२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापाली भूमिमा आर्मीको परीक्षा

झापा- मोफसलकै सर्वाधिक पुरस्कार राशीसहितको रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार मैदान उत्रँदा आयोजक झापा र त्रिभुवन आर्मी क्लब समान दबाबमा हुनेछन्। नेपाली फुटबलको व्यस्ततापूर्ण वर्षको अन्तिम फाइनलमा दुवै टोली उपाधि चुमेर सिजनको अन्त्य चाहन्छन्।विर्तामोडको डोमालाल रंगशालामा दुई टोली प्रतिष्पर्धामा उत्रँदा आयोजक झापासँग यसवर्ष विभिन्न गोल्डकप जितेको आत्मविश्वास साथमा रहनेछ। घरेलु मैदान र त्यहाँ उपस्थित हुने खचाखच समर्थकको भीड उसका लागि हौस्याउने अर्को अस्त्र हुने पनि पक्का छ।

सँगसँगै राष्ट्रिय टोलीबाट केहीसमय अघि बंगबन्धु गोल्डकप र साफ फुटबलमा सनसनी मच्चाएका नवयुग श्रेष्ठ लगायतका स्टार खेलाडीको साथले आर्मी उच्च मनोबलसहित मैदानमा ओर्लनेछ। छोटो र सटिक पास खेलेर निरन्तर आक्रमण बुनिरहने झापा र ज्यादै तीव्र गतिमा बल दौडाएर मैदानभरी छाइरहने आर्मीबीचको यो खेलको अर्को आकर्षण रहनेछ, दुवै टिमको जब्बर रक्षापक्ति।

प्रतियोगितामा तीन वटा खेल खेलेको झापाले जम्मा ३ गोल मात्रै खाएको छ भने विपक्षी पोष्टमा १३ गोल लगाएको छ। बाई पाएर सोझै क्वाटर फाइनल खेलेका कारण दुई खेल खेलेको आमीले विपक्षी पोष्टमा ३ गोल लगाएको छ भने २ गोल खाएको छ। नवयुगका साथमा कप्तान भरत खवाससहितको अग्रपंक्ति आर्मीको मुख्य हतियार हुनेछ भने प्रतियोगिताकै सर्वाधिक गोलकर्ता कर्ण लिम्बूसहितका खेलाडी झापाको धारिलो आक्रमणका हतियार रहनेछन्। कर्णले प्रतियोगितामा ह्याटि्रकसहित सात गोल गरिसकेका छन्।

एन्फा उपमहासचिव सञ्जिव मिश्रको भनाईमा 'ज्यादै रोमाञ्चक र उत्कृष्ट फाइनल' हेर्ने अवसर झापाली मैदानमा उपलब्ध हुनेछ। 'झापा विगत एक–डेढ वर्षदेखि एउटै टिम लिएर खेलिरहेको छ', मिश्रले भने 'आर्मी पनि वर्षभरी फुटबल खेलिरहेको हुन्छ। त्यसैले यो खेल रोमाञ्चक हुनेछ।' दुवै टोलीले सेमिफाइनलमा नेपाली फुटबलका 'पावर हाउस' टोलीलाई हराएका कारण पनि उनीहरु बलियो रहेको उनको भनाई छ। झापाले थ्रीस्टारलाई र आर्मीले मनाङलाई हराएर फाइनलमा ठाउँ बनाएका हुन्। 'फाइनलको प्रेसरबाट जुन टोली मुक्त भएर खेल्छ जीत उसैको हुने निश्चित छ', मिश्रले भने।

त्यसो त दुवै टोली उपाधि आफूले जित्नेमा ढुक्क छन्। यो सिजनमा आर्मीले एउटा पनि उपाधि जित्न सकेको छैन। आर्मीले दुई वटा फाइनल खेल भने खेलिसकेको छ। पोखराको आहा रारा गोल्डकप र हेटौंडा गोल्डकपको फाइनलमा आर्मी पराजित भएको थियो। टोली एउटै सिजनमा तेश्रोपटक झापामा आयोजक झापा ११ सँग फाइनलमा प्रतिष्पर्धा गर्दैछ।

उपाधि प्राप्तिको दृष्टिले झापा आर्मीभन्दा अगाडि छ। झापाले इलामको माइभ्याली गोल्डकपको उपाधि हात पारिसकेको छ भने बिराटनगरको बिराट गोल्डकपमा फाइनलमा नेपाल पुलिससँग पराजित भएको थियो। आहा रारा गोल्डकपमा भने क्वाटरफाइनलबाटै झापा घर फर्किएको थियो। राष्ट्रिय लिगमा आर्मी दोस्रो र झापा चौथो भएको थियो।

झापाका प्रशिक्षक भगिरथ आले 'मामा' ले झापा उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए। उनले झापाली समर्थक र होम ग्राउण्डलाई १२ औं खेलाडीको रुपमा लिएको बताए। घाइते भएर दुइवटा खेल खेल्न नसकेका नरेेन्द्रमणि लिम्बु र खमिरगिल्सन कन्दङवा फिट भएकाले झापा आर्मीलाई हराउन सक्षम रहेको दावी उनले गरे। फाइनल खेल आक्रामक रुपमा खेलिने भन्दै उनले झापा प्राविधिक रुपमा आर्मी भन्दा अगाडि रहेको दाबी पनि गरे।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले राष्ट्रिय टीमका स्ट्राइकर नवयुग श्रेष्ठ र एक खेल गुमाएका भरत खवास फाइनलमा खेल्ने भएकाले पनि जित निकाल्न सहज हुने आशा गरेका छन्। झापाको भन्दा रक्षापंक्ति आर्मीको मजबुत भएकाले झापालाई गोल गर्न नदिने रणनीतिका साथ खेलिने थापाले बताए। आर्मीसँग बंगबन्धु गोल्डकप र साफ गेम जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका गोलकिपर बिकेश कुथु रहनुले पनि आर्मी झापालाई हराउन सक्षम रहेको थापाले दाबी गरे। सुरुमै अग्रता लिएर झापालाई दवावमा राखेर खेलिने थापाले बताए। मोफसलकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता जित्ने टीमले नगद ६ लाख सहित ट्रफी पाउने छ। उपबिजेताले नगद तीन लाख प्राप्त गर्ने छ।

प्रकाशित: २६ चैत्र २०७२ २१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App