coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डेब्यु खेलमा अर्जुनको उत्कृष्ट प्रदर्शन

फिल्डिङका लागि मैदान प्रवेश गर्दै नेपाली खेलाडी। तस्बिर सौजन्य: क्यान

अर्जुन साउदले डेब्यु खेलमा गरेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार केन्याविरुद्धको तेस्रो ट्वान्टी २० खेलमा ४ विकेटको जितसहित पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ।

केन्याको नौरोबीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीले प्रस्तुत गरेको एक सय ५७ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले तीन बलअगावै मात्र ६ विकेटको क्षतिमा पूरा गरेको थियो।

पहिलो विकेटका लागि अर्का ओपनर पवन सर्राफसँग ३५ रनको साझेदारी गरेका अर्जुनले दोस्रो विकेटका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग ४२ रनको साझेदारी गरेका थिए। पवनले १२ बलमा ३ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दा अर्जुनले ३१ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३५ रन बनाए। उनले यसै शृंखला मार्फत राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका थिए। ओपनर आसिफ शेखको स्थानमा उनले आइतबार टोलीमा अवसर पाएका थिए। जुन अवसर उनले खेर जान दिएनन्।

अर्जुन पवेलियन फर्कंदा ७७-२ को स्थितिमा रहेको नेपालले थप ६ रन जोड्दा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गुमायो। चौथो विकेटका लागि ज्ञानेन्द्रले रोहित पौडेलसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ डोर्‍याएका थिए। रोहितले १८ बलमा ३ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे।

रोहित पवेलियन फर्कंदा १३७-४ को स्थितिमा रहेको नेपाललाई जितका लागि १७ बलमा २० रन आवश्यक थियो। थप ११ रन जोड्ने क्रममा नेपालले ज्ञानेन्द्रलाई पनि गुमायो।

ज्ञानेन्द्रले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे। १८.२ ओभरमा १४८-५ को स्थितिमा रहेको नेपाल जितबाट मात्र ९ रन टाढा थियो। १९औं ओभरको अन्तिम तीन बलमा नेपाल ८ रन जोड्दै जितनजिक पुगेको थियो। अन्तिम ओभरमा नेपाललाई जितका लागि मात्र १ रन आवश्यक थियो।

तर अन्तिम ओभरको पहिलो बलमा रन जोड्न नसकेको नेपालले दोस्रो बलमा आदिल अन्सारीलाई गुमायो। जसका कारण नेपाल पुुनः दबाबमा परेको थियो। तेस्रो बलमा आरिफ शेखले चौका प्रहार गर्दै नेपालको जितलाई औपचारिकता प्रदान गरेका थिए।

केन्याका युगेनी ओचिइङ र विराज पटेलले समान २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो।

केन्याका राकिप पटेलले अविजित ७३ र इरफान करिमले अविजित ५५ रन जोडेका थिए। २९-२ को स्थितिमा ब्याटिङका लागि आएका राकिप र करिमले तेस्रो विकेटका लागि अविजित १ सय २७ रनको साझेदारी गरेका थिए। राकिपले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दा समान करिमले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

प्रकाशित: १३ भाद्र २०७९ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App