८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

अरूणाको साथले चम्किएको म्याग्दी महिला भलिबल

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दी महिला भलिबलले उपाधी जित्यो। पोखरामा जारी रहेको प्रदेशस्तरीय छनौट प्रतियोगिताको फाइनल खेलमा म्याग्दीले पर्वत जिल्लालाई २–१ को सेटमा पराजित गर्यो। दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेटमा म्याग्दीले कडा प्रतिस्पर्धाका बिच प्रदेश च्याम्पियन बन्न सफल भएको हो। स्वर्ण पदक जितेको म्याग्दीले अब गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने छ।  

कुनै समय छनौट खेलबाटै बाहिरिने म्याग्दीको महिला टोलीको नेतृत्व राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले सम्हालेसँगै गण्डकी प्रदेशका ११ जिल्ला बिच हुने खेलमा म्याग्दीले सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। कुनै समय सेमिफाइनलसम्म पुग्न समेत फलामको चिउरा चपाएजस्तै हुने म्याग्दी तत्कालिन पश्चिमाञ्चल तथा सातौँ र आठौँ राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय प्रतियोगितामा म्याग्दी अरुणाकै कप्तानीमा लगातार च्याम्पियन बनेको छ।  

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले गृहजिल्लाबाट क्षेत्रीयस्तरको खेलमा अन्य महत्वपूर्ण अवसरलाई समेत पन्छाएर सहभागी हुने थालेपछि महिला भलिबल उचाइमा पुगेको छ। राष्ट्रिय महिला भलिबलकी कप्तान भएपनि अरुणाले दिएको समय, अन्य खेलाडीको अभ्यास र क्षेत्रीयस्तरका खेलमा सहभागी हुने वातावरण समेत बनेकाले म्याग्दीको महिला भलिबलले साँच्चिकै एउटा लय समाउन सफल भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष एवम् प्रदेशस्तरीय प्रतियोगितामा मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँले बताए। ‘प्रयाप्त स्रोतसाधनको अभावमा पनि महिला भलिबलले राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ,‘भलिबलका लागि म्याग्दीलाई हब बनाउन समेत उपाधीले धेरै सहज भएको छ’ अध्यक्ष बानियाँले भने।  

राष्ट्रिय टोलीको नेतृत्व गरेपनि अरुणाले जिल्लाका भलिबल खेलाडीहरूका साथै प्रतियोगिताका लागि राम्रो अवसर समेत छोड्ने गरेकाले अन्य खेलाडी समेत उत्साहित हुने गरेको प्रशिक्षक बानियाँको भनाइ छ। महिला भलिबलको नेतृत्व गरेपछि अरुणाको मेहनत, टिमभित्र सहकार्य, खेलाडीलाई कप्तानभन्दा पनि खेलाडीकै व्यवहार, बन्द प्रशिक्षणमा खेलमै केन्द्रित हुने गरेकाले पनि टिमका सदस्यले हातमा हात राखेर, काँधमा काँध जोडेर अगाडि बढेका छन्।  

साधारण स्वभावकी शाहीमा कहिल्यै पनि कप्तानको घमण्डको छायाँ देखिएन्। ‘राष्ट्रिय टोलीको कप्तान भन्ने महसुस खेलमैदान भित्र नहुने भएकाले भलिबलको अनुभवले भरिएको समुन्द्रमा खेल्ने अवसरको पाएको खेलाडीको भनाइ छ। नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७औं संस्करणको उपाधीसहित दर्जनभन्दा बढी राष्ट्रियस्तरको उपाधी समेत जितेकी कप्तान शाहीले गृह जिल्ला सधै खेल्ने बताइन्। उनले आफूँलाई राष्ट्रिय टोलीबाट सहभागी हुने खेल बाहेक अन्य ठूला अवसरहरू भन्दा जिल्लाको टोलीबाट उपाधी जित्दा उत्साहित हुने बताइन्।  

कप्तान शाहीको नेतृत्वमा क्षेत्रीय खेलाडी पवित्रा विसी, रेविना घर्ती, सस्मिता पुन, मनिषा तिलिजा, सृजना पाईजा, सजिना वुढाथोकी, एलिसा रोका, काजल छन्त्याल, वर्षा फगामी, निशा पाईजा र तुल कुमारी तिलिजाले यसपटक प्रदेशस्तरीय छनौट खेलमा सहभागिता जनाएका थिए। खेलमा लगनशील र निरन्तर लागेकै कारण यो सफलताको उचाइमा पुगेपनि शाहीले प्रचारप्रसार रुचाउँदिनन्। भलिबल खेलमा शाहीको संघर्ष र चुनौतीलाई सामाना गर्न सक्ने क्षमताले नै अहिले लोभलाग्दो नतिजा आउन सफल भएको छ। शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।  

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० वर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जितेपछि महिला भलिबलको सफल कप्तानको रुपमा समेत उनलाई हेर्ने गरिन्छ।  

कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिलाको पहिलो र दोस्रो उपाधी जिताएकी थिइन्। हरेक अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी र काँस्य पदकसम्म पुगेर घर फर्किने गरेको नेपाली महिला टोलीले शाही कप्तान भएपछि सार्कस्तरीय प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाउन सफल भएको थियो। नेपाली टोलीले अरुणाकै नेतृत्वमा भलिबलमा व्यापक सुधार गरेकाले अन्तराष्ट्रियस्तरको प्रशिक्षणमा समेत सहभागी हुने गरेकी छन्।  

प्रकाशित: २१ भाद्र २०७९ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App