३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको सुखद सुरुआत गर्ने लक्ष्य

छैटाैं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबारबाट हुँदै छ। आयोजक नेपालले भुटानलाई आतिथ्यता गर्दै प्रतियोगिता सुरु गर्नेछ। भुटानविरुद्ध हुने खेलमा नेपाल सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ।  

नेपाली महिला टोली मंगलबार साँझ ५ः३० बजे दशरथ रंगशालामा पहिलो पटक उत्रँदै छ। यसअघि यो प्रतियोगिता विराटनगरमा आयोजना भएको थियो। नेपालले दशरथ रंगशालामा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन।

पाँच पटकको सहभागितामा चार पटक उपविजेतामा खुम्चिएको नेपाललाई यस पटक घरेलु मैदानको फाइदा हुनेछ। उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टोलीकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा बताइन्। यसअघिकी कप्तान रेनुका नगरकोटी तयारीको क्रममा चोटग्रस्ट हुँदै बाहिरिएपछि एन्जिलालाई कप्तानको अवसर दिइएको हो। यस्तै प्रशिक्षक कुमार थापाले अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका छन्।  

‘कप्तान बनाउनुभएकोमा धन्यवाद दिन चाहन्छु। विश्वास गरेर दिएको जिम्मेवारीलाई गुम्न दिने छैन। घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा अन्तिमसम्म लड्छाैं। कप्तान हुने इच्छा सबैमा हुन्छ। मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ,’ पहिलो पटक राष्ट्रिय टोलीको आर्मब्यान्ड पाएकी एन्जिलाले भनिन्, ‘अहिले बोल्नुभन्दा मैदानमा देखाउनेछौं।

उपाधि घरमै राख्ने लक्ष्यका साथ तयारी गरेका छौं।’ नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमीकमजोरी हटाएर पाधि जित्ने लक्ष्य लिएको बताए। टोलीमा सिनियर र जुनियर खेलाडीको मिश्रण रहेको भन्दै प्रशिक्षक थापाले आपूmले पाएको मौकालाई खेर जान नदिने प्रतिबद्धता जनाए।  

‘हामीसँग पहिलो पटक ३ जना राष्ट्रिय टोलीमा परेका छन्। तीन जनाले पुनरागमन गरेका छन्। मैले तयारीका लागि ७/८ हप्ता पाएँ। कुनै पनि प्रतियोगिताका लागि यो समय पर्याप्त हो। तयारीमा म खुसी छु। पहिलेको नतिजा हेरेर अनुमान गर्न सकिँदैन। च्याम्पियन को बन्छ भनेर हामी पनि अनुमान गर्न सक्दैनौं,’ प्रशिक्षक थापाले प्रि–म्याच कन्फरेन्समा भने, ‘हामी तयार भएका छौं। रंगशालामा पहिलो पटक आधिकारिक च्याम्पियनसिप खेल्दा सबै खेलाडीको मानसिकतालाई सामान्य गराउनेछौँ।’  

अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छैन। छैटौं संस्करणसम्म आइपुग्दा नेपाल र भुटानबीच पछिल्ला तीन संस्करणमा प्रतिस्पर्धा भएको छ। साफ इतिहासमा समूहचरणभन्दा माथि पुग्न नसकेको भुटानलाई नेपालले २०१४ को पहिलो भेटमा ८–० गोलले पराजित गर्दा २०१६ को संस्करणमा पनि समान ८–० ले नै पराजित गरेको थियो। २०१९ मा तेस्रो पटक भेट हुँदा भने नेपालले ३–० को नतिजा निकालेको थियो। यो तथ्याङ्कको आधारमा नेपाली टोली मंगलबार हुने खेलमा उच्च मनोबलका साथ खेल्नेछ।  

भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको बताइन्। टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताए पनि प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा राखिन्।  

‘नेपालको घरेलु मैदानमा खेल्न सहज हुने छैन। बलियो नेपालविरुद्ध खेल्न मानसिक रूपमा हामी तयार छौं,’ भुटान टोलीकी कप्तान पेमा छोदेन छिरिङले भनिन्, ‘हामीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव छैन। त्यसैले नेपालमा प्रतियोगिताअगावै आएर केही टोलीसँग मैत्रीपूर्ण खेल पनि खेलेका छौं। यहाँको अनुभवले राम्रो नतिजा आउनेमा हामी आशावादी छौं।’ प्रतियोगितामा पाकिस्तानले ८ वर्षपछि सहभागिता जनाउँदै छ।  

दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलाउँदै छ। समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल प्रतिस्पर्धा १९ सेप्टेम्बरमा हुनेछ।

प्रकाशित: २१ भाद्र २०७९ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App