१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जितपछि सेरेना दुबिधामा

तस्बिरमा : सेरेना विलियम्स

सेरेना विलियम्सले यसै महिनाको सुरुआतमा युएस ओपनपछि सक्रिय खेलजीवनबाट संन्यास लिने बताएकी थिइन्। तर सोमबार पहिलो चरणमा पाएको सफलतापछि भने सेरेनाले आफ्नो संन्यासको बारेमा अझै दुबिधामै रहेको प्रतिक्रिया दिएकी छिन्।

‘म अझै पनि मेरा संन्यासको बारेमा दुबिधामै छु। आगमी दिनमा के हुन्छ कसैलाई पनि थाहा छैन,’ सोमबार डांका कोभिनिचमाथि ६–३,६–३ को सोझो सेटमा जित निकालेपछि ४० वर्षीया सेरेनाले भनिन्।

२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेनाले सक्रिय टेनिस खेलबाट अलग हुने सोचमा पुगेको र युएस ओपन आफ्ना लागि अन्तिम प्रतियोगिता हुने बताएकी थिइन्। उनले आफ्नो संन्यासको काउन्टडाउन सुरु भएको बताएकी थिइन्।  

कोभिनिचविरुद्ध जित निकाल्नुअघि सेरेनाले यो वर्ष मात्र एक खेलको नतिजा आफ्नो पक्षमा पारेकी थिइन्। जसले सेरेनाको २७ वर्षे व्यावसायिक खेलजीवनबाट अलग हुने सम्भावनालाई बल पुर्‍याएको थियो। जसका कारण उनी वरीयतामा अटाउनसमेत असफल भएकी थिइन्।

लगाातरको खराब लयकै कारण सेरेनाले संन्यासबारे निर्णय गर्न लागेको आकलन गरिएको थियो। युएस ओपन उनका लागि अन्तिम प्रतियोगिता हुने अनुमान गरिएको थियो। तर सोमबार उनले कोर्टमा देखाएको प्रदर्शन र पोस्ट म्याचमा दिएको प्रतिक्रियाले भने सेरेनाको संन्यास योजना तत्कालका लागि टरेको अनुमान गरिएको छ।

‘मेरा लागि संन्यासको निर्णय लिनु सहज थिएन,’ सेरेनाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘पछिल्लो २७ वर्षयता निरन्तर टेनिस खेल मेरो जीवनको अभिन्न अंग बन्दै आइरहेको छ। यसबाट अलग हुन सहज छैन। मैले पहिले पनि संन्यासबारे धेरै सोचेको थिएँ, तर निर्णय लिन सकेको थिइनँ। म यो खेललाई माया गर्छु। अब मैले यो खेलबाट अलग हुने समय आइसकेको छ। म अब मेरो परिवारसँग समय बिताउन चाहन्छु।’

सोमबार पहिलो चरणमा सेरेनाले जितका लागि धेरै संघर्ष गर्नु परेन। फ्रेन्च ओपन र अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी कोभिनिचमाथि सेरेनाले सहज जित निकालिन्। जसले उनको मनोबल बढाएको छ। उनी मार्गेरेट कोर्टको नाममा रहेको २४ ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्न चाहन्छिन्।  

सेरेनाले दोस्रो चरणमा बुधबार विश्व नम्बर दुई एनिट कोन्टाभियटको सामना गर्नेछिन्।

प्रकाशित: १५ भाद्र २०७९ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App