड्रिडमाथि जित रचेको थियो। यस सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाउन असफल युनाइटेड युरोपको अर्को प्रतिस्पर्धामार्फत् आफ्नो अस्तित्व जीवन्त राख्ने लक्ष्यमा छ। यद्यपि, युनाइटेडका लागि दोस्रो खेलमा पनि सेरिफ चुनौती नै बन्न पुग्यो।

स्टार खेलाडीले भरिएको युनाइटेडको एक मात्र लोभलाग्दो अट्याक १७औं मिनेटमा सम्भव भयो। जहाँ सान्चोले क्रिस्टियन इरिक्सनको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा युनाइटेडले अग्रता दोब्बर पार्‍यो। डिएगो डालोटलाई पेनाल्टी एरियामा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो, जुन अवसर रोनाल्डोले सदुपयोग पनि गरे। त्यसपछि भने दुवै तर्फबाट गोल हुन सकेन। यो जितपछि युनाइटेड समूहको दोस्रो स्थानमा छ। शीर्ष स्थानको रियाल सोसिडाडको ६ अंक छ, जसले दोस्रो खेलमा ओमोनिया निकोसियालाई २–१ ले स्तब्ध बनाएको थियो।

प्रकाशित: १ आश्विन २०७९ ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App